चार प्रहर रात निदाउन, घामपानीबाट ओत लागेर बच्न, जीवन गुजार्न, एउटा छतमुनिको स्थान वा समग्रमा भन्दा यो पृथ्वी ग्रहको एक चिम्टी भूभाग नै मानिसको घर हो। वनजङ्गल र गुफामै बस्ने, रमाउने मानव पनि अस्तित्वमा छन् अझै।
ओढार, टहरो, छाप्रो, झुपडी, घर, कटेरा, बङ्लो, अपार्टमेन्ट, दरबार, महल जतिसुकै मूल्यवान भए पनि ठिक आफ्नो शरीर अटाउने कफिन, जमिन वा दाउराको खलियो नै मानव जीवनका अन्तिम र स्थायी बासस्थान हुन्।
त्यसो भएरै ओशोले भनेका थिए, ‘बुद्ध ने महलका त्याग किया शांति की तलास मे, और हम शांति का त्याग कर रहे हैँ महल की तलास मे।’
कुरा सही भए पनि विकास, उन्नति र धनदौलतप्रेमीहरुलाई भने यस्ता कुराले खासै असर पर्दैन।
उनीहरूको तर्कमा सबै बुद्ध भैदिए, बन्दिए भने पनि यो संसार चल्दैन, अनि कहाँबाट विकास, समृद्धि र सुखसुविधा आउँछ? त्यसैले अहिलेलाई ओशो र बुद्धलाई एकछिन बिर्सेर यही विषयवस्तुतिर लागौँ।
पछिल्लो समय त मान्छेहरु जल अर्थात् अत्याधुनिक आरामदायी याट, आकाश अर्थात् बुर्जखलिफाजस्ता गगनचुम्बी अपार्टमेन्टदेखि अन्तरिक्षमा समेत बस्न सुरु गरेका छन्।
जसमध्ये उमेरले पाँच दशक नाघेका ३ जना चिनियाँ अन्तरिक्ष बैज्ञानिकहरु तिएनगुङ अन्तरिक्ष स्टेसनबाट ६ महिनापछि हालसालै पृथ्वीको सतहमा ओर्लेका छन् भने अर्को समूह त्यता लागेको छ फेरि।
अमेरिका लगायत पश्चिमा शक्तिहरु फुटाऊ र शासन गर अनि हतियार बेच भन्ने पुरानै सूत्रमा दाउ लगाउँदै छन् अझै। चिनियाँहरुले हाम्रो स्वस्थानी कथामा विश्वकर्माले स्थापना गरेका भनिएजस्तै पृथ्वी ग्रहबाट करिब ४०० किमिमाथि मध्य आकासमा अभेद्य स्पेस स्टेसन बनाइसकेका छन्।
जसले हङकङ र चीनमा रहेका अन्तरिक्ष विज्ञानमा चासो राख्ने नयाँ पुस्तालाई त्यहीँबाटै प्रशिक्षण सहित सूचना र अनुभव बाँड्न पनि सुरु भैसकेको छ। संसारमा चुच्चो नाक, ठूलो आँखा, गोरो छाला र कैलो कपाल भएकाहरु मात्र दिमागमा अब्बल र चलाख हुन्छन् भन्ने सोचाइ विस्थापित भएको छ पछिल्लो समय।
अब प्रसंग पृथ्वी ग्रहकै।
हालसालै मूलभूमि चीनमा समाहित भएको २६ औँ वार्षिकोत्सव धुमधामसँग मनाएको हङकङ ब्रिटिसकालदेखि नै संसारकै महङ्गो बासस्थान भएका सहरहरुमध्ये एक हो।
मसँगै सामाजिक सञ्जालमा जोडिएका कवि तथा फोटोग्राफर मित्र नेत्र जुनकिरीले मिठो हाइकु सहित दुई वटा गगनचुम्बी भवनको तस्बिर पोस्ट गरे, आफ्नो फेसबुक वालमा केही समयअगाडि। मुख्य हङकङ द्वीपको ह्याप्पी भ्यालीमाथि तासको पत्तीझैँ ठडिएका यी जोडी भवनहरुलाई म जहिल्यै त्यो बाटो हिँड्दा आँखा नझिम्क्याई हेर्ने गर्छु। चपस्टिक टावर भनेर चिनिने यी दुवै भवनका अपार्टमेन्टहरु हङकङकै महङ्गा र लक्जरियसमा गनिन्छन्।
भिक्टोरिया पिकको सेरोफेरो, रिपल्स बे, डिप वाटर बे, जार्डिन लुक आउट, माउन्ट निकल्सन, सुसन हिल, ताइ ताम, कादुरी हिल, स्टेनली, हङकङका अति महङ्गा बसोबास क्षेत्रमा पर्छन्।
हङकङको भिक्टोरिया पिकको बार्कर रोडलाई विश्वकै सबैभन्दा महंगो गल्लीमध्ये एक भनिन्छ। ‘१.५ बिलियन म्यान्सन’ भनिने यहाँको एउटा बङ्लोका धनी अलिबाबाका संस्थापक ज्याक माले हालसालै नेपालको आकस्मिक भ्रमण गरेका थिए।
ज्याक माका छिमेकी बन्न चाहने अर्का चिनियाँ खर्बपतिले २ लाख ५५ हजार हङकङ डलर पर स्क्वायर फिटको भाउमा यही रोडमा किनेको अर्को १.३ अर्ब हङकङ डलरको बङ्लो हङकङको प्रपर्टी समाचारमा चर्चाको विषय बन्यो।
केही महिनाअगाडि रिपल्स बे, ताइताममाथिको डाँडो हुदै स्टेन्लीसम्मको पदयात्रामा हङकङका अर्का चर्चित धनाढ्यको बङ्लो अलि टाढैबाट हेर्ने अवसर मिल्यो। एकजना सहयात्री मित्रका अनुसार आन्तरिक डिजाइनको रुपरेखा तयार गर्नेले मात्रै ९ मिलियन हङकङ डलर लिएको भनिने यो बङ्लो बाहिरबाट हेर्दा भने सामान्य नै लाग्छ।
हङकङको अर्को महङ्गो बसोबास स्थान काउलुन तोङमा भारतीय मूलका धनाढ्य हरिलेला खान्दानको ९० जनाको संयुक्त परिवार बस्ने ३० वटा अपार्टमेन्ट भएको ५० हजार स्क्वायर फिटको बङ्लोबारे मैले पुराना लेखमा चर्चा गरिसकेको छु। यो बङ्लोको बारेमा हङकङको पर्ल टेलिभिजनले बनाएको विशेष डकुमेन्ट्री हेरेको थिएँ उहिल्यै।
यी त केही प्रतिनिधि उदाहरण मात्र हुन्। सबै लेख्न थाले यो लेख धेरै तन्किन सक्छ। प्रपर्टीको स्थान र मूल्यको यसरी यति धेरै चर्चापरिचर्चा हुने हङकङ सहरमा धेरै नेपाली मूलकाहरु पनि पछिल्लो समय घरधनी र घरभेटीमा रुपान्तरण भैसकेका छन। जसमा माथि उल्लिखित स्थान वा मूल्यको नभए पनि हङकङका अन्य ऐतिहासिकदेखि आधुनिक अपार्टमेन्टहरुमा नेपालीहरुको उपस्थिति दिनानुदिन बढदै छ पछिल्लो समय।
पछिल्लो एउटा लेखमा मैले हङकङका कुनाकुनाका हरेक भूगोलमा नेपाली रेस्टुरेन्ट व्यवसायीहरुले उपस्थिति जनाएको विषयमा चर्चा गरेको थिएँ।
तर त्यो भन्दा धेरै गुना ज्यादा हङकङे नेपालीहरुले प्रपर्टी ओनरको रुपमा आफूलाई स्थापित गरिसकेका छन्।
सन् २००० को सेरोफेरोमा हङकङमा अपार्टमेन्ट किन्ने नेपालीहरु एकडेढ दर्जन सेरोफेरोमा मात्र थिए। जसमा मलाई जानकारी भए अनुसार रोशन शाक्य, त्रिलोक विश्वकर्मा, अशोक श्रेष्ठ, दिपक खड्का, कालु घले, प्रितम श्रेष्ठ, तेजबहादुर राई, खेम गुरुङ, जगन्नाथ ज्ञवाली, शिवकुमार शाह, विद्या राई–धन थापा, अरुणा–कुलप्रसाद गुरुङसँगैको हारमा म पनि बेन्जु गौतमसँगै उभिएको थिएँ। यसमा अझै छुटेका पनि हुनसक्छन्।
अहिले दुई दशकपछि आइपुग्दा हङकङमा निजी र सरकारको होम ओनरसिप स्किम समेत गरेर करिब ६ देखि ८ सयसम्म नेपालीहरुले घर किनिसकेको अनुमान लगाउँछन् एक्युट कन्सलटेन्सीका प्रबन्धकद्वय इन्द्र बनेम र डासुराम पराजुली।
‘सङ्गते जायते फलम्’ भनेझैँ आआफ्ना साथीभाइ, इष्टमित्रहरूले फ्ल्याट किन्दै सर्दै गएको सुन्दै गएपछि झन् पछिल्लो समय त नेपालको चलअचल सम्पत्ति समेत ल्याएर बेलायत तथा हङकङमा आवास किन्ने नेपालीहरुको संख्या निकै बढेको बताउँछन् फिस्टेल टुर एन्ड ट्राभल्स तथा केएमई रेमिट्यान्सका सञ्चालक कृष्णप्रसाद पाण्डे।
आजकल हङकङमा पदयात्राको हरेक भूगोलमा नेपालीहरुको स्वामित्वको अपार्टमेन्ट भएका आवास भवनहरु देख्दा खुसी र गौरव लाग्छ मलाई।
मेरो निजी अनुभवमा लान्ताउ द्वीपको टाइगर हेडदेखि चिङ्मा ब्रिजको पश्चिमपट्टिको थुम्कोसम्मको पदमार्गको गोरेटो सबैभन्दा धेरै नेपाली घरधुरीहरु देखिने ठाउँ हो।
यो स्थानबाट देखिने चिङ्मा ब्रिजको देब्रेपट्टिको पार्क आइल्यान्ड हङकङमा डिस्कभरी बेपछिको दोस्रो वातावरण मैत्री सहर हो। हङकङको चर्चित सन हुङ केद्वारा सन् २००६ मा निर्माण सम्पन्न यो बसोबास क्षेत्रको बङ्लो अपार्टमेन्टमा नेपाली मूलको उपस्थिति मात्र भएको छैन, यहीँ नै दुई वटा र अन्य हङकङका भूगोलमा आधा दर्जन अपार्टमेन्टका घरभेटी बनिसकेका एक मित्रलाई हङकङमा कहीँकतै आसन, भाषण, खादा मालामा नदेखिने भएकाले कमै नेपालीहरुले चिन्छन्।
यसको ठिक समुद्रपारि मे फु सुन चुम भनिने बस्ती सन् ७० को दशकमा बन्दाताक संसारकै सबैभन्दा ठूलो प्राइभेट हाउजिङ थियो। एमटीआरसी अर्थात् हङकङको भूमिगत रेल सञ्जालले निर्माण गरेको यो बस्तीमा ९९ वटा टावर र १३ हजार ५ सय अपार्टमेन्ट छन्। यो ऐतिहासिक हाउजिङ स्टेटमा क्रमशः लमजुङ र संखुवासभा पुख्र्यौली थातथलो भएका मेरा दुई नेपाली मित्रहरूले नेपाली झण्डा फहराएको दशकौँ भैसकेको छ।
यसको नजिकै नयाँ विकास भएको नोब हिल, म्यानहटन हिल, बन्यान ट्री गार्डेन र द प्यासफिकमा पनि नेपाली मूलकाले लालपुर्जा दर्ता गरिसकेका छन्।
यसको पश्चिमपट्टिको हेन्डर्सन ल्यान्डको मेट्रो हार्बर भ्युमा गुड मर्निङ र चौसान सङै सेवारो, नमस्कार पनि सुनिन्छ आजकल।
अर्को चर्चित ओलम्पियन सिटीमा नेपाली घरधुरी सहित हङकङको महङ्गोमध्ये एक वेस्ट काउलुन रेल स्टेसनमाथिको एलिमेन्ट्स अपार्टमेन्टका घरभेटी समेत बनिसकेका पर्वत जन्मथलो भएका मित्रसँग भेटघाट पातलिएको छ आजकल।
यी बसोबास क्षेत्रको दक्षिणपूर्वमाथि पहाडी थुम्कोमा बनेको वन्डरल्यान्ड भिल्लालाई म हङकङको ह्वाइट हाउस भन्ने गर्छु।
हेन्डरसन ल्यान्ड र सन हुङकेले संयुक्त साझेदारीमा निर्माण गरेको यो बस्ती हङकङमा पदयात्राका सबैभन्दा धेरै स्थानबाट देखिने भवन हो। जहाँका २२ वटा टावरका १५०० अपार्टमेन्टहरुमध्ये ३ वटामा बिहान बेलुकी पूजा आरतीका शंखघण्ट र भजन सुनिन थालेको दशकौं भएको छ।
गुल्मी, अर्घाखाँची र काठमाडौं पैत्रिक थलो भएका मित्रहरूको यो त्रिवेणी बसोबास स्थान सन् ८० को दशकताका कार पार्क, क्लब हाउस, स्विमिङ पुल, जिम, खेलकुद सुविधा सहितको लक्जरियस अपार्टमेन्टमा गनिनेमध्येको एक थियो।
यसको मुनि हाइल्यान्ड पार्क र निना वाङको सहर उपनाम पाएको चुनवानमा दर्जनौं नेपाली घरधनी र घरभेटी बनिसकेका छन्। जसमध्ये ७/८ वटा अफिस, कारपार्क र अपार्टमेन्टका घरभेटी बनिसकेका अर्का एकजना मित्रले नाम भने उल्लेख नगर्न अनुरोध गरेपछि मैले राखिनँ।
काउलुन र तुङचुङ सेरोफेरोमा यस्तैगरी अफिस, अपार्टमेन्ट र ग्राउन्ड फ्लोरकै सटर समेत गरी झण्डै दर्जन छुनै लागेका पूर्वी नेपालकै अर्का जनजाति मूलका मित्रले पनि यो लेखमा नाम राख्न अनिच्छा प्रकट गरे।
चुनवानबाट दाहिने समुद्रको छेउ हुँदै पुगिने सामछेङ खानपिनका पारखीहरुको लागि एउटा विशेष ठाउँ हो हङकङमा।
क्यान्टोनिज खानाको विभिन्न परिकारमध्ये रोस्ट गुज, डक र पोर्कको लागि प्रसिद्ध यो ठाउँमा दिनभरिको पदयात्रापछि यी सितनहरुसँग चिसो बियर पिउनुको मजा बयान गरिसाध्य छैन्।
यहाँको राइनो गार्डेन र बेलाजी गार्डेनमा स्वदेशका बागलुङ, पाल्पाको प्रतिनिधित्व गर्दै घरभेटी बनिसकेका मित्रहरू छन्।
सामछेङपछिको अर्को समुद्र किनारको बस्ती हङकङ गार्डेन अल्पायुमै निधन भएकी हङकङकी सबैभन्दा धनी महिला निना वाङको चर्चित चाइना चिमले डेभलप गरेको हो।
जहाँ सी क्रेस्टको बार्दलीमा उभिएर लमतन्न समुद्र, चिङमा ब्रिज, चिङ यी पर्वतीय श्रृङ्खला र लान्ताउ पिकसम्मको सूर्यास्त हेर्दै सपरिवार पाल्पा कुसुम खोलाको अतीतमा हराउँछन् मेरा अर्का पारिवारिक मित्र। अझ चिङमा ब्रिजबाट ओहोरदोहोर गर्दा ‘बाउ, ऊ दीपमालाको घर’ भनेर सधैँ औँलाले देखाउँछिन् छोरी काया।
यसपछिको अर्को ब्रिटिसकालदेखिकै चर्चित बस्ती गोल्डकोस्टमा समेत सानोतिनो नेपाल नै बनिसकेको छ पछिल्लो समय।
यहाँको समुद्री तट जलक्रिडा र पिकनिकको लागि धेरैको रोजाइमा पर्छ। अझ खासगरी युरोपेलीहरुले बस्न रुचाउने बोट हाउसको लागि पनि यो ठाउँ प्रसिद्ध छ। जहाँका अत्याधुनिक जापानी शैलीको रिसोर्टको लो राइज एभिङ्गन, नापा र लिपोन्ट नाम गरेका आवास भवनहरुका बगैँचा र क्लब हाउसहरुमा दोलखा, गुल्मी र वीरगञ्जका नाति पुस्ताका बालगोपालहरु खेलेको नाचेको देख्न पाइन्छ आजकल।
गोल्ड कोस्टनजिकैको उत्तरपूर्वी न्यु टेरेटरीमा पर्ने चुनमुनमा इतिहासको एउटा कालखण्डमा मूलभूमिबाट आएका ताङ्का जातिका माझी आदिवासीहरुले बस्ती बसालेका थिए। जुन अहिले एउटा घना आवादी भएको अत्याधुनिक सहर बनिसकेको छ।
जहाँका भीसीटी, जेसी प्यालेस, चिलोक गार्डेन्, भिल्ला टिएरा लगायतमा नेपाली मूलका आधा दर्जन ल्यान्डलर्डहरु थपिँदै गएको बताउँछन् भर्खरै कान्छो घरधनी बनेका चुनमुन करी हाउसका सञ्चालक रजनीश भट्टराई। चुनमुन नेपाली एसोसिएसन भन्ने सामूहिक नेपाली संस्था पनि छ यहाँ।
हङकङको अर्को मिनी नेपाल भनिने युनलुङ काम्तिनका गगनचुम्बी आवास भवनदेखि २/३ तले भिलेज हाउस सबैको ल्यान्डलर्ड बनेका धेरैको नालीबेली लेख्न थाले पाठकहरुलाई पट्यार लाग्न सक्छ।
जे होस् छोटकरीमै भन्दा पनि द एक्सपेक्ट्रा एट, सोल सिटी, यो हो टाउन, मिड टाउन, हो किन विल्डिङ लगायत धेरै अपार्टमेन्टमा नेपाली साहुहरुको नाम दर्ता भैसकेको छ। जहाँबाट नेपालीहरुको खाना डेलिभरीको अर्डर आउँदा खुसी लाग्ने बताउँछन् युनलुङका अर्का घरधनी तथा श्रृङ्खला करी हाउसका सञ्चालक कृष्ण खड्का।
यसपछिको अर्को नेपाली घना आवादी भएको बस्ती तिन सुइ वाइका लक उड, चेस उड, किङ्स उड, सेर उडको घरका लिफ्टहरु, टेनिस, ब्याडमिन्टन कोर्ट र गार्डेन सेरोफेरोमा धेरै नै सेवारो, छ्याजोला, सेवा चेमुनासँगै जोजोलोप्पा र नमस्कार भन्दै अभिवादन गरेको सुनिन्छ आजकल।
यीमध्येको लकउड कोर्टको एउटा टावरमा मात्रै करिब डेढ दर्जन बढी नेपालीहरुले प्रोपर्टी किनेको बताउँछन् यहीँकै संखुवासभाली घरधनी मित्र कर्ण कोरङ्गी।
यसपछिको हङकङ वेटल्यान्ड पार्क नजिकै भियानी कोभको बाल्कोनीमा अर्जेन्टाइन वाइनको चुस्की लिएर घर अगाडिको रग्बी कोर्ट र स्विमिङ पुल हेर्दै स्याङ्जा रामबाच्छाको वालिङ मैदान, बगुवा फाँट र आँधिखोलाको नीलो दहको अतीतमा डुबुल्की मार्छन मेरो अर्का पारिवारिक मित्र।
नजिकैको सेन्ट्रल पार्क एन्ड टावरमा स्वदेशको पाल्पा जिल्लाबाट आएर हङकङे घरधनीमा नाम लेखाइ सकेका छन् अर्का एक मित्रले।
यसपछिका अन्य बस्तीहरुमा क्रमशः फानलिङ, ताइपो सातिन, सङ सुइ, साइकुङमा समेत पातलै भए पनि नेपालीहरुले घरधनीका रुपमा उपस्थिति जनाइसकेका छन्।
यसैगरी चुङक्वान ओ र हालसालै सुरुङ मार्ग र समुद्री पुलले समेत जाने बाटो र समय छोट्याएको हङकङको अर्को चर्चित प्रपर्टी लोहास पार्कका टावरहरु ली प्रेस्टिज, क्यापिटल, सिभ्यु मोन्ट र एलपी सिक्सका अपार्टमेन्टहरुमा खोटाङ, बागलुङ, चितवन र भोजपुरका पहिलो, दोस्रो र तेस्रो पुस्ताहरुको समेत चहलपहल बढिसकेको धेरै भयो।
यसैगरी काउलुन सिटी, डाइमन्ड हिल, पुरानो काइताक एअरपोर्टको सेरोफेरोमा काइताक वन, काउलुन गार्डेन र डेनोभा टावरलगायतमा भोजपुर, पाँचथर, मोरङ, लमजुङ, चितवन, सिन्धुपाल्चोक र काभ्रे जिल्लाका मित्रहरूले हाजिरी गरिसकेका छन्।
यसको छिमेकी अर्को चर्चित बस्ती वाम्पुवा गार्डेनलाई लिका सिङ कोलोनी उपनामले पनि पुकारिन्छ।
१२ स्टेटका ८८ वटा टावरको बीचमा हङकङमा एक मात्र विशाल पानीजहाज आकारको सपिङ आर्केड यहाँको अर्को विशेषता हो। सन् ८० को दशकमा बनेको यो स्टेटमा पुख्र्यौली कास्की र गोर्खा जिल्लाबासीहरु बाहेक सेरोफेरोमा अन्य जिल्लाका गरि ६/७ नेपाली घरधुरी छन्।
यहाँको ब्याम्बु म्यान्सनको एउटा अपार्टमेन्टमा गिरिजाप्रसाद, सुशील र सुजाता कोइरालादेखि धनराज गुरुङ र विश्वप्रकाश शर्मासम्मले हातमुख जोडेकोले यो घरलाई हङकङको चाक्सीबारी भनेर हाँसो गर्छु म जहिल्यै यी घरधनी जोडीकहाँ जाँदा।
यसपछि जोर्डन, याउमा तेइ बाक्लो संख्यामा नेपालीहरु घरधनी बनेको अर्को ठाउँ हो। अस्टिन एभेन्यु, क्यान्टन रोड, टेम्पल स्ट्रिट, साङघाइ स्ट्रिट हिलउड रोड, भिक्टोरिया टावर र क्यामरन रोडमा त घरधनीको रुपमा चीरपरिचित मित्रहरुनै धेरै छन्।
हङकङमै सबैभन्दा धेरै नेपालीहरु ल्यान्डलर्ड बनेको चुङकिङ म्यान्सनबारे मैले पछिल्लो लेखमा चर्चा गरेको थिएँ।
मुख्य हङकङ द्वीपको केनेडी टाउनदेखि नर्थ प्वाइन्टसम्म १२/१५ घर त मेरा हङकङमा समकालीन मित्रहरूले नै छत जोडिसकेका छन्। फोट्रेस हिलदेखि चाइवान सिउ साइ वान हुँदै एबर्डिनसम्म सामाजिक सञ्जालमा शुभकामना सहित हाउस वार्मिङको तस्बिर अक्सर आउन थालेको छ पछिल्लो समय।
लान्ताउ आइल्यान्डको दक्षिणपूर्वमा पर्ने ऐतिहासिक मुइ ओ बस्तीमा पनि नेपाली मूलको उपस्थिति बाक्लिँदै गएको छ आजकल। निजी र हाउजिङ अथोरिटीको होम ओनरसिप स्किम अन्तरगत करिब डेढ दर्जन जति नेपालीहरुले प्रपर्टी स्वामित्व लिइसकेको बताउँछन् स्थानीय काठमाण्डु स्टोरका सञ्चालक अमर लामा।
लान्ताउ द्वीपको तुङचुङलाई हङकङकै मूलढोका भनिन्छ। हङकङ विमानस्थल समुद्रपारिको यो बस्ती बसेको करिब अढाई दशक मात्र हुँदै छ। यद्यपि करिब २/३ सय वर्षअगाडिका ऐतिहासिक किल्ला र पुरानो माझीगाउँका अवशेषहरु पनि यथावत छन् अझै तुङचुङदेखि ताइओकै सेरोफेरोसम्म।
अत्याधुनिक सुविधासम्पन्न र चुस्त व्यवस्थापन भएका यी आवास भवनहरुमा क्रमश तुङचुङ क्रिसेन्ट, सी भ्यु क्रिसेन्ट, ला रोजा, ला ब्लुडे, कोस्टल स्काइलाइन, क्यारेबियन कोस्ट भिजनरी, सेन्चुरी लिंकसम्ममा जन्मदेशका भोजपुर, संखुवासभा, गुल्मी, स्याङ्जा, धादिङ, सोलुखुम्बु, बुटवल, अर्घाखाँची, धरान, ललितपुर हरिसिद्दी र लमजुङे छिमेकीहरु जमिसकेका छन्।
अझ तुङ चुङ सेराटन होटलनजिकै हङकङको गृह मामिला विभागको घरधनी विशेष परियोजना अन्तर्गत बनेको यु नाङ कोर्टमा करिब डेढदुई सय नेपालीहरु सरेकोबारे मैले पुरानो लेखमा पनि उल्लेख गरेको थिएँ।
नर्थ लान्ताउ हस्पिटलनजिकै यही स्किमको अर्को यु ताइ कोर्टमा करिब दुई दर्जन नेपाली परिवारहरु सरिसकेका बताउँछन् घरधनीमध्येका एकजना मानशेर राई।
यु नाङ कोर्टका नयाँ बासिन्दा मित्र नरेन शेर्पा जातीय, क्षेत्रीय र जिल्लाको हिसाबले हङकङमा सबैभन्दा बढी नेपालीहरु बसोबास भएको समावेशी बस्ती मान्छन् तुङचुङलाई।
यो ठाउँको अर्को विशेषता भनेको क्लब हाउसका जिम हल, स्पा, साउना, स्विमिङ पुलजस्ता कृत्रिम आधुनिकता बिर्सेर बिहान उठेर गोरेटो हिँड्दै ठाडो खोलाको दहमा नुहाएर, पौडी खेलेर, चिया उमाल्नेदेखि भात पकाउने पानीसम्म बोकेर ल्याउन सक्छन् सजिलै जाँगर हुनेहरुले। सधैँ साइकलमा जर्किन बोकेर पानी लिन जाने स्थानीय चिनियाँहरुको लर्को देख्दा यो पनि हङकङ हो र भन्ने लाग्छ। यद्यपि हङकङका अपार्टमेन्टमा चौबीसै घण्टा आउने पानी संसारमै सस्तो र विश्व स्वास्थ संगठनको मापदण्डअनुसार नउमाली पनि पिउन सुरक्षित मानिन्छ।
हिँड्ने जाँगर भएका वा प्रकृतिप्रेमीहरुको लागि अनगिन्ती पदमार्ग पनि छन् यहाँ।
हङकङमा रहेका करिब २५/३० हजार नेपालीमध्येका पनि ५/७ सय जनामा मलाई नजिकै जानकारी भए अनुसारको मात्रै मैले यो लेखमा समेट्न समर्थ भएको छु।
अझ आवास भवनबाहेक आफ्नै प्रपर्टीको स्वामित्वमा व्यवसाय सञ्चालन गर्नेहरु केएमई फाइनान्स रेमिट्यान्स, फिस्टेल टुर एन्ड ट्राभल्स, हिमालयन ट्राभल्स, पारामाउन्ट इन्जिनियरिङ, काष्ठमण्डप फाइनान्स, सम्मान इन्जिनियरिङ, टीना ग्लोबल एचके लिमिटेड, गोर्खा गार्ड, सुनकोसी गोर्खा र कोने इन्जिनियरिङबारे मैले पुराना लेखमा उल्लेख गरेको छु।
कुनै समयमा हङकङमा साउथ एसियन वा नेपालीहरुलाई घरअफिस भाडामा दिन आनाकानी गर्थे र अझै गर्छन् स्थानीयहरुले। जसको भुक्तभोगी म पनि हुँ। तर आजको दिनमा स्थानीय चिनियाँ र अन्य विदेशीलाई समेत घरअफिस भाडामा लगाउने हैसियत राख्ने नेपाली समुदाय बढ्दै जानु खुसी र गर्वको कुरा हो।
हङकङमा यति धेरै प्रपर्टी किन्दा अनिवार्य तिर्नुपर्ने रजिस्ट्रेसन दस्तुर अथवा स्ट्याम्प ड्युटीको लेखाजोखा गर्ने हो भने कति होला? अझ वर्षेनि त्रैमासिक रुपमा सरकारलाई अनिवार्य तिर्नुपर्ने रेन्ट र रेट्सको हिसाबकिताब त छँदैछ। उहिले घरभाडा तिर्नेजति अहिले मेनेजमेन्ट फी तिरिन्छ। हङकङ सरकारलाई हेर है हामी यहाँ लिन मात्रै हैन, दिन पनि आएका हौँ भनेर सम्झाउने बुझाउने कसले?
हङकङमा घर–अफिस किन्नु भनेको धुमधामै उन्नति गरिएको भन्न खोजेको पनि होइन। हङकङमा नेपाली मूलकाहरु अब क्रमशः स्थायी रुपमै स्थानान्तरण हुँदै गरेको एउटा दस्तावेजको प्रमाण पनि हो यो लेख। जुन अभिलेख इतिहासमा चाख राख्ने नयाँ पुस्ताकाले पनि पढ्न, जान्न सक्छन्।
हङकङमा मेहनत पसिना बगाएको कमाइले यहीँ नकिनी बेलायतमा घर किन्ने, अनि नेपालमै करोडौं बैंक ब्यालेन्स, घर जग्गा, पसलका सटरदेखि विभिन्न क्षेत्रमा लगानी गरेर आफ्नो र आफ्ना सन्तानको भविष्य सुरक्षित गर्ने प्रशस्तै हङकङे नेपालीहरु पनि मैले देखेको छु। कहाँ कुन देशमा बचत राख्ने, किन्ने भन्ने आआफ्नो इच्छा, चाहना र अनुकूलता हो।
जे होस् मात्र अढाई दशकको समयमा खालीहात यो भूमि टेकेर मेहनत, पसिनाको कमाइले हङकङमा यति धेरै उपलब्धि उन्नति अनि स्वदेशमा बैंक ब्यालेन्स, चलअचल सम्पत्ति, पारिवारिक शिक्षादीक्षादेखि अझ निस्वार्थ भावनाले परोपकारी पूण्यकर्ममा समेत लागेका सबै अग्रणी हङकङे नेपालीहरुलाई हार्दिक बधाई, शुभकामना र नमन!
Shares
प्रतिक्रिया