मधेस


चुरे संरक्षणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन, अनिश्चितकालीन धर्ना सुरु

चुरे संरक्षणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन, अनिश्चितकालीन धर्ना सुरु

जयन्त ठाकुर
फागुन ११, २०७९ बिहिबार १९:५, जनकपुरधाम

चुरे तथा वन जंगल संरक्षण अभियानीहरूले विभिन्न ५ बुँदे माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। 

हजारौँको संख्यामा उपस्थित भएर बिहीबारदेखि चुरे अभियानीहरुले अनिश्चितकालीन धर्ना सुरु गरेको चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिए। 

धर्ना शुरु गर्नुअघि हजारौंको संख्यामा अभियानीहरुले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका थिए।

स्थानीय भुतही पोखरीबाट जुलुस निकालेर मुख्यमन्त्री कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रदर्शन गर्दै राराब क्याम्पसको पूर्वपट्टी चौरमा धर्ना शुरु गरिएको यादवले बताए।

संयोजक रायले चुरे तथा वन जंगल संरक्षण अभियान र मधेश प्रदेश सरकारबीच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग गरेका छन्।

उनले भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग रहेको बताए।

संयोजक यादवले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधान गर्न संविधानको धारा ३३ मा व्यवस्था भए अनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनुपर्ने र स्थानीय तहको निर्वाचन गैरदलीय प्रतिस्पर्धा अन्तर्गत व्यवस्था मिलाउँदै दलितको लागि राजनीतिक आरक्षण सुनिश्चित गर्न पालिका प्रमुखहरू चक्रीय प्रणालीमा व्यवस्था गर्नका लागि संघ सरकार निर्वाचन कानुन परिमार्जन गरी कार्यान्वयन गरोस् भन्ने पनि हाम्रो माग रहेको बताए।

उनले आफूहरूको मागप्रति संघ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित निकाय सजग नभएकोले बाध्य भएर फेरि आन्दोलनमा उत्रिएको जानकारी दिए।

उनले संघीय निजामती सेवा ऐन, नागरिकता ऐन संशोधन गर्न नसक्दा अनेकन समस्याहरू निम्तिएको, अवैध क्रसर उद्योग मार्फत नीतिगत रुपमै ढुंगा, बालुवा निकासीका लागि मापदण्ड बिना नै अनुमति प्रदान गर्ने काम नरोकिनु चिन्ताको विषय रहेको जिकिर गरे।

उनले आफूहरूको माग पुरा गराउन आगामी दिनमा पनि शान्तिपूर्ण रूपमा धर्ना, दबाब सिर्जना गर्न एक घण्टे चक्काजाम, ग्रासरुट मुभमेन्टको रूपमा गाउँ गाउँमा अभियान लगायत थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .