कर्णाली


कर्णाली : सरकार बनाउन केन्द्रकै भर, मुख्यमन्त्रीमा एमाले–माओवादी दुवैको दाबी

कर्णाली : सरकार बनाउन केन्द्रकै भर, मुख्यमन्त्रीमा एमाले–माओवादी दुवैको दाबी

दिनेश बुढा
पुस २०, २०७९ बुधबार १७:५, सुर्खेत

कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमाले वा नेकपा माओवादी केन्द्रबीच कसले गर्ने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन। प्रदेशमा सत्तारुढ गठबन्धनमा आवद्ध मुख्य दलमध्ये कसले सरकारको नेतृत्व गर्ने भन्नेबारे अन्योल देखिएको छ। 

कर्णाली प्रदेश सरकारको नेतृत्वमा एमाले र माओवादी दुवै दलले दाबी गर्दै आएका छन्। केन्द्रमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पाएसँगै कर्णालीमा नेकपा एमालेले नेतृत्व पाउनुपर्ने एमाले नेताहरुको माग छ। तर, कर्णालीमा दल तथा दलका नेताले जस्तो सुकै अडान राखेपनि उनीहरुले केन्द्रीय तहमा भागबण्डामा हुने सहमति अनुसार नै अघि बढ्नुपर्ने हुन्छ। 

कर्णालीमा एमाले-माओवादीबीच सामान्य छलफल भएता पनि सरकार गठनका लागि कसले नेतृत्व गर्नेबारे कुनै ठोस निर्णय गर्न सकिरहेका छैनन्। २०७४ मा नेकपा हुँदा माओवादीले कर्णाली प्रदेशको नेतृत्व गरेकोले यस पटक आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने एमालेको माग छ। 

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले एमालेसँग सामान्य छलफल भएता पनि सरकार गठनबारे कुनै छलफल नभएको बताए। 

‘कर्णालीमा दुई दल (एमाले-माओवादी)बीच पनि सामान्य भेटघाट र छलफल भइरहेको छ। तर, सरकार गठन गर्ने कुरामा केन्द्रकै भर पर्ने कुरा हो। हामीले मात्र चाहेर हुने भएन,’ उनले नेपालखबरसँग भने, ‘माओवादीको नेतृत्वमा कर्णालीमा पहिलो चरणमा सरकार बन्नुपर्छ भन्ने कुरामा हाम्रो दाबी कायम रहन्छ नै।’ 

शर्माले कर्णालीका नेताहरुले पार्टी अध्यक्ष प्रचण्डसँगको भेटमा पनि सो कुरा जानकारी गराएका छन्।

यस्तै, नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले पनि अहिलेसम्म प्रदेश सरकार गठनको विषयमा खासै छलफल नभएको बताए। 

उनले भने, ‘एमाले कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ थोरै सिटमा खुम्चिए पनि समानुपातिकका हिसाबले कर्णालीमा एमाले नै पहिलो पार्टी भएको पुष्टि भइसकेको छ। त्यो हिसाबले प्रदेश सरकारको नेतृत्वका लागि पहिलो चरणमा दाबी रहने कुरा स्वाभाविक नै हो।’

एमाले कर्णाली प्रदेशले कर्णालीमा पहिलो चरणमै सरकार बनाउने गरी संस्थागत रुपमा पार्टी केन्द्रलाई यसअघि नै जानकारी समेत दिइसकेको छ। 

हाल ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १०, राप्रपा १, समाजवादी १ र स्वतन्त्र १ सिटमा विजयी भएका छन्। यहाँ सरकार गठनका लागि २१ सांसदको आवश्यकता पर्दछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .