ad ad

कर्णाली


धुमधामसँग उद्घाटन गरिएको करोड बढीको ‘हाइटेक नर्सरी’ अलपत्र

प्रयोग नहुँदा जग्गाको भाडा तिर्नसमेत मुस्किल
धुमधामसँग उद्घाटन गरिएको करोड बढीको ‘हाइटेक नर्सरी’ अलपत्र

दिनेश बुढा
असार १९, २०८१ बुधबार १६:१४, सुर्खेत

सुर्खेतको लेकबेशी नगरपालिका वडा नम्बर ३ मा रहेको हाइटेक नर्सरी अलपत्र परेको छ। २०७८ साल वैशाखमा कर्णाली प्रदेशकी तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले धुमधामका साथ नर्सरीको उद्‍घाटन गरेकी थिइन्।

मन्त्री केसीले उद्‍घाटनका क्रममा नेपालकै पहिलो उच्च प्रविधिको हाइटेक नर्सरी भएको बताएकी थिइन्। उनले अर्गानिक कर्णाली र समृद्ध कर्णाली बनाउनुका साथ समृद्ध कृषि प्रणालीको विकासका लागि यो योजना सार्थक हुने दाबी पनि गरेकी थिइन्।

हाल उक्त हाइटेक नर्सरी प्रयोगविहीन छ भने नर्सरीभित्र झार उम्रिएको छ।

विभिन्न आधुनिक प्रजातिका बिउबिजन उत्पादन गर्ने उदेश्यले पारिजात कृषि सहकारी नामक संस्थाकोे अगुवाइमा सो नर्सरीको निर्माण गरिएकोे थियो। लेकबेँसी नगरपालिका, कर्णाली प्रदेश सरकार र पारिजात कृषि सहकारीको साझेदारीमा नर्सरी निर्माण भएको हो।

करिब १ करोड २० लाख रकम लागत लागेको उक्त हाइटेक नर्सरी कृषि विकास निर्देशनालय सुर्खेतबाट सञ्चालनमा ल्याइएको हो।

पारिजात कृषि सहकारी संस्थाका अध्यक्ष खड्कबहादुर घर्तीले आर्थिक अभावका कारण नर्सरी बन्द अवस्थामा पुगेको बताएका छन्।

उनले भने, ‘सबै प्रक्रिया मिलाएर यो नर्सरीको निर्माण गरिएको हो। ३० र ७० प्रतिशतमा सरकारसँग साझेदारीमा आयोजना सम्पन्न भएको हो। केही समय कोभिड–१९ का कारण नर्सरीलाई घाटामा धकेल्यो।’
 
उनका अनुसार ३० लाख ३२ हजार रुपैयाँ सरकारी अनुदान नर्सरीले पाएको छ।

अध्यक्ष खड्काले नर्सरीलाई सञ्चालनमा ल्याउनका लागि मर्मत गर्नुपर्ने र आर्थिक समस्या भएकोले जग्गा धनीलाई दिने भाडासमेत नभएको दुखेसो पोखे।

उनले भने, ‘यस नर्सरीबाट उत्पादन छैन। जग्गा धनीलाई भाडा बुझाउन नै मुस्किल बनेको छ। त्यसैले आफ्नै लागतले सञ्चालनमा ल्याउन सकिने सम्भावना निकै कम छ। सञ्चालनमा ल्याउनका लागि सरकारले यस सम्बन्धी तालिम दिनुपर्छ। अहिले हामी भाडा तिर्न नसक्ने अवस्थामा छौँ।’

२ रोपनी जग्गामा निर्माण गरिएको नर्सरीको जग्गाको भाडा वार्षिक एक लाख २० हजार रहेको छ।

बुधबार सोही हाइटेक नर्सरीको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री शाहले यस्तो काम गर्दा पहिला प्राविधिकहरूसँग सल्लाह गरेर मात्रै सुरुवात गर्नुपर्ने बताए।

उनले भने, ‘हामीले कुनै पनि काम गर्नुभन्दा पहिला त्यस विषयमा प्राविधिकहरूसँग सल्लाह लिएर मात्रै काम गर्नुपर्छ। अनी त्यो अयोजनाले मुर्तरुप लिन्छ र प्रतिफल दिन्छ।’

मन्त्री शाहले ठूला काम गर्नुपूर्व सञ्चालकहरूले सही डिसिजनसँगै टेक्नोलोजीका बारेमा पनि परार्मश लिनुपर्ने सुझाव दिए। उनले अलपत्र अवस्थामा रहेको उक्त हाइटेक नर्सरी यदी सञ्चालकले सञ्चालन गर्न इच्छा भए लगानी आफै जुटाउन सक्ने दाबी गरे।

प्राविधिक विषयका लागि प्राविधिकहरूसँग समन्वय गर्न पनि उनले सुझाव दिए।

नर्सरीको निरीक्षण गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव टिकाराम थापाले नर्सरी सञ्चालन गर्ने मोडालिटी पहिला नै तयार पारेर जानुपर्ने बताए। उनले भने, ‘हामीले हाइटेक नर्सरी बनाउनुपूर्व के सम्बन्धी काम गर्ने हो। त्यसको पूर्वतयारी राख्नुपर्छ भने उच्च प्राविधिको नर्सरी सञ्चालनका लागि तालिम प्राप्त मान्छेको आवश्यकता पर्छ।’

सचिवले निरीक्षण गरिएको नर्सरीबाट तरकारीका बेर्ना मात्रै उत्पादन गर्ने हुँदा यसले कुनै फाइदा नहुने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .