लाखौँका ‘रोलमोडल’ ब्रुस लीको मृत्यु धेरै पानी पिएर भएको थियो?

लाखौँका ‘रोलमोडल’ ब्रुस लीको मृत्यु  धेरै पानी पिएर भएको थियो?

नेपालखबर
असार ३१, २०८० आइतबार १०:५७, हङकङ

'कुङ फु किङ' का नामले चर्चित ब्रुस ली बितेको ५० वर्ष पुगेको छ। इतिहासकै सबैभन्दा द्रूत व्यक्ति मानिने उनी यति तीव्र थिए कि, भनिन्छ उनको दृष्या‌ंकन गर्न क्यामेरालाई पनि गाह्रो हुन्थ्यो। त्यसैले उनको भिडिओ स्लो मोसनमा देखाइन्थ्यो।

१९४० मा अमेरिकाको सन फ्रान्सिकोमा जन्मिएका ब्रुस लीको बाल्यकाल हङकङमा बित्यो। बाल्यकालमा उनी अन्य बालबालिकालाई खेल्दा पिट्ने गर्थे। ब्रुस लीले सधैँ पिट्न थालेपछि केटाहरू मिलेर एक समूह बनाए र लीलाई दिनहुँ कुट्न थाले। हरेक दिन कुटिएर र घाइते भएर घर फर्किएर समस्यामा परेकी उनकी आमाले एक दिन ब्रुस लीलाई महान् मार्शल आर्टिस्ट इप मानकहाँ तालिम लिन पठाइन्। मानकको तालिमबाट उनी दीक्षित भए।

पछि उनी अमेरिका गए। १८ वर्षको उमेरदेखि अमेरिकामा मार्सल आर्ट सिकाउन थाले। चिनियाँले मार्सल आर्ट सिकाएको अमेरिकनले मन पराएनन्। मार्सल आर्ट सिकाउनु अपराध भएको भन्दै उनीहरूले विरोध गरे।

६० को दशकमै मार्सल आर्ट सिकाउन २५० डलर शुल्क लिने गरेका थिए। ५० वर्षअघि १९७३ जुलाई २० मा उनको रहस्यमयी मृत्यु भएको थियो।

तर आज पनि हङकङसहित विश्वभर उनको फ्यान फलोइङ उस्तै छ। नेपालमा पनि उनका उत्तिकै फ्यान छन्। आज पनि हरेक वर्ष हङकङस्थित स्टार फेरीस्थित 'एभिन्यु अफ स्टार्स'मा प्रतिस्थापित उनको सालिकमा श्रद्धाञ्जली दिनेको भिड उस्तै हुन्छ। 

ब्रुस लीबारे जानकारी नभएको वा नसुनेको मानिस कमै होलान्। ९० को दशकमा हरेक बालबालिकाको सुपरस्टार मार्सल आर्ट किङ तथा चलचित्र अभिनेता ब्रुस लीको ३२ वर्षको उमेरमा निधन भएको थियो। तर, ३२ वर्षको उमेरमा यी व्यक्तिले संसारमा त्यो स्थान हासिल गरेका छन्, जसलाई धेरैले शताब्दी लामो समय खर्चिएर पनि आर्जन गर्न मुस्किल पर्छ।

हलिउडमा स्थापित हुन लीले ठूलो संघर्ष गर्न परेको उनकी छोरी शेननले बताएकी छन्। अभिनेताभन्दा बढी मार्सल आर्टिस्ट उनले आफ्नो जीवनकालमा ७ वटा हलिउड फिल्म खेले, जसमध्ये ३ वटा फिल्म मृत्युपश्चात्‌ मात्रै सार्वजनिक भएका थिए।

आधा शताब्दीअघि ब्रुस लीको मृत्यु हुँदा उनले मार्शल आर्ट र अभिनयमा सफलताको नयाँ अध्याय लेखिरहेका थिए। उनको मृत्युको समयमा, उनी आफ्नो कुङ फु स्कूल र सुटिङमा व्यस्त थिए। सन् १९७३ को जुलाईमा उनको निधन हुँदा न त उनी बिरामी थिए, न त कुनै समस्या नै थियो। अचानक उनको स्वास्थ्य बिग्रियो। अनि मृत्युको कारण रहस्यमै छाडेर यो संसारबाट विदा भए।

उनको मृत्युबारे धेरै किस्सा प्रचलित छन्। यदि ९० को दशकमा तपाईं चिनियाँ फिल्मको फ्यान हो भने तपाईंले पक्कै सुन्नुभएको होला, 'ब्रुस लीको हत्या उनकी प्रेमिकाले काँच खुवाएर गरेकी हुन्।' तर यो एक अफवाह हो। उनको मृत्युको गुत्थी अझै रहस्यमै छ।

कतिपयले ब्रुस लीको हत्या चिनियाँ गुण्डाहरूले गरे भन्छन् त कतिले उनको मृत्युमा पूर्वप्रेमिकाको हात रहेको दावी गर्छन्। भनिन्छ ब्रुस लीकी पूर्वप्रेमिकाले उनलाई विष दिएकी थिइन्। उनको मृत्युको एउटा कारण हेटस्ट्रोक पनि मानिएको छ। यी सबै अफवाहका बीच ब्रुस लीको मृत्युको वास्तविक कारण यति वर्षपछि पनि रहस्यमै रहेको छ। तर उनको मृत्युको कारण भने अझै अनुसन्धान भइरहेकै छ।

हालैको एक अनुसन्धानले उनको मृत्यु धेरै पानी पिएर भएको दावी गरेको छ। अनुसन्धानले अत्यधिक मात्रामा पानी पिउने, लागुऔषध र मदिरा सेवन गर्ने कारण उनको शरीर हाइपोनेट्रेमियाको सिकार भएको दावी गरेको छ। हाइपोनेट्रेमियाको अवस्थामा, शरीरमा सोडियमको मात्रा बढ्दै जाँदा रगत असंतुलित हुन्छ।

अनुसन्धानकर्ता तर्क गर्छन् कि ब्रुस ली आफ्नो आहारमा तरल चीजहरू बढी लिने गर्थे। र त्यस तरल आहार वा प्रोटिन आहारमा गाँजा अर्थात हेम्प मिसाउने गर्थे। गाँजाका कारण उनको तिर्खा झनै बढ्थ्यो र पानी बढी पिउँथे । यसबाहेक उनले मदिरा र धेरै प्रकारका पेनकिलर पनि सेवन गर्थे जसका कारण उनको मिर्गौला बिग्रिएको थियो ।

ब्रुस लीले आफ्नो आहारमा तरल पदार्थ बढी लिने गर्थे भन्ने कुरा उनीमाथि लेखिएको पुस्तकमा पनि उल्लेख गरिएको छ। उनीमाथि लेखिएको पुस्तकमा लीको मृत्यु भएको दिन उनले निरन्तर अत्यधिक पानी पिएको बताइएको छ। ब्रुस लीकी पत्नी लिन्डा ली क्याडवेलले पनि आफ्नो एक अन्तर्वार्तामा  उनी अत्यधिक गाजर र स्याउको जुस पिउने गरेको बताएकी छन्।

अनुसन्धानले यस्तो दावी गरे पनि उनका फ्यानले उक्त दावी विश्वास भने गरेका छैनन्।

तर उनको मृत्यु भएको ५० वर्ष बितिसक्दा पनि उनको कीर्तिमा कमी आएको छैन । आज पनि, जब मार्शल आर्टको कुरा आउँछ, सबैभन्दा पहिले मानिसहरू ब्रुस लीलाई सम्झिन्छन्।

सन् २०१३ मा लीको सम्झनामा हङकङको एचके हेरिटेज म्युजियममा एक प्रदर्शनी भएको थियो। पाँच वर्षसम्म चलेको उक्त प्रदर्शनीमा ब्रुस लीसँग सम्बन्धित ६०० कुराहरू प्रदर्शन गरिएको थियो।

सन् २०१२ मा आफ्ना बुवालाई सम्झँदै ब्रुस लीकी छोरी सेनन लीले उनीमाथि डकुमेन्ट्री बनाएकी छिन्। ‘आई एम ब्रुस ली’ नामको उक्त डकुमेन्ट्रीमा लीलाई मिक्सड मार्सल आर्टका पिताका रुपमा सम्बोधन गरिएको थियो।

डकुमेन्ट्री रिलिज गर्ने क्रममा लीले भनेकी थिइन्, ‘मेरो बुबाले मार्शल आर्टको सिद्ध लडाकु हुनुको बारेमा आफ्नो विचार राख्नुहुन्थ्यो, यसमा दर्शन थप्नुहुन्थ्यो र ढिलो गरी पढाउनुहुन्थ्यो।' आम जनतामाझ मार्सल आर्टलाई पुगाउने काम ब्रुस ली गरेको उनले बताइन्।

३२ वर्षको छोटो उमेरमा विश्वभर ख्याति कमाएका उनले ‘द गुड एन्ड द ओभियस', 'द बिग बोस, फिस्ट अफ फ्युरी', 'वे अफ ड्रागन' र 'इन्टर द ड्रागन' चर्चित छन्।

बीबीसीको एक रिपोर्ट अनुसार आज पनि ब्रुस ली नामको ब्राण्डले वार्षिक ५० करोड अमेरिकी डलर कमाइ गर्ने गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .