ad ad

कोशी


१९ वर्षकी चालक छेकी, जसको जिप खोजीखोजी चढ्छन् यात्रु

१९ वर्षकी चालक छेकी, जसको जिप खोजीखोजी चढ्छन् यात्रु

जिप चलाउँदै छेकी शेर्पा


टीका खतिवडा
भदौ ७, २०८१ शुक्रबार २०:३१, मङ्गलबारे (इलाम)

छेकी शेर्पा १९ वर्षकी भइन्। उनी इलामको कच्ची सडकमा जिप चलाउँछिन्। साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरोमा यात्रु बोक्ने काम गरिरहेकी छन्। 

त्यसो त अन्य महिलाले पनि गाडी नचलाएका हैनन्। तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातका साधन चलाउने महिलाको सङ्ख्या नगन्य छ। यात्रुसहितको सवारीसाधन चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडकै एकमात्र किशोरी हुन्। 

पहाडको कच्ची सडक अनि खोलानाला र भिरालोमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन्। घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेकी हुन्।

बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन्। दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन्। 

उनका बुवा पहिलेदेखि गाडी चलाउँथे। घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उनी बताउँछिन्। सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उनले बिस्तारै राम्रोसँग चलाउन थालिन्। छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताए। 

‘मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ। परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु’, उनले भनिन्। छेकीले गाडी चलाउँदा केही यात्रुले सुरुमा विश्वास गर्दैनथे। उनले चलाएको गाडीमा यात्रु चढ्नै मान्दैनथे। तर, हिजोआज यात्रुले छेकीप्रति यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी खोजी चढ्छन्। 

उनले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउँछिन्। बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ। हिउँद याममा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ। सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरू बताउँछन्। 

कक्षा १२ सम्म अध्ययन गरेकी उनले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ। उनले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छन्।

‘दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ’, उनले भनिन्। रोजगारीको खोजीमा धेरै नेपाली महिला बिदेसिने गरेका छन्। तर महिलाले गाउँमै सवारी चालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएकी छन् छेकीले। 

जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले उनको गाडी रोज्ने गरिएको यात्रु बताउँछन्।

‘केही पुरुष चालकले मादक पदार्थ खाएर पनि गाडी चलाएको पाएका छौँ’, स्थानीय यात्रु दावा शेर्पाले भने, ‘तर उहाँले त मदिरा नखाने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .