ad ad

मधेस


हिरासतबाट भागेकामध्ये ७ थुनुवा पक्राउ, भेन्टिलेसनको रड काट्न ह्याक्सो ब्लेड प्रयोग

हिरासतबाट भागेकामध्ये ७ थुनुवा पक्राउ, भेन्टिलेसनको रड काट्न ह्याक्सो ब्लेड प्रयोग

नेपालखबर
असोज ७, २०८१ सोमबार २१:५, जनकपुरधाम

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेसन’को रड काटेर फरार भएका नौ थुनुवामध्ये सात जना पक्राउ परेका छन्।

लागु औषध मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमीतकुमार झा, धनुषाको विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर पक्राउ परेका हुन्। उनीहरूलाई धनुषाको लखौरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

यसअघि आजै लखौरीबाट लागु औषध मुद्दा आरोपी अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्करकुमार यादव र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्कीलाई पक्राउ गरेको थियो।

आइतबार राति हिरासतको भेन्टिलेसन फोडेर उनीहरू फरार भएका थिए। सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो।

अझै धनुषाको नगराइन नगरपालिका–२ का १८ वर्षीय मनीष मण्डल, औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखिया पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

एकसाथ नौ जना थुनुवा हिरासत फोडेर फरार भएपछि घटना सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक भारतीले घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिने बताउँदै प्रदेश प्रहरीले पनि छानबिन समिति बनाउने बताए।

घटनास्थलको प्रकृति हेर्दा भेन्टिलेसनको रड ह्याक्सो ब्लेडले काटेर थुनुवा फरार भएको देखिएको उनले बताए। ‘थुनुवा कक्षमा रड काट्ने ह्याक्सो ब्लेड कहिले गयो, कसको लापरबाहीले गयो सबै छानबिन हुन्छ,’ उनले भने।

अहिले फरार रहेका दुई जनालाई पक्राउ गर्न जनपथ, सशस्त्र र दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको प्रवक्ता भारतीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .