ad ad

कर्णाली


५ दिनपछि खुल्यो कर्णाली राजमार्ग, बाटोमै रोकिएका स्याउका ४५ वटा ट्रक गन्तव्यतर्फ लागे

५ दिनपछि खुल्यो कर्णाली राजमार्ग, बाटोमै रोकिएका स्याउका ४५ वटा ट्रक गन्तव्यतर्फ लागे

नेपालखबर
भदौ १६, २०८१ आइतबार २०:४७, सुर्खेत

पहिरोले ५ दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सुञ्चालनमा आएको छ। 

गत बुधबार (भदौ १२) राती परेको अविरल वर्षापछि अवरुद्ध सडक आइतबार बेलुकादेखि सञ्चालनमा आएको हो। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट बेच्नका लागि छुटेका स्याउका करिब ४५ ट्रक ५ दिनदेखि अलपत्र परेका थिए। 

सडक सञ्चालनमा आएपछि अलपत्र परेका सबै मालवाहक सवारीहरु गन्तव्यतर्फ हिँडेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए।

प्रहरी निरीक्षक थापाले भने, ‘गत बुधबारदेखि अवरोध सडक आइतबार बेलुकादेखि सञ्चालनमा आएको छ। खाडाँचक्र नगरपालिका–३ को ताडीमा जुम्लाबाट आएका स्याउका ४५ मिनिट्रक रोकिएका थिए। ती मध्ये केही अहिले आफ्नो गन्तव्यतर्फ लागेका छन् केही भोली जान्छन् होला।’

जुम्लाबाट बजारमा पठाउनका लागि आएका स्याउका ४५ ट्रक अर्थात्, १०७ टन (करिब सात करोड मूल्य बराबर) को स्याउ कालिकोटको खाडाँचक्र नगरपालिका–३ मा कर्णाली राजमार्ग अन्तरगत ताडी बसपार्कमा परेका थिए।

यस्तै, जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख एवं डिएसपी अर्जन केसी लगायतले अवरुद्ध राजमार्गको प्रत्यक्ष अवलोकन गरेका थिए। 

यस्तै, सडक डिभिजन जुम्लाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ। 

कार्यालय प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए। 

उनले भने, ‘अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सुचारु भएको सम्पूर्ण यात्रु महानुभावहरूमा जानकारी गराउन चाहान्छु।यो बर्सातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रीको समयमा यात्रा नगर्नुहुन आग्रह गर्दछौँ।’

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ हुल्म बजारदेखि कालिकोट जिल्लाकै शुभकालिका गाउँपालिका–१ गगनेखोला, शुभकालिका–१ कै दही खोलामा भएको अवरोध सबै हटेको छ। 

चारदिनसम्म लागेर सडक डिभिजन कार्यालय जुम्लाले हेभी इक्वीपमेन्टहरूको प्रयोग गरेर बाटो खुलाएको हो। 

यता जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहलले कर्णाली राजमार्ग अन्तरगतको दैलेख खण्डमा भएको सडक अवरुद्ध सबै क्लियर पारिसकिएको र सवारी अवातजावत भइसकेको जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .