कर्णाली


आगो लागेको घरभित्र घरधनी जलेको भेटिए

आगो लागेको घरभित्र घरधनी जलेको भेटिए

दिनेश बुढा
पुस २४, २०७९ आइतबार १४:२९, सुर्खेत

दैलेखमा एक व्यक्ति घरसँगै जलेका छन्। प्रहरीका अनुसार दैलेख भैरवी गाउँपालिका–४ का नरेश विक आफ्नै घरभित्र जलेको अवस्थामा मृत भेटिएका हुन्। 

लागुऔषधको कुलतमा फसेका उनी आफैँले घरमा आगो लगाएको दाबी स्थानीयले गरेका छन्। प्रहरीका अनुसार स्थानीयले शनिबार राति साढे ७ बजे फोन गरी नरेशले आफ्नै दुईतले तीनकोठे कच्ची घरमा आगो लगाए भनी खबर गरेका थिए। 

त्यसपछि प्रहरी चौकी (भैरवी) बाट प्रहरी टोली घटनास्थल पुगेको थियो। इलाका प्रहरी कार्यालय दुल्लुका अनुसार प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएपछि  घरमा के कति क्षति भएछ भनेर खोज्दै जाँदा अन्दाजी ४५ वर्षीय घरधनी नरेश विक जलेको अवस्थमामा मृत भेटिएका हुन्। 

स्थानीयले प्रहरीलाई जानकारी गराएअनुसार जतिखेर पनि नशामा रहने नरेशसँग झगडा परेपछि उनका श्रीमती गोमा विक, तीन छोरी र एक छोरा शनिबारै घरभन्दा बाहिर गएका थिए। त्यसपछि उनले घरमा आगो लगाएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। 

स्थानीयका अनुसार नरेशले सुरुमा घरछेउको परालको थुप्रोमा आगो लगाएका थिए, त्यो आगो निभाउन स्थानीय लाग्दा उनले आफ्नो घरमा पनि आगो लगाएको र उनी घरभित्रै बस्दा जलेर मृत्यु भएको स्थानीयको भनाइ छ। उनी आगो लगाएर कता गए भनेर थाहा नपाउँदा उनलाई उद्धार गर्न नसकिएको दाबी स्थानीयले गरेको प्रहरीले जनाएको छ। 

नरेश घरको छानोले पुरी जलेर मृत अवस्थामा फेला परेपछि त्यहाँ रहेको प्रहरीले इलाका प्रहरी कार्यालय (दुल्लु) लाई खबर गरेको थियो।घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय (दुल्लु) बाट प्रहरी निरीक्षकको कमान्डमा ५ जनाको टोली खटिएको छ।

यसअघि पुस १९ गते राति नरेशको जेठी छोरी सुनिता विकले झुन्डिएर आत्महत्या गरेकी थिइन्। त्यसपछि नरेश भर्खरै भारतबाट घर फर्केका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .