कर्णाली


सरकारको खोजी गर्दै एमालेले गर्‍यो कर्णाली प्रदेश सभा अवरुद्ध

सरकारको खोजी गर्दै एमालेले गर्‍यो कर्णाली प्रदेश सभा अवरुद्ध

नेपालखबर
साउन ३०, २०८० मंगलबार १६:३, सुर्खेत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली सभा बैठक अवरुद्ध गरेको छ। मंगलबार बसेको दोस्रो अधिवेशनको ३१औं बैठक एमालेले अवरुद्ध गरेको हो। 

नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णालीले भोग्नुपरेको पीडा र समसामयिक जनजीविकाको सन्दर्भमा प्रदेश सरकारले ध्यान नदिएको भन्दै एमालेले संसद अवरुध गरेको हो।

बैठकको सुरुमै एमाले प्रमुख सचेतक टेकराज पछाईले नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णालीका जनताहरूले दुःख पाइरहेको बताए। 

संघीय सरकारलाई दबाब दिई उक्त निर्णय फिर्ताको लागि प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गर्नुपर्ने उनले बताए। 

क्यानले गरेको उक्त निर्णयले मान्छेको मृत्यु भएको छ। हुम्लाको सिमिकोट विमानस्थलमा जहाज पर्खिंदा पर्खंदै हुम्लाका ६ महिने बालक इमरान सुनार, ७ महिने रोहित शाही, साढे १ बर्षे बालक आरेन परियार र ५ महिनाका सन्देश लुहारको मृत्यु भएको छ।

जनताको दिनानु दिन ज्यान गइरहेपनि सरकारको ध्यान नदिएको र प्राधिकरणको निर्णयका कारण जनताले भोग्नुपरेको पीडाबारे सरकारले ध्यान नदिएको लगायतका विषय उठाउँदै उनले सदन अगाडि बढ्न नसक्ने उनले बताए।

सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि एमालेले अवरोध जारी राख्यो। लगत्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले आक्रोशित हुँदै सरकारले जवाफ दिनेगरी उपस्थित हुनुपर्ने बताए। 

नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि जहाज सञ्चालन नगर्ने निर्णय गरेको  छ। 

प्राधिकरणले विमानस्थल तालिका अर्थात ‘अपरेसन आवर’ का कारणले नागरिकले दुख पाएको उनले बताए।

यी यावत् विषयमा सरकारले ध्यान दिनुपर्ने र जनतालाई बुझिने गरी संसदमा जवाफ दिनुपर्ने बताए।

एमाले सांसद संसद अवरोध गर्दै रोस्टममा उभिएपछि सभामुख नन्दा गुरुङले साउन ३२ गते दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .