ad ad

लुम्बिनी


चेतनारायण आचार्य: विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

चेतनारायण आचार्य: विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

नेपालखबर
साउन ९, २०८१ बुधबार १४:२७, काठमाडौँ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त आचार्य लुम्बिनी प्रदेश सरकारको छैटौँ र विसं २०७९ मङ्सिरमा सम्पन्न प्रदेशसभा निर्वाचनपछिको चौथो मुख्यमन्त्री हुन्।

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीका लागि गठबन्धन बनेपछि प्रदेश सरकारको पनि सत्ता समीकरण बदलिएको हो। सोही समीकरणका कारण लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको सरकार ढल्यो। त्यसपछि लुम्बिनी प्रदेश एमाले संसदीय दलका उपनेता आचार्य मुख्यमन्त्री बनेका हुन्। एमालेका २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेश सदस्यको समर्थन पाएपछि आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्।

त्यसो त लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लीला गिरी थिए। एमालेले मुख्यमन्त्री पाउँदा स्वाभाविकरूपमा गिरी नै मुख्यमन्त्री बन्ने ठानिएको थियो। तर अन्तिम समयमा एमाले केन्द्रको निर्देशनबमोजिम आचार्यलाई अघि सारिएको हो। उनी एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् भने गिरी उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन्।

अर्घाखाँची निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित नवनियुक्त मुख्यमन्त्री आचार्य टीकाराम र तारादेवी आचार्यका माइलो सन्तान हुन्। २०२५ जेठ २१ गते अर्घाखाँचीको सन्धिखर्क–९, अँधेरीमा जन्मिएका उनले कानुनमा स्नातक तहसम्मको अध्ययन गरेका छन्।

२०३५ मा अर्घाखाँचीको सिद्धार्थ माध्यमिक विद्यालय, हंसपुर अध्ययन गर्दागर्दै विद्यार्थी राजनीतिमा होमिएका उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष पनि भएका थिए। त्यसपछि अनेरास्ववियुको जिल्ला सदस्य हुँदै बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष भए। पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका उनी २०७८ मा पार्टी केन्द्रीय सदस्य चयन भए।

आचार्य हाल पार्टीको दाङ जिल्ला इञ्चार्जसमेत छन्। विसं २०७४ को प्रदेशसभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं १(१) बाट दोस्रोपटक निर्वाचित उनी यसअघि लुम्बिनी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, त्यसपछि एमाले नेता लीला गिरी नेतृत्वमा बनेको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्रीको जिम्मेवारीमा थिए।

यसअघि माओवादी नेता जोखबहादुर महरा नेतृत्वमा बनेको प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी पनि पाएका थिए।

क्यान्सर र मिर्गौलासम्बन्धी घातक रोग लागेर पनि निको भएका उनी हकी स्वभावका नेताका रूपमा परिचित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .