ad ad

म्यागेजिन


तेजाब आक्रमणमा परेकी विन्दबासिनी, जो प्रभावितको पक्षमा कानुन बनाउन कस्सिएकी छन् (भिडिओ)

तेजाब आक्रमणमा परेकी विन्दबासिनी, जो प्रभावितको पक्षमा कानुन बनाउन कस्सिएकी छन् (भिडिओ)

विन्दबासिनीले ‘मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१’ नामक गैरसरकारी विधेयक दर्ता गराएकी छन्। तस्बिर: सरोज नेपाल


गीता चिमोरिया
भदौ ६, २०८१ बिहिबार ६:४६, काठमाडौँ

वर्ष २०७० भर्खरै सुरु भएको थियो। कंसाकार परिवारको पुर्ख्यौली पेसा व्यापार। मकवानपुरको पिपलबोटमा भाँडा पसल थियो। व्यवस्थापन विषय लिएर कक्षा १२ मा पढ्दै गरेकी विन्दबासिनी बिहान क्याम्पस जान्थिन्, दिउँसो पसलमा बसेर बुवा आमालाई सघाउँथिन्। 

वैशाखको ९ गते सोमबार। अन्य दिनजस्तै विन्दबासिनी पसलमा बसिरहेकी थिइन्।

पसलमा आएको एक व्यक्तिले अचानक उनको अनुहारमा तातो झोल फ्याँक्यो। विन्दबासिनीले थाहै पाइनन्, के भयो? आत्तिइन्, पीडाले चिच्याइन्। पछि मात्रै थाहा पाइन्, त्यो मान्छेले तेजाब छ्यापेछ।

तलको सटरमा पसल थियो, माथि उनीहरू बस्ने कोठा। आँखा हेर्न सकेकी थिइनन्। भर्‍याङको खुड्किला गन्दै माथि पुगिन्। लोडसेडिङका बेला अँध्यारोमा पनि त्यसैगरी खुड्किला गनेर हिँड्ने आदत लागेको थियो। उनका बुवाले भने तेजाबको गन्धले नै थाहा पाइहाले।

‘त्यो मान्छेले यसलाई एसिड हानेर गयो, त्यसलाई समात!’ बुवा चिच्याउन थाले। 

घटना हुनेबित्तिकै तेजाब राम्रोसँग पखालिएको भए सायद अनुहारमा क्षति कम हुने थियो। बुवाले पखाली त दिए तर पूरै अनुहार राम्रोसँग पखालिएन। 

भिडिओ :

वर्ष ३० को दिलिपराज केशरी। विन्दबासिनी उसलाई दाइ भन्थिन्।

दिलिपले उनलाई मन पराउँछु भनेको थियो। पटकपटक विवाहका लागि प्रस्ताव पनि राख्यो। 

विन्दबासिनीले जवाफ दिएकी थिइन्, ‘विवाह गर्ने हो भने घरमा आएर परिवारसँग कुरा गर्नू, परिवारको निर्णय जे हुन्छ मेरो निर्णय पनि त्यही हो।’ 

तर दिलिप परिवारसँग कुरा गर्न आएन। उनलाई भने मानसिक तनाव दिन थाल्यो। पटकपटकको मानसिक तनावपछि विन्दबासिनीले बुवालाई आफूले भोगेको समस्या सुनाइन्। बुवाले उक्त समस्याबाट छुटकारा दिलाउन उनको मोबाइलको सिम बदलिदिए। 

त्यो व्यक्ति एकदिन पसलमा अरू कोही नभएको बेला आयो र उनलाई भन्यो, ‘मैले तिमीलाई फोन गरिरहेको छु तर लाग्दैन, किन फोन नलाग्ने बनाएको?’ 

विन्दबासिनीले भनिन्, ‘किन गर्नुपर्‍यो फोन? मैले भन्नुपर्ने कुरा भनिसकेको छु, कुरा गर्नु छ भने परिवारमा आएर कुरा गर।’ 

त्यो व्यक्तिले फेरि उनीसँग नम्बर माग्न थाल्यो। विन्दबासिनीले नम्बर दिइनन्। त्यत्तिकैमा पसलमा बुवा आइपुगे। बुवाले सोधीखोजी गर्न थालेपछि उसले भन्यो, ‘हैन अंकल, म यही बाटो जाँदै थिएँ, उसलाई देखेर के छ हालखबर भनेर सोध्न मात्रै आएको।’ 

त्यसपछि बुवाले उसलाई भने, ‘आइन्दा पसलमा नआइदेऊ!’

त्यसको १२ दिनपछि दिलिपले विन्दबासिनीमाथि त्यो अकल्पनीय अपराध गरेको थियो।

हेटौँडामा प्राथमिक उपचारपछि बुवाले थप उपचारका लागि काठमाडौँ लिएर आए। तीन महिना काठमाडौँ बसेर प्लास्टिक सर्जरीसहितको उपचार भयो।  

तीन महिनापछि परिवारले थप उपचारका लागि भारतको तमिलनाडुमा रहेको देवदास अस्पताल पुर्‍यायो।

विन्दबासिनीले झन्डै दुई महिना त्यहाँ बसेर उपचार गराइन्। त्यसपछि हरेक तीन महिनामा फलोअपका लागि जान्थिन्। यो क्रम झन्डै चार वर्षसम्म चल्यो। त्यसपछि उनी हरेक ६ महिनामा एकपटक फलोअपका लागि जान थालिन्। र, पछिल्लो दुई वर्षदेखि उनी वर्षमा एकपटक उपचारका लागि भारत जान्छिन्। 

जलनको उपचार केही दिन वा केहीपटक गरेर हुँदैन। निरन्तर गरिरहनुपर्छ। उपचार एकदमै महँगो छ। विन्दबासिनीले उपचार गराएको अस्पतालको बिलमात्रै एक करोड १४ लाख ८५ हजारको छ। बुवाले व्यवसायका लागि लिएको ऋण छोरीको उपचारमा खर्चिए। 

घटनाको ७ वर्षपछि अपराधी पक्राउ पर्‍यो। ८ वर्षको जेल सजाय तोकियो। उपचारमा भएको खर्चको क्षतिपूर्ति उनले अझै पाउन सकेकी छैनन्। विन्दबासिनीलाई अझै न्याय पाएँ जस्तो लाग्दैन। 

हुन त यस्तो क्रुर घटनाको न्याय के पो हुन्छ र? न अब उनको पहिलेको अनुहार फर्किएर आउँछ, न सपना, न बाआमाको पहिलेको समय।

अपराधीले हानेको तेजाबले विन्दबासिनीको अनुहार छियाछिया बनायो। अनुहार मात्रै बनाएन, उनको सपना पनि छियाछिया बनायो। एकजना दाजु र एकजना भाइबीच हुर्किएकी उनले जीवनको असाध्यै कठिन समय गुजारिन्। वर्षौंको उपचारपछि उनको अनुहारको दाग त केही घटेको छ तर मनमा लागेको चोट? सायद जीवनभरि घट्दैन। मेटिँदैन। 

तेजाब आक्रमणको घटनापछि विन्दबासिनीको दैनिकी बदलियो। जिन्दगी बदलियो। सपना बदलियो।

व्यवस्थापन विषयमा स्नातकोत्तर गरेर परिवारले गर्दै आएको व्यवसायलाई निरन्तरता दिने उनको सपना थियो। विन्दबासिनी व्यवसायी बन्न चाहन्थिन्। 

जलेको घाउमा संक्रमण नहोस् भनेर उनी पट्टी लगाएर हिँड्थिन्। बाटोमा देख्नेहरू बिचरा भन्थे। साहस दिनेभन्दा कानेखुसी गर्नेहरू बढी भेटिन्थे। तर, परिवारले भने कहिल्यै उनको साथ छाडेन। कहिल्यै उनलाई एक्लै छाडेन। महिलामाथि हुने हिंसाका अधिकांश घटनामा पीडकलाई भन्दा पीडितलाई नै बढी प्रश्न गरिन्छ। समाजको यो चरित्रसँग विन्दबासिनीको चित्त दुखाइ छ। 

‘तिमीलाई कस्तो छ? कति गाह्रो भएको छ? हामीले के गर्दा तिम्रो पीडा कम हुन्छ? समाजले पीडितलाई सोध्दैन,’ विन्दबासिनी भन्छिन्, ‘खास के भएको थियो भनेर वास्तविकता बुझ्ने प्रयास पनि गर्दैन। मानिसहरू अन्दाज लगाउँछन्, यसो भएको थियो होला भनेर। जो पीडामा छ, उसैलाई थप पीडा दिनेगरी प्रश्न सोधिरहने परिपाटी रहुन्जेल महिलामाथि हुने हिंसाको घटना कम हुँदैन।’

उनीमाथि तेजाब आक्रमणको घटना भएको दुई वर्षपछि काठमाडौँको वसन्तपुरमा दुई किशोरीमाथि फेरि यस्तै प्रकृतिको आक्रमण भयो। विन्दबासिनी वसन्तपुरमा भएको कार्यक्रममा गएर बोलिन्। पीडकलाई कडा कारबाही हुनुपर्ने, तेजाब लगायतका प्रज्वलनशील पदार्थ जथाभावी बेच्न रोक लगाउनुपर्नेजस्ता विषयमा उनले आवाज उठाइन्। पीडकलाई कारबाहीको माग, पीडितको सहज उपचारजस्ता विषयमा आवाज उठाइरहिन्। उनले आफ्नोसँगै अरू प्रभावितको न्यायको लागि पनि आवाज उठाउन थालिन्। 

घटनाको दुई वर्षपछि उनले फेरि पढाइलाई निरन्तरता दिइन्। स्नातकसम्मको अध्ययन पूरा गरिन्। व्यवसायी बनेर परिवारका लागि आर्थिक उपार्जनको काम गर्न नसके पनि सधैँ काम नगरी बस्न भने मनले मानेन। विन्दबासिनीले झन्डै साढे दुई वर्ष कुमारी बैंकमा काम गरिन्। 

त्यसपछि राजनीतितर्फ मोडियो पाइला
विन्दबासिनीलाई राजनीतिमा खास चासो थिएन। सानैदेखि त्यो वातावरण नै बनेन। पढाइ, परिवार र व्यवसायभन्दा बाहिर उनले सोचेकी थिइनन्।

२०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा भयो। टेलिभिजनमा कार्यक्रम चलाउने रवि लामिछानेले अब राजनीति गर्ने खबर जताततै आयो। उनले पनि यो खबर सुनिन्। रविसँग उनको एकपटक भेट भएको थियो, टेलिभिजन कार्यक्रमको सिलसिलामा। उनीजस्तै प्रभावितहरूलाई ल्याएर रविले कार्यक्रम चलाएका थिए। 

जलन प्रभावितका लागि काम गर्ने उज्वलविक्रम थापालाई उनी अंकल भन्छिन्। थापालाई रविले पार्टीमा आउन प्रस्ताव गरेका थिए। उनले त्यो प्रस्तावको बारेमा सोचे र निर्णय गरे, म आफैँ राजनीतिमा जानुभन्दा पनि प्रभावितमध्ये कसैलाई पठाउनु उपयुक्त हुन्छ। त्यसपछि थापाले रविसँग अनुरोध गरे– मलाईभन्दा पनि मेरा छोरीहरूमध्ये (जलन प्रभावित) कोही एकजनालाई जोड्नुस्। उनले विन्दबासिनीको नाम सिफारिस गरे।  

विन्दबासिनी उपचारका लागि तमिलनाडुमा थिइन्। उज्वलले फोन गरे र सबै कुरा जानकारी गराए। उनले बुवासँग सल्लाह गरेर भन्छु भनिन्। रास्वपाबाट पनि उनलाई फोन आयो। परिवारसँग सल्लाह गरिन्। उज्वल र रविसँग पनि सल्लाह गरिन्। त्यसपछि विन्दबासिनीले राजनीतिमा लाग्ने निर्णय गरिन्। 

रास्वपामा आबद्ध भएपछि राजनीति र जागिर दुवै गर्न गाह्रो भयो। बैंकले पनि नियमानुसार यसरी दुई ठाउँमा काम गर्न मिल्दैन भन्यो। उनले बैंकको जागिर छोडिन्। पार्टी चुनावमा होमियो, उनी पनि गाउँगाउँमा भोट माग्न हिँडिन्। उनले मतदातासँग धेरै ठूलो आश्वासन बाँडिनन्। आफ्नो पार्टीले जितेको खण्डमा हिंसा पीडितको लागि आवाज उठाउने, महिलाहरूका लागि काम गर्ने बताइन्। धेरै आश्वासन बाँड्नेगरी उनी राजनीतिको ठूलो खेलाडी पनि थिइनन्। ०७९ मंसिरको निर्वाचनमा रास्वपा चौथो ठूलो दल बन्यो र २० सांसदसहित संसद् प्रवेश गर्‍यो।  

२०७९ को फागुनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मनोनयन गरेका १६ केन्द्रीय सदस्यमा विन्दबासिनीको नाम पर्‍यो। राजनीतिका बारेमा केही सिक्दै, बुझ्दै गरेको अवस्थामा देशको चौथो ठूलो दल, आफ्नो पार्टीले विश्वास गरेर केन्द्रिय सदस्य बनाएपछि उनले थप जिम्मेवारी बढेको महसुस गरिन्।  

अनि सांसद भइन् 
सोही वर्षको चैत अन्तिमतिर राष्ट्रिय स्वतन्त्र पार्टीले अडिओ टेप प्रकरणपछि समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गर्‍यो। उनको सांसद पद गयो। सो स्थानमा रास्वपाले (कानुन बमोजिम निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक बन्दसूची क्रमानुसार) विन्दबासिनी कंसाकारलाई प्रतिनिधि सभा सदस्य बनाउने निर्णय गर्‍यो। त्यसपछि उनी सांसद भइन्। 

२०८० जेठ ३२ गते विन्दबासिनीले पहिलोपटक सदनमा बोलिन्। उनले झन्डै ६५ हजार प्रभावितको प्रतिनिधित्व गर्दै संसदमा जलन प्रभावितको विषय उठान गरिन्। आफू सांसद हुनुभन्दा पहिलेको संसद् बैठकका भिडिओहरू हेर्दा उनले अरूले यस विषयमा खासै बोलेको भेटिनन्। अहिले पनि २७५ सांसदमध्ये विन्दबासिनी बाहेक अरूले यो विषय उठान गरेको खासै पाइँदैन। कांग्रेस सांसद चन्द्र भण्डारी ग्यास विस्फोटमा परेर गम्भीर घाइते भए। उनको आमाको ज्यानै गयो। भारतमा लामो उपचार गराएर नेपाल फर्किएपछि उनले संसदमा यो विषय उठाए।   

विन्दबासिनीले आफू सांसद भएपछि पटकपटक जलन प्रभावितको मुद्दा सदनमा राखिन्। सरकारको ध्यानाकर्षण गराइन्। अग्निजन्य हिंसा, दुर्घटना, उपचारमा पहुँच, पीडितले पाउनुपर्ने न्याय र प्रभावितको पुनर्स्थापना उनले उठाएका महत्त्वपूर्ण मुद्दाहरू हुन्। 

आवाज त उनी पहिले पनि उठाउँथिन्। तर त्यतिबेला जहाँ बोल्थिन्, त्यहीँसम्म मात्रै सीमित हुन्थ्यो उनको आवाज। 

‘सडकमा बोल्यो भने त्यही सडकसम्म मात्रै हो। मिडियाले लेखिदियो भने अलि धेरैले सुन्थे/पढ्थे। राष्ट्रिय मिडियामा हाम्रो कुरा कमै मात्र कभरेज हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त मैले बोलेको सरकारले सुन्छ, सुन्ने मात्रै होइन, मेरो प्रश्नको जवाफ पनि दिन्छ। दिनुपर्छ।’

आफू सांसद भएपछि उठाएको आवाज बलियो सुनिएको जस्तो लाग्छ, विन्दबासिनीलाई। एकजना प्रभावित मात्रै भएर उठाएकोभन्दा अहिले सांसद भएर उठाएको सवाल प्रभावकारी भएकोजस्तो लाग्छ। 

सात महिनाको मेहनतपछि तयार भयो विधेयक 
सांसद भएपछि विन्दबासिनी जलन प्रभावितलाई भेट्न विभिन्न अस्पताल पुगिन्। बर्न वार्डका शय्यामा भेटिएका प्रभावितमा उनले एघार वर्षअघिको आफूलाई भेटिन्। उनलाई यसमा आफूले अझै धेरै काम गर्नुपर्छ भन्ने लाग्यो।  

हरेक वर्ष हजारौँ मानिस जलनको घटनाबाट प्रभावित हुने भए पनि सरकारले यसमा गम्भीर रूपमा ध्यान दिन सकेको छैन। 

प्रभावितको उपचार, पीडितलाई न्याय, पीडकलाई कडा कानुनी कारबाही र प्रभावितको पुनर्स्थापनाका विषयमा बलियो कानुन छैन। केही संघसंस्थाले प्रभावितलाई उपचार, कानुनी परामर्श तथा पुनर्स्थापनाका कार्यक्रममा काम गरिरहेका छन्। कयौँ विपन्न प्रभावित आर्थिक अभावमा उपचारबाट बञ्चित छन्। 

विन्दबासिनीले जलन प्रभावितका विषयमा सदनमा बोलिनन् मात्रै। जलनका घटना कम गर्न सरकारले सचेतनाको कार्यक्रम सञ्चालन गर्नुपर्ने, पीडितलाई तत्काल उपचारको व्यवस्था गर्नुपर्ने, उपचारमा सबैको पहुँच, पीडकलाई कडा कानुनी कारबाही र प्रभावितको पुनर्स्थापना लगायतका विषय समेटेर विधेयक तयार गरिन्।

यस क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, विज्ञ, सरकारका सम्बन्धित निकायहरू, जलन प्रभावित सबैसँग परामर्श गरेर यो विधेयक तयार भएको हो। यो विधेयक तयार गर्न उनलाई रास्वपाका अन्य सांसदले पनि सहयोग गरेका छन्। 

झन्डै सात महिनाको कडा मेहनतपछि तयार भएको ‘मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१’ गैरसरकारी विधेयकको रूपमा साउन ३१ गते दर्ता भएको छ। सदनले यो विधेयक पास गरेको खण्डमा हजारौँ जलन प्रभावितलाई राहत पुग्ने उनको विश्वास छ। विधेयक पास गर्न सबैको सहयोग पाउने आशा उनले राखेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .