उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा गएराति गोली चलेको छ।
शनिबार राति ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका-१, गौरीटोलनजिकै गोली प्रहार भएको हो।
गोली नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका सुर्खेत जिल्ला सदस्य विनोद गिरीलाई ताकेर हानिएको तरुण दलले दाबी गरेको छ।
प्रहरीले पनि गिरी सवार गाडीलाई लक्ष्य गरी गोली हानिएको अनुमान गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक रुपेश खड्काले घटनामा संलग्न ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए।
तर प्रहरीले उनीहरुको परिचय गोप्य राखेको छ।
गोली लागेर गिरी चढ्ने गाडीमा क्षति पुगेको जनाइएको छ।
प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीका खोका र मोटरसाइकल बरामद गरेको छ।
प्रहरी स्रोतका अनुसार उक्त मोटरसाइकलमा सवार एक भारतीय नागरिक र अर्का कैलालीका घर भएका व्यक्तिलाई पक्राउ गरिएको छ।
साथै अन्य दुई जनालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
प्रहरी उपरीक्षक खड्काले घटनाको विस्तृत विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्।
Shares
प्रतिक्रिया