नेकपा एकीकृत समाजवादीको पदाधिकारी चुनावमा रामकुमारी झाँक्रीको हारले धेरैलाई आश्चर्यमा पार्यो। जनआन्दोलनमा चिनिएकी र नेकपा एमाले विभाजनको तस्बिर बनेकी झाँक्रीले हार्लिन् भन्ने तिनले सोचेका थिएनन्। नसोचेको नतिजा आउँदा छक्क पर्नु स्वाभाविक थियो।
तर, चुनावको नतिजा यही आउँछ भन्नेमा ढुक्क थिइन् जयन्तीदेवी राई। जो झाँक्रीलाई फराकिलो मत अन्तरले हराउँदै पार्टीको महिला उपाध्यक्ष निर्वाचित भएकी छन्।
‘केन्द्रीय कमिटीमा परिपक्व, बुझेका, महाधिवेशनले छानेका, वर्षौंदेखि काम गरेर पार्टीमा जिन्दगी बिताएका कमरेडहरू हुनुहुन्थ्यो,’ राईले भनिन्, ‘उहाँहरूले पक्कै पनि मलाई सही मूल्यांकन गर्नुहुन्छ भन्ने मलाई विश्वास थियो। त्यसकारण हार्छु भन्नेचाहिँ पटक्कै लागेको थिएन।’
पार्टीको संस्थापक उपाध्यक्ष पनि रहेकी राईलाई झाँक्रीसँग चुनाव लड्न नपरोस् भन्नेचाहिँ थियो।
‘आफ्नै बहिनी हो, महिला पनि हो। उहाँसँग चुनाव लड्न नपरे हुन्थ्यो भन्ने लागेको थियो,’ राईले सुनाइन्, ‘तर लड्नपर्ने स्थिति आइपर्यो। चुनाव हो, त्यसैले त्यतिधेरै अन्यथा पनि मानेको छैन।’
आफूले पहिले नै त्यो पदमा उठ्ने निश्चय गरिसकेको र झाँक्री उठ्ने तय नभएकाले प्रतिस्पर्धाको स्थिति आइपरेको उनको भनाइ छ।
‘मैले धेरैअगाडि नै घोषणा गरिसकेको थिएँ। तर उहाँ (रामकुमारी) ले चाहिँ गर्नुभएको थिएन। हामीबीच कुरा भएको थिएन। उम्मेदवारी दर्ता पनि मैले अलिकति अगाडि नै गएर गरिसकेको थिएँ। पछि उहाँले पनि दर्ता गर्नुभयो। उहाँको उपमहासचिव हो कि, खुल्ला उपाध्यक्ष हो कि, के हो भन्ने पनि टुंगो थिएन, उम्मेदवारी दर्ता भएपछि त छलफल गर्ने समय पनि धेरै भएन।’
पार्टीमा उपाध्यक्ष निर्वाचित भएसँगै राई एकाएक चर्चामा आएकी छन्। तर, पार्टी राजनीतिमा उनी नयाँ होइनन्। पार्टीमा उनको योगदानको इतिहास दशकौँ पुरानो छ।
भोजपुरदेखि काठमार्डौँसम्म
देशमा निरङ्कुश पञ्चायती व्यवस्था थियो। जनताले आफ्ना कुरा राख्न पाउँदैन थिए। हरेक कुरामा विभेद। शासक र जनताबीच ठूलो खाडल थियो, दास र मालिकजस्तो। बोल्न नपाइने। जयन्ती पाँच दशक अघिको त्यो समय सम्झिन्छिन्।
ज्यादै निम्न पनि होइन, निकै उच्च पनि होइन, मध्यमखालको परिवारमा उनी २०२० सालमा जन्मेकी थिइन्। बुवा प्रधानपञ्च थिए।
बुवा पञ्चायती व्यवस्थाका वफादार भए पनि जयन्ती रामेश, रायन र मञ्जुलहरूको गीत सुन्न थालिन्। उनी १२/१३ वर्षकी हुँदी हुन्। कक्षा ६ मा पढ्थिन्। उनले सुन्न थालिन्, निरङ्कुश व्यवस्थालाई फालियो भने सबै स्वतन्त्र हुन्छन्। सबैले न्याय पाउँछन्। समानता आउँछ। स्कुलको शुक्रबारे कार्यक्रममा गाउन पनि थालिन् :
हो हो दाजु ठिकै भन्यौ चित्त बुझ्यो मेरो
सामन्तीलाई मास्नलाई लगाऊँ अब फेरो
‘यस्ता गीत गाउन दिँदैनथ्यो तर शुक्रबारे कार्यक्रममा म गाउँथेँ, गीतको बारेमा त्यहाँको सरहरूले त्यति ख्याल गर्दैन थिए। त्यही भएर पनि केही भनेनन् होला,’ जयन्ती भन्छिन्।
शारदा प्रावि खोङ्टाङपछि माध्यामिक तहको पढाइ अन्नपूर्ण माविमा पढिन्।
‘माध्यमिक तहमा पढ्दै गर्दा प्रारम्भिक कमिटी गठन गरेर लागियो,’ स्कुले जीवन सम्झिन उनले, ‘त्यसपछि म पूरै साङ्गठनिक रूपमै लाग्न थालेँ।’
भोजपुर भौगोलिक हिसाबले पनि विकट। उनीहरू बाजागाजा बोकेर हिँड्दै गाउँगाउँ पुग्थे। हरेक बेलुकी सांस्कृतिक कार्यक्रम गर्थे। दिनभरि हिँड्ने, राती कार्यक्रम गर्ने। त्यसरी कार्यक्रम गर्नुको उद्देश्य थियो, जनवादी गीत सुनाउँदै गाउँका जनतालाई सचेत बनाउनु। निरङ्कुश व्यवस्था विरुद्ध लड्न उत्प्रेरित गर्नु। जयन्तीले कयौं कार्यक्रममा यसरी जनवादी गीत गाइन्। अधिकांश सयम त्यसरी कार्यक्रममा बिताउन थालेपछि पढाइमा खासै ध्यान भएन। समय पनि भएन। स्कुलमा उनको उपस्थिति निकै कम हुन्थ्यो।
परिवारले त्यसरी आन्दोलनमा नलाग्नको लागि धेरै भन्यो। तर जयन्ती रोकिनेवाला थिइनन्।
‘प्रधानपञ्च मेरो बुवा त पञ्चायतलाई नै मान्नुहुन्थ्यो। पहिलेपहिले त उहाँहरूले अलिकति दमन नै गर्नुभयो। जति गर्दा पनि मैले नछोडेपछि उहाँहरू आफैले पनि पछिचाहिँ समर्थन गर्नुभयो, यही विचारलाई समर्थन गर्नुभयो,’ उनी भन्छिन्, ‘एउटा कुनै काममा लाग्छु भनेपछि कसैले रोकेर नरोकिने रहेछ। कसैले छेकेर छेकिएन। विरोध गर्नेलाई निकै कठोर सजाय हुन्थ्यो। तर मरे पनि जनताकै लागि मर्ने हो, बाँचे पनि उनीहरूकै लागि बाँचिन्छ। हामी मर्छौं त के भो, संसार जित्छौं। एकजना मरेर के भयो त भन्ने लाग्थ्यो।’
विस्तारै कम्युनिस्ट विचारधारा फैलिँदै गयो। संगठनहरू बने। मानिसहरू पञ्चायतको विरोधमा लाग्ने माहोल बनिसकेको थियो। यसपटक जयन्तीका बुवा जनपक्षीय उम्मेदवार बने र फेरि प्रधानपञ्च चुनिए।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट उनको औपचारिक राजनीतिक यात्रा सुरु भए पनि त्यो भन्दा धेरै अगाडिदेखि नै उनी व्यवस्था बदल्ने यात्रामा होमिइसकेकी थिइन्। अन्नपूर्ण माविबाट एसएलसी सकेपछि उनी आईए पढ्न भोजपुर बहुमुखी क्याम्पसमा भर्ना भइन्। त्यहाँ पनि पढाइभन्दा विद्यार्थी संगठनको कार्यक्रममा बढी समय बित्थ्यो। बरू पढाइ रोकियो तर राजनीति रोकिएन। एक ठाउँमा कार्यक्रम गर्यो, फेरि अर्को ठाउँमा दौडियो।
२०३७ सालदेखि अखिल नेपाल महिला संघ (अनेम संघ) को क्षेत्रीय जिम्मेवारी लिएर उनले काम गरिन्। हाते पत्रिका निकाल्थिन्। बाँड्थिन्। त्यो एउटा मात्रै काम गरेर पनि हुँदैन थियो। पढाइ, घरको काम पनि गर्नैपर्यो। लुक्नुपर्यो, भाग्नुपर्यो। बेस्सरी दुःख गरिन्। त्यो बेलाको संघर्ष सम्झिँदा अझै पनि भावुक हुन्छिन् जयन्ती।
धरपकड हुन्थ्यो। मुद्दा लाग्यो। भोजपुरबाट हिँड्दै अञ्चल अदालत धरान धाउनुपथ्र्यो। उनलाई दुई वर्षको आईए सक्न ६ वर्ष लाग्यो।
बहुदल आएपछि भने अलि स्वतन्त्र भएर काम गर्न पाइयो। संगठनहरू निर्माण गर्न पनि सजिलो भयो। २०४७ मा एमाले गठन भएपछि उनी जिल्ला कमिटी सदस्य भएर काम गर्न थालिन्। धरपकड, मुद्दा, आदिका कारण परिवारको स्थिति खस्किन थालेको थियो। आफूले मात्रै दुःख पाएको भए त केही थिएन, परिवारले पनि दुःख पाउन थालेपछि उनको मन कुँडियो। त्यसपछि उनले राजनीतिमा सक्रियता कम गरिन् र पढाइलाई अघि बढाइन्।
२०५० सालमा काठमाडौं आएर ताहचलमा भर्ना भइन्। शिक्षाशास्त्र संकायमा उनले स्नातक तहको पढाइ पूरा गरिन्। पढाइ भर्खरै सकिएको थियो, जिल्ला विकास समितिको उपसभापति हुन आउनू भन्ने खबर आयो, जिल्लाबाट। त्यो खबर पाउनासाथ उनी तुरुन्तै भोजपुर फर्किइन्। २०५४ मा उनी जिल्ला विकास समितिको उपसभापति भइन्। उनका अनुसार त्यसबेला पार्टीले रूपन्देहीमा एकजनालाई सभापतिका लागि र भोजपुरमा उपसभापतिका लागि महिलालाई टिकट दिएको थियो। उनले चुनाव जितिन्। देशभरमा उनी एक्ली महिला उपसभापति थिइन्। उनले पाँच वर्ष जिल्ला विकासको उपसभापति भएर काम गरिन्।
कार्यकाल सकिएपछि २०५९ सालमा सरकारले दलहरूमाथि गरेको दमन र विद्यार्थीहरूलाई माओवादीले गरेको अपहरणको विरोधमा पार्टीले गाउँ पस्ने निर्णय गर्यो। त्यतिबेला आफू माओवादीबाट केही समय अपहरणमा परेको उनको अनुभव छ।
विधायन समिति सभापति
२०६२/०६३ को दोस्रो जनआन्दोलनपछि पुनर्स्थापित अन्तरिम संसदमा उनी नेकपा एमालेको तर्फबाट सांसद भइन्। लगत्तै २०६४ को पहिलो संविधान सभा निर्वाचनमा टिकट पाइन्। तर भोजपुर १ नम्बर क्षेत्रमा उनी माओवादीका पदम राईसँग पराजित भइन्। भोजपुर २ मा एमालेका शेरधन राई पनि पराजित भए।
दोस्रो संविधान सभा (२०७०) मा जयन्ती समानुपातिक सांसद भइन्। २०७८ साल माघ १२ मा भएको निर्वाचनमा एमालेकी सुमित्रा भण्डारीलाई हराउँदै गठबन्धनकी उम्मेदवार उनी कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भइन्। सुमित्राले ४ हजार ३६२ मतभार ल्याउँदा जयन्तीले ४ हजार ६९२ मतभार ल्याएकी थिइन्।
राजनीतिमा होमिएर घरबारलाई ज्यादा समय दिन नपाएकी जयन्ती अविवाहित छिन्। उनी हाल राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिकी अध्यक्ष हुन्।
‘एकता भन्दैमा टक्क पार्टी मिलाउन हुँदैन’
२०६५ सालमा बुटवलमा सम्पन्न एमालेको आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भइन्। २०७१ असारमा काठमाडौँमा भएको नवौँ राष्ट्रिय महाधिवेशनबाट फेरि केन्द्रीय सदस्य जितिन्।
त्यसअघि गाउँ, जिल्ला र क्षेत्रको जिम्मेवारीमा रहेर उनले धेरै पहिलेदेखि नै काम गरिरहेकी थिइन्। सांसद भइसकेपछि उनले पढाइलाई फेरि निरन्तरता दिइन् र पाटन क्याम्पसबाट स्नातकोत्तर गरिन्।
२०७८ मा पार्टी फुट्दा उनले एमाले छोडिन्। जयन्तीले सुरुदेखि नै नेता माधवकुमार नेपाललाई साथ दिँदै आएकी थिइन्। २०७८ भदौमा निर्माण भएको एकीकृत समाजवादीमा उनी उपाध्यक्ष चयन भइन्।
अनेम संघ (समाजवादी) को अध्यक्ष र पार्टी उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरेकी उनले गएको मंगलबार भएको निर्वाचनमा पार्टी सचिव रामकुमारी झाँक्रीलाई हराउँदै लोकप्रिय मतका साथ महिला उपाध्यक्षमा जित हासिल गरिन्। महिला उपाध्यक्षमा जयन्तीले १९९ मत प्राप्त गर्दा रामकुमारीले ११२ मत मात्रै ल्याइन्।
अहिले उनको पार्टी अलमलमा छ। पार्टीभित्र एमाले वा माओवादी केन्द्रसँग एकता गर्नुपर्ने बहस पनि छ। तर तत्कालै एकता भइहाल्छ भन्ने जयन्तीलाई लागेको छैन।
‘एकता हुने कुरा नराम्रो होइन। एकता जरुर हुनुपर्छ। तर एकता हुन्छ भन्दैमा टक्क पार्टी मिलाउने भन्ने त हुँदैन। त्यसभित्र थुप्रै कुराहरू हुन्छन्। हाम्रा कार्यक्रमहरू स्वीकार्य हुनुपर्यो, उहाँहरूका कार्यक्रम पनि आधा हामीले स्वीकार गर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘विचार, सिद्धान्त, कार्यक्रम, हाम्रा कार्यकर्ताहरूको व्यवस्थापनका कुराहरू। यी सबै कुराहरू मिल्दा एकता नहुने भन्ने कुरा हुँदैन। तर अहिले नै त्यो मिल्ने स्थिति देखिन्न।’
झमझम झरीकाबीच संसद् भवन बानेश्वरको हाताभित्र रहेको एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा बसेर गरिएको कुराकानी बिट मार्दै गर्दा हामीले संसदीय दलको नेताको कुर्सी देखाउँदै सोध्यौँ, ‘त्यो कुर्सीमा तपाईं बस्ने सम्भावना कत्तिको छ?’
जयन्ती मुसुक्क हाँसिन्। अनि भनिन्, ‘म अध्यक्ष हुन्छु भनेर, त्यो महत्त्वाकांक्षा राखेर लागेको होइन यो पार्टीमा। तर, भविष्यमा असम्भव भन्ने कुरा त के छ र? राष्ट्रपति महिला भइसकेको देश हो।’
भिडिओ :
Shares
प्रतिक्रिया