जीवनशैली


केटाकेटीलाई १३ वर्ष नपुगी स्मार्टफोन र १८ नपुगी सामाजिक सञ्जाल चलाउन दिनुहुँदैन : विज्ञहरूको प्रतिवेदन

केटाकेटीलाई १३ वर्ष नपुगी स्मार्टफोन र १८ नपुगी सामाजिक सञ्जाल चलाउन दिनुहुँदैन : विज्ञहरूको प्रतिवेदन

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १७:१,

१३ वर्ष उमेर नपुग्दासम्म केटाकेटीलाई स्मार्टफोन चलाउन नदिन विज्ञहरूको एक नयाँ प्रतिवेदनले सुझाव दिएको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले बनाएको विज्ञहरूको समूहले १८ वर्ष नपुगुञ्जेल टिकटक, इन्स्टाग्राम र स्न्यापच्याट जस्ता सामाजिक सञ्जाल चलाउन दिन नहुने पनि बताएको छ।

म्याक्रोँले बालबालिकाको स्क्रिन प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्न आवश्यक सुझाव दिन वैज्ञानिक र विज्ञहरूलाई आग्रह गरेका थिए। फ्रान्सले बालबालिकाको स्क्रिन टाइम कम गर्ने कोसिस गरिरहेको छ। यो प्रतिवेदन प्रकाशनपछि  सरकारले कस्तो कदम चाल्छ, स्पष्ट छैन। 

म्याक्रोँले जनवरीमा भनेका थिए, ‘प्रतिबन्ध लाग्न सक्छ, कडिकडाउ हुनसक्छ।’

सो प्रतिवेदनले नाफामुखी प्रविधि उद्योगहरूको कडा आलोचना गरेको छ।

‘बालबालिकाको ध्यान नियन्त्रण गर्ने, उनीहरूलाई स्क्रिनको कैदी बनाउन सबै प्रकारका संज्ञानात्मक पूर्वाग्रहहरूको उपयोग गर्ने, उनीहरूलाई नियन्त्रण गर्ने र त्यसलाई नगदमा बदल्ने प्रविधि उद्योगको नाफामुखी रणनीतिबाट बालबालिकालाई बचाउन आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ।

यो नयाँ प्रविधि बजारमा बालबालिका ‘वस्तु’ बन्दै गएको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘प्रविधि उद्योगलाई थाहा होस्, उनीहरूले के गरिरहेका छन्, हामीले स्पष्ट देखिरहेका छौँ। र, उनीहरूलाई यसबाट उम्किन हामी दिने छैनौँ।’

यो तीन महिना लामो अध्ययनको नेतृत्व न्युरोलोजिस्ट सर्भेन मुतोन र मनोचिकित्सक अमिन बेन्यामिनाले गरेका थिए। उनीहरूले तीन वर्षमुनिका बालबालिकालाई टेलिभिजनसहित कुनै पनि स्क्रिन देखाउनै नहुने बताएका छन्। त्यस्तै, ११ वर्षमुनिका बालबालिकालाई फोन पनि दिन नहुने प्रतिवेदनमा उल्लेख छ।

११ देखि १३ वर्षबीचकालाई इन्टरनेट नचल्ने फोन मात्रै दिइनुपर्ने र इन्टरनेट चल्ने स्मार्टफोन १३ वर्ष पुगेपछि मात्रै दिइनुपर्ने प्रतिवेदनको सुझाव छ।

प्रतिवेदनका अनुसार १५ वर्ष पुगेकालाई पनि ‘एथिकल’ मानिने सामाजिक सञ्जाल मात्र चलाउन दिइनुपर्छ। व्यापक बजारीकरण भएको, नाफाका लागि सञ्चालित टिकटक, इन्स्टाग्राम वा स्न्यापच्याट भने १८ वर्ष पुगेपछि मात्र चलाउन दिइनुपर्छ। त्यस्तै, किशोरकिशोरीलाई निद्रा सम्बन्धी राम्रो जानकारी दिइनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रसूतिगृहका मातृशिशु वार्डमा पनि सम्भव भएसम्म फोन कम गरिनुपर्ने प्रतिवेदनको सुझाव छ। ताकि अभिभावकलाई नवशिशुसँग सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगोस्। बालबालिकाको हेरचाह गर्नेहरूलाई पनि फोनको प्रयोग सीमित गरिनुपर्ने बताइएको छ।

६ वर्षसम्मका बालबालिकाको हकमा सबै प्रकारको स्क्रिन सीमित हुनुपर्ने र कहिलेकाहीँ मात्र अभिभावकसँगै राखेर शिक्षामूलक सामग्री देखाइनुपर्ने प्रतिवेदनको सुझाव छ। त्यस्तै, ६ वर्षमुनिका नर्सरी स्कुलहरूमा स्क्रिन पूर्णरुपमा प्रतिबन्ध गरिनुपर्छ। प्राथमिक स्कुलहरूमा अपांगताका भएकाको हकमा बाहेक बालबालिकालाई ट्याबलेट वा अरु डिभाइस दिइनुहुँदैन।

कथा सुनाउने प्रयोजनबाहेक अडियो खेलौना समेत दिइनुहुँदैन।

‘६ वर्षभन्दा अघिका कुनै पनि बालबालिकालाई वृद्धिविकासका लागि स्क्रिन चाहिँदैन,’ मुतोन भन्छिन्, ‘वास्तवमा स्क्रिनले यो उमेरमा उनीहरूलाई विकास हुनबाट रोक्न सक्छ।’

आफैँ शक्तिशाली प्रविधि उद्योगको सिकार भएका अभिभावकलाई झपार्ने चाहना नभएको वैज्ञानिकहरूले बताएका छन्। बरु, अभिभावकलाई पनि सहयोग गरिनुपर्ने उनीहरूको भनाइ छ। बारम्बार फोन हेरिरहँदा बालबालिकासँग खेल्ने, खुवाउने र बोल्ने उनीहरूको क्षमतामा असर परेको उनीहरूको भनाइ छ।

यसले कलिला बालबालिकाको भावनात्मक विकासमा क्षति पुगिरहेको प्रतिवेदनमा उल्लेख छ। यसका लागि अभिभावकलाई दोष दिएर होइन, सिंगो समाजले नै समाधान खोज्नुपर्ने वैज्ञानिकहरूको भनाइ छ। त्यसका लागि निश्चित समयपछि कामबाट पूर्णरुपमा छुट्टी, सार्वजनिक स्थलहरूमा स्क्रिन संख्या सीमित, स्क्रिनबिनाका रेस्टुराँ र क्याफेको व्यवस्था गरिनुपर्छ।

बालबालिकाको रक्षाका लागि ‘प्यारेन्टल कन्ट्रोल’ लाई पर्याप्त मान्न नहुने वैज्ञानिकहरू बताउँछन्। बरु यो आफू उम्किन प्रविधि उद्योगले अघि सारेका प्रभावहीन उपाय मात्र भएको उनीहरूको भनाइ छ।

‘प्रविधि गतिलो औजार हो र रहनेछ। तर, यसले मान्छेको सेवा गर्नुपर्छ मानिसले वस्तु बनेर यसको सेवा गर्ने होइन,’ बेन्यामिना भन्छन्, ‘स्क्रिनले बालबालिकाको आँखा, मेटाबोलिजम, बौद्धिकता, ध्यान र संज्ञानात्मक प्रक्रियालाई नकारात्मक असर गर्छ।’

प्रडक्ट नभई कन्टेन्टका कारण स्क्रिन एडिक्सन हुने उनको भनाइ छ। त्यसैले त्यस्ता सामग्रीमा प्रश्न गर्नुपर्ने उनी बताउँछन्।

‘तपाईंले एउटा वा दुइटा भिडिओ हेर्छु भनेर हेर्न थाल्नुभयो तर पूरै साँझ स्क्रिनमै बिताउनुभयो भने तपाईंले यसमा प्रश्न गर्न आवश्यक छ,’ उनले भने। द गार्डियनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .