ad ad

जीवनशैली


बालबालिकालाई किन लाग्छ जन्मजात मुटुरोग, बेलैमा कसरी थाहा पाउने?

बालबालिकालाई किन लाग्छ जन्मजात मुटुरोग, बेलैमा कसरी थाहा पाउने?

डा. उर्मिला शाक्य
साउन ५, २०८१ शनिबार ७:३५, काठमाडौँ

नेपालमा धेरैलाई बालबालिकामा पनि मुटुरोग हुन्छ भन्ने ज्ञान छैन। यससम्बन्धी विशेषज्ञ र प्रविधि नहुँदा रोग ढिलो पहिचान हुने गरेको छ। आमाको गर्भमा हुँदै बालबालिकामा मुटु रोग लागिसकेको हुन्छ। विश्वव्यापी तथ्यांकलाई हेर्ने हो भने जीवित जन्मिने एक हजार बच्चामध्ये ८ देखि १० जनामा मुटुरोग देखिन्छ।

मुटुरोग लागेका अधिकांश बच्चामा जन्मजात यो समस्या हुन्छ। आमाको गर्भमा हुर्किरहेको शिशुको मुटुको रक्तनली, मुटुको तल र माथिको पर्दा, मुटुका भल्भको अस्वाभाविक विकासक्रमबाट जन्मजात मुटुरोग हुन्छ। 

जन्मजात मुटुरोग हुँदा मुटुको कोठाबीचका पर्दाहरूमा प्वाल पर्ने, रक्तनली र भल्भ खुम्चिने, रक्तनली उल्टो दिशाबाट विकसित हुने, भल्भ आंशिक वा पूर्ण रूपमा बन्द हुने र मुटुको दायाँ वा बायाँ भाग अविकसित हुने समस्याहरू देखिन्छन्। 

प्रविधिका कारण गर्भमै रहँदा बच्चामा मुटुको समस्या भए र नभएको थाहा पाउन सकिन्छ। यो प्रविधिलाई फिटल इकोकार्डियोग्राफी भनिन्छ। शिशु गर्भमा भएको १८ सातादेखि फिटल इकोकार्डियोग्राफी गर्न सकिन्छ। 

आमाको गर्भमा रहँदै मुटुका विभिन्न भागको विकासक्रममा गडबडी हुँदा मुटुमा समस्या देखिन्छ। जसअन्तर्गत मुटुको पर्दामा प्वाल पर्ने, मुटुका धमनीहरु साँघुरो हुने, रक्तनलीहरु बन्द हुने धमनीका भल्भहरु आशिंक या पूर्णरुपमा बन्द पनि हुनसक्छ। यस्तै मुटु जोड्ने नसाहरुमा समस्या आउन सक्छ। 

यदि मुटुमा सानो प्वाल छ भने समयअनुसार विस्तारै टालिन सक्छ तर प्वाल ठूलो छ भने आवश्यकता अनुसार उपचार गरी शल्यक्रिया नै गर्नुपर्ने पनि हुनसक्छ। कतिपयलाई जटिल प्रकारका मुटुरोगको समस्या पनि देखिन्छ। 

मुटुका ४ वटा कोठाहरु हुन्छन्, माथिल्लो तहमा दुई र तल्लो तहमा २ वटा। माथिल्लो र तल्लो दुवै भागको बीचमा प्वाल पर्नसक्छ, कतिपय अवस्थामा बच्चाको २ वटा कोठा बनेकै हुँदैन। त्यस्तो अवस्थामा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। 

जन्मजात मुटुरोगको कारण 
जन्मजात मुटु रोग जो कोहीलाई पनि लाग्न सक्छ। करिब ८५ प्रतिशत जन्मजात मुटुरोगको कारण नै पत्ता लाग्दैन। करिब १५ प्रतिशतमा कारण पत्ता लगाउन सकिन्छ। वंशाणुगत र वातावरणीय कारण मिश्रित अवस्था देखिन्छन्। वातावरणीय प्रभावलाई ध्यान दिन सकेको खण्डमा केही बच्चालाई मुटुरोग लाग्नबाट बचाउन सकिन्छ। 

गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइडको समस्या छ भने मदिरा र चुरोटको प्रयोग गर्ने आमाका शिशु, स्टोरोइड औषधि खाइरहेका आमाका शिशु, गर्भावस्थामा भाइरल इन्फेक्सन भएमा, विकिरण प्रवाह हुने स्थानमा रहने महिलाबाट जन्मने शिशुमा मुटुमा समस्या देखिन सक्छ। वंशाणु अन्तर्गत परिवारका सदस्यहरुमा मुटुका रोगहरु लागेको छ भने पनि बच्चा यो रोगको जोखिममा हुन्छन्।

गर्भावस्थामै फिटल इकोकार्डियोग्राफी गरे शिशुमा विकास भइरहेको मुटुको अवस्था जान्न सकिन्छ। मुटुबाहेक ओठ चिरिएको, तालुमा समस्या देखिएको, मलद्वार नभएको लगायतका समस्याहरु देखिन सक्छ। त्यसैले गर्भावस्थामा विशेष ध्यान दिनुपर्छ। गर्भावस्थामा आमाले आहारमा ध्यान दिनुपर्छ। त्यतिगरे १०–१५ प्रतिशत जोखिम कम गर्न सकिन्छ। कारण नै पत्ता नलागेको अवस्थामा भने लक्षणहरु ख्याल गरी समयमै उपचार गर्नेतर्फ सचेत रहनुपर्छ। 

उपचार 
कतिपयलाई बच्चामा जन्मजात मुटुरोग रहेको थाहै पाइँदैन। बालबालिकामा जन्मजात हुने मुटुरोगलाई निलो हुने र नहुने गरी दुई प्रकारमा हेर्ने गरिन्छ। फोक्सोमा रगतको मात्रा एकदमै कम हुन्छ। मुटुमा रक्तनलीहरु कडा हुन्छन्, जसका कारण उनीहरुको मुटुको धडकन बढ्छ। फोक्सोमा जाने धमनीहरु साँघुरो हुन्छ, बच्चाहरु रुँदा निलो हुन्छ कहिलेकाँही उनीहरु बेहोस पनि हुनसक्छन्। 

जन्मजात मुटुको समस्या छ भने शिशु जन्मँदा उसको शरीरको रङ निलो हुन्छ। अक्सिजन दिँदा पनि उसको शरीरको रङ परिवर्तन भएन, रुँदा झन निलो हुने समस्या देखियो भने शिशुलाई मुटुको समस्या भएको हुनसक्छ। बच्चामा निलोपना देखिनु जटिल अवस्थाको संकेत हो।

शिशु जन्मँदा निलो नदेखिने पनि हुन्छ। मुटुमा प्वाल पर्ने, धमनीहरु साँघुरो हुने, रक्तनलीहरु बन्द हुने जस्ता समस्याहरु देखिन्छन्। यदि शिशुको मुटुमा सानो प्वाल छ भने ऊ सामान्य बच्चा जस्तै हुन्छ। उसमा कुनै पनि प्रकारको लक्षण देखिँदैन। मुटुको तल्लो कोठाको बीचमा प्वाल परेको अवस्था भीएसटी समस्या देखिन सक्छ। बच्चामा कारणवश केही स्वास्थ्य समस्या देखिएर चिकित्सक कहाँ लैजाँदा लक्षणहरुका आधारमा मुटु परीक्षण गर्नु पर्छ।

मुटुको पर्दामा प्वाल परेको बच्चामा बारम्बार निमोनियाको समस्या देखिन्छ। दूध चुस्दा पसिना आउने, थाक्ने, लामो–लामो श्वास फेर्ने लगायत लक्षणहरु देखिन्छन्। तौल नबढ्ने, दैनिक क्रियाकलाप गर्न नसक्ने हुन्छ। उमेर बढेसँगै मुटु ठूलो हुँदै जान्छ र उनीहरुको बाहिरीबाट छाती ठूलो देखिन्छ।

जन्मजात मुटुरोगको उपचार बिरामीको अवस्था र उमेरमा भर पर्छ। साना तथा सामान्य मुटुका प्वालहरु आफैँ टालिने किसिमका हुन्छन्। नटालिएको अवस्थामा शल्यक्रिया तथा बिना चिरफार पनि मुटुको प्वाल टाल्न सकिन्छ।

आजभोलि आफैँ नटालिने ठूलाखाले प्वालहरुलाई छाती नचिरिकन क्याथेटरको माध्यमबाट जाली राखी टाल्न सकिन्छ। जसलाई ‘डिभाइस क्लोजर’ भनिन्छ।

साथै, जन्मजात साँघुरिएका भल्भहरुलाई पनि क्याथेटरको माध्यमबाट बेलुनले खोल्न सकिन्छ, जसलाई ‘बलुन भल्भोटोमी’ भनिन्छ। क्याथेटरको माध्यमबाट उपचार सम्भव नभएका जन्मजात मुटुरोगको उपचारका लागि छाती चिरी शल्यक्रिया गर्ने समय निर्धारण गरिन्छ।

कतिपय निलो हुने जन्मजात मुटुरोगमा दुईदेखि तीनपटकसम्म पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ। उपचारपछि जन्मजात मुटुरोगका बिरामी नियमित चिकित्सकको फलोअपमा बस्नुपर्छ। उनीहरुले चिकित्सकको सिफरिस अनुसार नियमित औषधि सेवन गर्नुपर्छ।

रोकथाम
गर्भावस्थामा मद्यपान, धुम्रपान गर्नुहुँदैन, जथाभावी औषधि खानुहुँदैन। यस्तै, उच्च रक्तचाप तथा मधुमेहको नियन्त्रण गर्ने र गर्भावस्थामै शिशुको मुटुको भिडियो एक्सरे (फिटल इकोकार्डियोग्राफी) गर्न सके धेरै हदसम्म जन्मजात मुटुरोग कम गर्न सकिन्छ। जन्मजात मुटुरोग वंशाणुगत पनि हुने भएकाले आफ्नो परिवारमा जन्मजात मुटुरोग भएका व्यक्तिले आफ्ना बालबालिकाको एकपटक मुटु जाँच गराउँदा यसको जोखिमबाट बच्न सकिन्छ।

उपचारमा चुनौती
बालबालिकामा मुटुरोगको ‘ट्रान्स क्याथेटर इन्टरभेन्सन’ प्रविधिबाट उपचार हुने ठाउँ देशभरमा मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टर र शहीद गंगालाल हृदय केन्द्र मात्रै हुन्। दुवै अस्पताल काठमाडौँमा छन्। उपत्यकाबाहिर केही केन्द्रमा बालबालिकाको मुटुरोगको सामान्य उपचार भए पनि त्यहाँ पेडियाट्रिक कार्डियोलोजी गरेका विशेषज्ञ छैनन्। 

समयमै रोग पहिचान नहुने भएकाले जन्मजात मुटुरोगीहरू अस्पताल आइपुग्दा अत्यन्त जटिल अवस्थामा पुगिसकेका हुन्छन्। सानैमा टाल्नुपर्ने मुटुका प्वाल टाल्न ढिलो हुँदा अपरेसन नै गर्न नमिल्ने अवस्थामा बिरामी अस्पताल आइपुग्छन्। बालबालिकामा पनि मुटुरोग हुन्छ भन्ने थाहा नभएकाले धेरै बालबालिकाको मुटुरोग पहिचान नै नभई मृत्यु भइरहेको हुन्छ। 

जन्मजात मुटुरोगको उपचार गर्न जनशक्तिका साथै उच्च प्रविधिको क्याथल्याब चाहिन्छ, जुन उपत्यकाबाहिरका अस्पतालमा उपलब्ध छैन। गंगालाल हृदय केन्द्रमा प्रविधि र उपकरणको अभाव छैन। तर जनशक्तिमा भने बालरोग विशेषज्ञ तथा मुटुरोग विशेषज्ञले नै तालिम र फेलोसिप गरेर डिभाइस क्लोजर पद्धतिबाट उपचार गरिरहेका छन्।

बालबालिकाको उपचार गर्ने प्रविधि र उपकरण अत्यन्त कम खपत हुने र बिक्रेताको प्राथमिकतामा नपर्ने भएकाले बजारमा सजिलै उपलब्ध हुँदैनन्। 

(डा. शाक्य शहीद गंगालाल हृदय केन्द्रको पेडियाट्रिक कार्डियोलोजी विभाग प्रमुख हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .