कर्णाली


पहिलो पटकको संसद यात्रामै कर्णालीको मुख्यमन्त्री बने शर्मा

पहिलो पटकको संसद यात्रामै कर्णालीको मुख्यमन्त्री बने शर्मा

दिनेश बुढा
पुस २७, २०७९ बुधबार १९:१३, सुर्खेत

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्। शर्मालाई बुधबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१४ साक्चा, (साविक नुवाकोट गाविस)मा वि.स.२०२८ साल भदौ १८ गते जन्मिएका शर्मा सानै उमेरदेखि राजनीतिमा लागेका थिए। शर्मा १३ वर्षको उमेरमा पञ्चायतकालमै राजनीतिमा जोडिए।

२०४१ सालमा स्कुल पढ्दा–पढ्दै उनी अनेरास्ववियुको राजनीतिमा संलग्न भएका थिए। शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेर उनले पहिलो पटक राजनीतिक यात्रा शुरु गरेका हुन्। 

०४६ सालमा मोटो मशालको पार्टी सदस्यता प्राप्त गरेका शर्मा ०४७ सालदेखि पूर्णकालिन राजनीतिमा होमिए। 

०४८ सालमा सर्वहारावादी श्रमिक संगठन, नेकपा (मशाल) र मसालको एउटा समूह मिलेर नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) गठन भयो। खुला मोर्चाको रूपमा संयुक्त जनमोर्चाको नामबाट वैधानिक राजनीतिक अँगाल्यो। शर्मा जनमाेर्चाको राजनीतिमा सक्रिय हुन थाल्यो।

त्यो बेलामा जनपरिचालन मार्फत विकास निर्माण, जनयुद्धको तयारीलगायत जनसंघर्षका थुप्रै कामको उनले अगुवाइ गरे भने जनयुद्धको तयारीका क्रममा ५०-५१ सालमा रूकुम रोल्पामा सञ्चालित ग्रामीण वर्गसंघर्ष हुँदै जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा संलग्न भए।

२०५० सालमा महतको फुलबारी जंगलमा ४५ दिने सशस्त्र तालिम गरेर जनयुद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्वपूर्ण भूमिका रह्यो। महतको फुलबारी जंगल कुनै समय निकै चर्चित समेत बनेको थियो। 

जनयुद्ध पूर्व नै पूर्णकालिन राजनीतिमा होमिएका शर्माले ०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कव्जा गर्न नेतृत्वदायी भूमिका खेलेका थिए।

०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागि शर्माका लागि उक्त लडाई विशेष स्मरणीय रहेको छ। एउटा एसल्ट टिम (आक्रमणमा सहभागी मुख्य लडाकु टिम)को कमाण्ड गरी उक्त लडाइँमा सहभागी शर्माका लागि मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले)लाई गुमाउनुपरेका कारण पनि विशेष स्मरणीय रहेको शर्मा बताउँछन्।

जनयुद्धको विस्तारका लागि २०५४ सालदेखि साविक कर्णालीमा सरूवा भएर विभिन्न कमाण्डको नेतृत्व गरे। सो क्रममा शर्माले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख लगायका जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

जहाँ अफ्ठ्यारो परिस्थिति श्रृजना हुन्छ त्यहीको क्षेत्रको लागि खटाइने गरिएका शर्मालाई ०६१ सालमा दैलेखमा खटाइयो। जतिबेला दैलेखमा माओवादी विरूद्ध प्रतिकार अभियान चलाइएको थियो।

शान्ति प्रक्रियासम्म दैलेखको नेतृत्व गरेका शर्मा शान्ति प्रक्रियापछि थारुवान राज्य समितिको (दाङ–कञ्चनपुर)को प्रमुख भएर काम गरे। 

उनले ०६७ सालपछि नेवा राज्यमा रहेर काम गरे भने माओवादीको केन्द्रीय प्रचार विभागमा समेत रहेर काम गरिसकेको अनुभव उनीसँग छ।

गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्ष समेत भइसकेका उनी हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन्।

आफूले राजनीतिमा लाग्न प्रेरित गरेका र समकालीन राजनीतिक पृष्ठभूमि भएका थुप्रै सहकर्मीहरूले राज्य सञ्चालनका थुप्रै अवसर प्राप्त गर्दा पनि अहिलेसम्म अवसर प्राप्त नगरेका शर्मा पहिलो पटक संसदीय राजनीतिको यात्रासँगै मुख्यमन्त्री बनेका हुन्। 

राज्यसत्ता परिवर्तनका लागि जनयुद्धका क्रममा सिंगै कर्णालीलाई पैदलै चहारेका शर्माले कर्णालीका दुरदराजका जनताका मुहारमा खुसी र सम्पन्नता ल्याउने अठोट समेत गरेका छन्। उनले जनवादी र जनक्रान्ती लगायतका गीत समेत लेखेका छन्।

शर्मा गत मंसिर ४ गते भएको आम निर्वाचनमा रुकुम पश्चिम प्रदेश सभा (२)बाट प्रत्यक्ष निर्वाचन भएका हुन्। उनको शैक्षिक योग्यता भनेको कक्षा १० सम्म रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .