सुक्खा मौसम र हावाहुरी सुरु भएसँगै तराई क्षेत्रमा आगलागीका घटना बढेका छन्।
यसै क्रममा शनिबार एकैदिन रुपन्देहीका ९ गाउँमा आगलागी भएको छ।
रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।
गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा विष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ।
आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेको तथा ३९ वटा बाख्रा मरेको उनले बताए।
प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियो।
आगलागीका घटना जिल्लाभरि नै भइरहेको प्रवक्ता भट्टले बताए।
गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ। वडा नं ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत् चुहिँदा आगलागी भएको थियो। उक्त गोठमा रहेका नौ बाख्रासहित रु तीन लाखभन्दा बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगोे होटल पवन प्यालेस परिसरमा पुगेको थियो। यसबाट प्लाइउड, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायत रु सात लाख बराबरको क्षति भएको प्रवक्ता भट्टले बताए। रासस
Shares
प्रतिक्रिया