ad ad

लुम्बिनी


लुम्बिनी प्रदेशका मन्त्रालयहरू डुबे, राजधानी छेउकै बस्ती डुबानमा (तस्बिरहरू)

लुम्बिनी प्रदेशका मन्त्रालयहरू डुबे, राजधानी छेउकै बस्ती डुबानमा (तस्बिरहरू)

रिया क्षेत्री
असार २३, २०८१ आइतबार ८:५, लुम्बिनी

दाङमा गएरातीदेखि परेको अविरल वर्षाले राजधानी क्षेत्र जलमग्न भएको छ।

लगातारको भीषण बर्षाका कारण दाङको देउखुरी क्षेत्र डुबानमा परेसँगै बस्तीहरू समेत डुबानमा पर्न थालेका छन्। ढल निकाससम्म नहुँदा मन्त्रालयहरू अहिले जलमग्न भएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय डुबानमा परेका छन्। अन्य मन्त्रालयहरूको आँगन पनि जलमग्न भएको छ।

डुबानका कारण मन्त्रालयभित्र र बाहिर आउजाउ गर्न नसक्ने र भित्र कार्यकक्षमा समेत बाढि पसे जस्तै भएको कर्मचारीहरू बताउँछन। मन्त्रालय राखिएका भवनहरू भएको भूभागको स्थान होचो भएको हुँदा डुबानको समस्या भएको उनीहरूको गुनासो छ।

राजधानी स्थापना भएपछि पानीको सहज निकास छैन। जसले गर्दा प्रत्यक बर्ष समस्या दोहोरिने गरेको छ। तीन अर्बको लागतमा राजधानी क्षेत्रमा प्रशासनिक भवनहरु निर्माणको काम भइरहेको छ।

हाल चालु र निर्माणाधिन रहेका मन्त्रालयको परिसरमा पानी जम्मा भएको थियो। गत बर्ष पनि मन्त्रालयहरूमा यस्तै डुबानको समस्या थियो।

त्यस्तै राजधानी क्षेत्रकै राप्ती गाउँपालिका–५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ।

बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षा निकायहरुले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन्।

लगातार पानी परिरहेकाले स्थानीय खहरे खोलामा जलसतह बढेको छ। यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँको भवन पनि डुबानमा परेको छ। कार्यालयको सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ।

यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएको छ। नदी तटीय क्षेत्रमा डुबान र कटानको जोखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ। राप्ती नदिले बगाउँदा एक जना बेपत्ता देउखुरीमा राप्ती नदीको बाढीले एक जनालाई बगाएको छ।

लमही नगरपालिका–७, हस्नापुर स्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा बेपत्ता भएका छन्।

राजपुर गाउँपालिका–२ का किसान दुध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए।

तीन जनासंगै रहेपनि एक जनालाई बाढीले बगाएको र दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए।

नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएकन सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्धार गरेको प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिए।

राजपुर–२ निवासी ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवको उद्धार गरिएको छ। उनीहरूसँगै साथमा रहेका १८ बर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .