लुम्बिनी


एकीकृत समाजवादीलाई रुपन्देही १ कि २?

बेदुराम भुसाल र विजय पौडेल एकै क्षेत्रबाट सिफारिस
एकीकृत समाजवादीलाई रुपन्देही १ कि २?

सुदीप भण्डारी
भदौ १०, २०७९ शुक्रबार १५:२४, बुटवल

रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये नेकपा एकीकृत समाजवादीले एउटा सिट पाउनुपर्ने दाबी गरेको छ।

२०७४ सालको चुनावमा रुपन्देहीका क्षेत्र नम्बर १, २ र ३ नम्बर क्षेत्र एमालेले र ४ र ५ नम्बर क्षेत्र नेपाली कांग्रेसले जितेको थियो।

एमालेले जितेको मध्ये एउटा क्षेत्र आफूले पाउनुपर्ने एकीकृत समाजवादीको दाबी छ।

बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले लुम्बिनी प्रदेशबाट ५ वटा प्रतिनिधि सभा क्षेत्रमा आफूहरुको दाबी रहेको बताए।

‘एकीकृत समाजवादीका तर्फबाट लुम्बिनी प्रदेशबाट ४ जना सांसद हुनुहुन्छ। त्यसमा हाम्रो स्वभाविक दाबी हो’ उनले भने,  ‘त्यसबाहेक रुपन्देहीमा एमालेले जितेको एउटा क्षेत्रमा हाम्रो दाबी हो।’ 

प्रतिनिधि सभामा लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीको तर्फबाट पाल्पा क्षेत्र नम्बर २ मा सोमप्रसाद पाण्डे, दाङ क्षेत्र नम्बर १ मा मेटमणि चौधरी र दाङकै क्षेत्र नम्बर ३ मा हिराचन्द्र केसी रहेका छन्। गुल्मीकी रामकुमारी झाँक्री समानुपातिक सांसद हुन्। उनीहरुको क्षेत्र बाहेक रुपन्देहीको एउटा क्षेत्र एकीकृत समाजवादीले माग गरेको हो। 

एकीकृत समाजवादीका प्रदेश सचिव राजु गुरुङले क्षेत्र नम्बर २ मा पहिले नै आफूले उम्मेदवारी घोषणा गरेको बताए। उनले अहिले पनि गठबन्धनको तर्फबाट आफू उम्मेदवारको दाबेदार रहेको बताए।

रुपन्देही २ एमालेका उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र हो। 

सकभर रुपन्देहीको क्षेत्र नम्बर २ र नभए १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीले दाबी गरेको छ। 

रुपन्देही २ बाट राजु गुरुङको चर्चा हुँदा क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेलको नाम सिफारिस गरिएको छ। उनीहरुसँगै उमापति पाण्डेको नाम तेस्रो स्थानमा सिफारिस छ।

पार्टी क्षेत्रीय कमिटीको बैठकले उनीहरुको नाम सिफारिस गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले बताए। 

‘पहिलो प्राथमिकतामा विजय पौडेलको नाम उहाँहरुले प्रस्ताव गर्नुभएको छ’ उनले भने, ‘यहाँ रुपन्देहीमा विगतमा जिल्ला पार्टी सचिव भइसकेको एमालेको मत पनि तान्न सक्ने भएकाले उहाँको माग भएको हो।’ 

विजय पौडेल मोदनाथ प्रश्रितका छोरा हुन्। प्रश्रित २०५१ सालको चुनावमा बुटवल क्षेत्र अर्थात तत्कालिन रुपन्देही क्षेत्र नम्बर ३ बाट सांसद भएका थिए।

प्रश्रितले सक्रिय राजनीति गर्न छाडेपछि विजय एमालेको केन्द्रीय राजनीतिमा आएका हुन्। उनी पहिले एमालेको रुपन्देही जिल्ला सचिव भएका थिए। त्यसबेला सचिव नै जिल्ला पार्टी प्रमुख हुन्थ्यो।

पछि एमालेको केन्द्रीय राजनीतिमा सक्रिय भएका थिए। एमाले विभाजनपछि उनी माधव नेपालसँग एकीकृत समाजवादीमा गएका हुन्। 

रुपन्देही क्षेत्र नम्बर १ एमालेका छविलाल विश्वकर्मा र कांग्रेसका अब्दुल रज्जाक चुनाव लड्दै आएको क्षेत्र हो। २०७४ को चुनावमा विश्वकर्मा सांसद बनेका थिए भने २०७० सालको संविधान सभाको चुनावमा रज्जाकले जितेका थिए।

यो क्षेत्र एकीकृत समाजवादीले पाउने भएमा रज्जाक समानुपातिकमा जान सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .