ad ad

सुदूरपश्चिम


दूध-घिउ बेचेर पढेकी अब्बल प्रशासक हेमन्ती, हात पारिन् निजामती सेवा पुरस्कार

दूध-घिउ बेचेर पढेकी अब्बल प्रशासक हेमन्ती, हात पारिन् निजामती सेवा पुरस्कार

गोकुल जोशी
भदौ २२, २०८१ शनिबार १६:४, कञ्चनपुर

सुदूरपश्चिमको पहाडी दार्चुला जिल्ला प्रशासन कार्यालयको नेतृत्व पङक्तिमा छिन्, हेमन्ती साउद। उनी वि.सं. २०७८ सालदेखि दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी जिम्मेवारीमा छिन्।

१३ वर्षदेखि निजामती सेवामा सक्रिय उनी कार्य सम्पादन मूल्यांकनमा अब्बल छिन्। सुदूर पहाडमा प्रशासन हाँक्ने उनै हेमन्तीलाई सरकारले निजामती सेवा पुरस्कार–२०८१ प्रदान गरेको छ।

निजामती सेवा दिवसको अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ। ५० हजार रुपैयाँ नगद राशीको पुरस्कारमा दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी साउँद पनि परिन्।

निजामती सेवा पुरस्कार प्राप्त गरेपछि साउद परिवारमा खुसीयाली थपिएको छ। ‘यसले आगामी दिनमा थप लगनशीलता र अनुशासनका साथ काम गर्ने उत्प्रेरणा दिन्छ,’ हेमन्तीले भनिन्।

कठोर संघर्ष र मिहेनतले उनलाई निजामती सेवामा सफलतातर्फ डोर्‍यायो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीमा वि.सं. २०४७ भदौ २० गते सामान्य कृषक परिवारमा जन्मेकी थिइन्, हेमन्ती। 


बुवा कालुसिंह र आमा कमलादेवी कृषि गर्छन्। तिलकेनीमा उनीहरुसंग १० कट्ठा जमिन छ। त्यसको उब्जाउले खानलाउनलाई पुग्थ्यो। तर छोराछोरीको शिक्षादीक्षाका लागि खर्च जुटाउन हम्मे हम्मे पर्‍थ्यो। घरमा जागिरे कोही थिएनन्।

गाउँमै अधियाँ बनाएर आमाबुवाले छोराछोरीलाई हुर्काए। आमा कमलादेवीले बुवालाई खेतीपातीमा सघाउनुका साथै गाईभैसी पाल्थिन्। दूध, घिउँ बेचेर आउने पैशाले छोराछोरीको विद्यालयको खर्च जोहो गर्नुपर्ने बाध्यता थियो।

साउँद परिवारले अहिले पनि केरा र तरकारी खेती छोडेका छैनन्। अधियाँको उब्जाउ बिक्री, दूध, केरा र तरकारी बेचेको पैशाले हेमन्तीसहित ४ छोराछोरी शिक्षा आर्जन गर्दै हुर्किए।

हेमन्ती माइली छोरी हुन। जेठी छोरी तारा स्थायी शिक्षक छन्। हेमन्तीका दुई भाइ छन्।‘त्यसबेला जागिर आवश्यकता थियो। निजामती सेवाको सरकारी जागिर सजिलो माध्यम भयो,’ विगत सम्झिदै हेमन्ती भन्छिन्, ‘आमाबुवाले धेरै दुःखकष्ट झेलेर पढाउनुभयो। अहिलेको सफलताको श्रय आमालाई जान्छ। उहाँहरुले नगर्नु भएको भए अहिले यहाँ हुने थिएन।’

हेमन्तीले स्नातक पहिलो वर्षको अध्ययन गर्ने क्रममै निजामती सेवामा प्रवेश गरिन्। वि.सं. २०६८ माघ १५ गते पहिलो प्रयासमै सहलेखापालमा नाम निकालेकी थिइन्, उनले।

त्यसबेला उनी महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी अध्ययन गर्दै थिइन्। उनले वि.सं. २०६३ मा सिद्धनाथ माध्यमिक विद्यालय जिमुवाबाट एसएलसी उर्तिर्ण गरिन्। उनले आइएससी ०६७ मा सिद्धनाथ विज्ञान क्याम्पसबाट गरिन्।

०७२ मा बिएससी उर्तिण गरेकी उनी त्यसै वर्ष निजामती सेवातर्फ सहलेखापालबाट लेखापालमा बढुवा भइन्। निजामती सेवाको क्रममा विभिन्न कार्यालयमा खटिएकी उनले अध्ययनलाई पनि निरन्तरता दिइन्। 

हेमन्तीका बुवा–आमा

०७५ मा नेपाल ल क्याम्पसबाट एलएलबी गरेकी उनले काठमाडौँ विश्वविद्यालयबाट ०७९ मा दिगो विकाश विषयमा स्नातकोत्तरको अध्ययन पूरा गरिन्।

काठमाडौँमा अध्ययनकै क्रममा हेमन्ती ०७८ मा खुलातर्फ शाखा अधिकृतमा नाम निकाल्न सफल भएकी थिइन्। त्यसपछि उनी जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत छन्।

निरन्तरको मिहेनतले आफ्नो क्षमता र दक्षतालाई कसैले रोक्न नसक्ने हेमन्ती बताउँछिन्। ‘निजामती सेवामा धेरै अवसर छ। अनुशासन र लगनशील भएर लाग्नुपर्छ,’ उनले भनिन्, ‘सफलता अवश्य मिल्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .