कर्णाली


राजबहादुर हत्या प्रकरण :  पञ्चासहित ५ जनालाई उन्मुक्ति दिने फाइल महान्यायाधिवक्ताकहाँ

राजबहादुर हत्या प्रकरण :  पञ्चासहित ५ जनालाई उन्मुक्ति दिने फाइल महान्यायाधिवक्ताकहाँ

फाइल तस्बिर


दिनेश बुढा
बैशाख २४, २०८१ सोमबार १८:३७, सुर्खेत

सुर्खेतमा १५ वर्षअघि भएको राजबहादुर मल्लको हत्यासम्बन्धी घटनामा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित पाँच जनाविरुद्ध मुद्दा नचल्ने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले उनीहरूविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो।

२०६५ सालमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जननमुना माध्यमिक विद्यालयमा अध्ययनरत कालीकोटको साविक पाखा गाविसका १७ वर्षीय राजबहादुर मल्लको विवादका क्रममा मृत्यु भएको थियो।

सोही घटनामा जोडिएका ६ जनालाई गत माघमा प्रकाउ पुर्जीसमेत जारी भएको थियो। 

जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतका सूचना अधिकारी सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि मुद्दा नचलाउने निर्णय भएको जानकारी दिए।

भण्डारीका अनुसार, अभियोग लागेका अखिल (क्रान्तिकारी)की अध्यक्षसमेत रहेकी कालीकोट महावै गाउँपालिकाकी पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अली अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो।

राजबहादुरका आफन्तले उनको हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए। उक्त किटानी जाहेरीमा ६ जनाको नाम उल्लेख थियो।

यस्तै, राजबहादुरको हत्या प्रक्ररणमा जोडिएका कालीकोटको महावै गाउँपालिकाकै टाइगर भनिने पदमबहादुर रावत पनि अभियुक्त थिए। 

उनलाई प्रहरीले केही समयअघि पक्राउ गरेको थियो। पक्राउ परेका रावतमाथि अनुसन्धान गर्ने क्रममा नरेश सिंह भन्ने मेहरमान सिंह पनि अनुसन्धानमा तानिएपछि पक्राउ गरेको सुर्खेत प्रहरीले जनाएको छ।

राजबहादुर हत्या प्रक्ररणमा मुछिएका यी सात जनामध्ये टाइगर भन्ने पदमबहादुर र नरेश भन्ने मेहरमानविरुद्ध भने मुद्दा अघि बढेको सूचना अधिकारी भण्डारीले जानकारी दिए।

यस्तै, मुद्दा चलाउने निर्णय भएकामध्ये सुर्खेत जिल्ला अदालतको आदेशअनुसार पदमबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जटिल प्रकृतिको अपांगताका भएको भन्दै नरेश भन्ने मेहरमानलाई एक लाख ७५ हजार रुपैयाँ धरौटीमा छोडिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्‍वल रावलले जानकारी दिए।

सरकारी वकिल कार्यालयले यी दुई जनालाई प्रतिवादी बनाएर दर्ता गरेको मुद्दामा यही वैशाख २१ गते सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको इजलासले यो आदेश गरेको थियो।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतले वैशाख १७ गते जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको घटनाका विषयमा अनुसन्धान प्रतिवेदन वैशाख १८ गते मुद्दा नचाउने निर्णय गरी सोही दिन निर्णय सदरका लागि उच्च सरकारी वकिल कार्यालयलाई पठाइएको थियो। 

यस्तै, मुद्दा नचल्ने निर्णयको पत्र जिल्ला सरकारी वकिल कार्यालय, उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ। अब महान्यायाधिवक्ताबाट सरकारी वकिल कार्यालयको उक्त निर्णय सदर भएमा उनीहरू पाँचै जना अभियोगबाट उम्किनेछन्।  

के थियो घटना?
२०६५ सालमा कालिकोटका १७ वर्षीय मल्लको सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा हत्या भएको थियो। 

प्रहरीका अनुसार, २६ फागुन २०६५ बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा राजबहादुर मल्लमाथि खुकुरी प्रहार भएको थियो। 

माओवादी कार्यकर्ताहरू ‘टाइगर’ भनिने पदमबहादुर रावतसमेतको आक्रमणबाट गम्भीर घाइते भएका राजबहादुरको उपचारकै क्रममा ज्यान गएको थियो। 

त्यही घटनालाई लिएर अहिले सुर्खेत जिल्ला अदालतले गत शुक्रबार सिंहलगायत ६ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ। 

यो प्रकरणमा मल्लका परिवारले २०६५ सालमै एक महिनाको बीचमा दुईवटा जाहेरी दर्ता गराएका थिए।

पहिलो जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतसहितको नाम उल्लेख थियो। तर एक महिनाबीचमा त्यहीबेला परेको जाहेरीमा पञ्चा सिंसहित अरुको नाम किटान गरिएको थियो।

तर, सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिँदा पनि प्रहरीले पक्राउ गरेको थिएन। १५ वर्ष पुरानो घटनालाई गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनका कारण ब्युँतिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .