मधेस


चन्द्रनगर गाउँपालिकाका अध्यक्षविरुद्ध उपाध्यक्षको नेतृत्वमा ७ दलको जुलुस

आफ्नै पार्टी कांग्रेस पनि विरोधमा सहभागी
चन्द्रनगर गाउँपालिकाका अध्यक्षविरुद्ध उपाध्यक्षको नेतृत्वमा ७ दलको जुलुस

बायाँ इन्सेटमा गाउँपालिका अध्यक्ष राजकुमार महतो र दायाँ उपाध्यक्ष गीतादेवी महतो, बीचमा ७ दलको जुलुस।


जनार्दन पोखरेल
असार १, २०८० शुक्रबार ७:५, सर्लाही

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवादले उग्र रुप लिएको छ। 

अध्यक्ष राजकुमार महतोको कार्यशैलीविरुद्ध गाउँपालिका उपाध्यक्ष गीतादेवी महतोको नेतृत्वमा सात दलले बिहीबार गाउँपालिका कार्यालय घेराउ गरेका छन्। 

त्यस क्रममा उनीहरूले अध्यक्ष महतोले गाउँपालिकामा व्यापक भ्रष्टाचार गरेको आरोप लगाए। अध्यक्ष महतो निरंकुश भएको भन्दै नाराबाजी गरे।

चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष फरक पार्टीका छन्। अध्यक्ष महतो नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने उपाध्यक्ष महतो माओवादी केन्द्रबाट।

अध्यक्ष महतो कार्यपालिकामा अल्पमतमा छन्। उपाध्यक्ष महतोको पार्टी माओवादी केन्द्र भने कार्यपालिकामा बहुमतमा छ। 

अध्यक्ष महतोलाई आफ्नै पार्टी नेपाली कांग्रेसले पनि साथ दिएको छैन। बिहीबार उपाध्यक्षको नेतृत्वमा भएको गाउँपालिका घेराउ कार्यक्रममा नेपाली कांग्रेसको स्थानीय कमिटी पनि सहभागी भएको छ। 

उपाध्यक्ष महतोको नेतृत्वमा अध्यक्षविरुद्ध प्रदर्शन हुन थालेपछि भोलि (असार २ गते) को लागि तय भएको बालिका सम्मेलन अन्योलमा परेको छ। 

बिहीबार विरोध प्रदर्शनमा सहभागीहरूले बालिका सम्मेलनका लागि तयार टेन्ट भत्काउने प्रयास पनि गरे। 

अध्यक्षले कार्यपालिकाबाट निर्णय नै नगरी बलजफ्ती रुपमा बालिका सम्मेलन र नाढी महोत्सव आयोजना गरेर गाउँपालिकाको ६० लाख रुपैयाँ भ्रष्टाचार गर्न लागेको आरोप विपक्षीहरूले लगाएका छन्। 

‘अध्यक्ष राजकुमार महतो तानाशाही हुँदै गएका छन्’, गाउँपालिका कार्यालय घेराउपछि आयोजित सभालाई सम्बोधन गर्दै उपाध्यक्ष गीतादेवी महतोले भनिन्, ‘उनी कार्यपालिकाबाट निर्णय नै नगरी ६० लाख खर्च गरेर बालिका सम्मेलन र नाढी महोत्सव गर्न खोज्दै छन्। सम्मेलनका विषयमा कार्यपालिकामा कुनै निर्णय भएको छैन। हामीसँग कुनै सरसल्लाह गरिएको छैन। हामी कुनै पनि हालतमा त्यो कार्यक्रम हुन दिँदैनौँ।’

उनले नाढिवन ताल सुकेका बेला महोत्सव गर्न खोज्नु अध्यक्षको मुर्खता भएको बताइन्।

उपाध्यक्ष महतोको नेतृत्वमा भएको गाउँपालिका कार्यालय घेराउ कार्यक्रममा झण्डै ३ सय स्थानीय सहभागी भएका थिए।

नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा र संयुक्त लोकतान्त्रिक राष्टिय मञ्चका नेता/कार्यकर्ता अध्यक्ष विरुद्धको प्रदर्शनमा सहभागी भएका हुन्।

अध्यक्ष महतोले भने बालिका सम्मेलन गर्ने भनेर एक वर्षअघि नै गाउँसभाले निर्णय गरिसकेको बताएका छन्। 

‘विगतमा गाउँसभाले निर्णय गरिसकेको विषयलाई फेरि कार्यपालिकाबाट निर्णय गर्नु पर्दैन’, उनले भने, ‘उहाँहरूले बालिका सम्मेलनको महत्त्व बुझ्न सक्नुभएको छैन।’

उनले बाल विवाहविरुद्ध जनचेतना जागृत गर्ने, छोरीहरूलाई विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्न लागेको बताए।

बालिका सम्मेलनका लागि गाउँपरिषद्‌बाट २५ लाख रुपैयाँ विनियोजन भएको जानकारी दिँदै उनले विपक्षीहरूले ६० लाख रुपैयाँ खर्च गर्न लागेको भनेर लगाएको आरोप झुटो भएको दाबी गरे। उनले अहिले नाढी महोत्सव गर्ने पक्षमा आफू पनि नभएको बताए।

उनले माओवादीले कार्यपालिकामा बहुमतको दम्भ देखाएर काममा अवरोध गरिरहेको आरोप लगाए।

‘मैले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्न खोजेको छु। तर, उहाँहरू बहुमतको आडमा काममा अवरोध गरिरहनुभएको छ’, अध्यक्ष महतोले भने, ‘उहाँहरू आफूलाई कमिसन आउने भएकाले विकासको नाममा गिटी, बालुवा र माटोको काम मात्रै गरौँ भन्नुहुन्छ। उहाँहरूले बालिका सम्मेलनको उद्देश्य नै बुझ्न सक्नुभएन।’ 

माओवादी केन्द्रबाट निर्वाचित चन्द्रनगर ३ का वडाध्यक्ष सीताराम महतोले गाउँपालिका अध्यक्ष राजकुमार महतोले किर्ते निर्णय गरेर काम गर्ने गरेको आरोप लगाए। 

‘अध्यक्ष कार्यपालिकामा बहुमतमा छैनन्। बैठकमा प्रस्ताव र छलफल नै नभएको विषयमा समेत उनले निर्णय लेख्ने गरेका छन्’, वडाध्यक्ष महतोले भने, ‘कार्यपालिकाको बैठकमा सदस्यहरूलाई निर्णय पुस्तिकाको उपस्थिति र अन्तिम पानामा सहि गराएर आफूखुसी ढंगले पछि प्रस्तावहरू थपेर निर्णयहरू लेख्ने गरेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .