प्रतिभाशाली विद्यार्थीलाई हङकङमा पीएचडी फेलोसिपको अवसर

वार्षिक झन्डै साढे तीन लाख छात्रवृत्ति
प्रतिभाशाली विद्यार्थीलाई हङकङमा पीएचडी फेलोसिपको अवसर

नेपालखबर
भदौ ५, २०८० मंगलबार १३:४४, हङकङ

हङकङको रिसर्च ग्रान्ट्स काउन्सिल (आरजीसी)ले पीएचडी फेलोसिप मागेको छ।

विश्वका उत्कृष्ट र प्रतिभाशाली विद्यार्थीलाई हङकङका विश्वविद्यालयहरूमा पीएचडी अध्ययन गर्न आकर्षित गर्ने लक्ष्यका साथ काउन्सिलले उक्त योजना अघि सारेको हो।

आवेदन जुनसुकै देशको प्रतिनिधित्व गर्ने आवेदकले पनि दिन सक्नेछन्। साथै, उनीहरूको पूर्व कामको अनुभव र जातीय पृष्ठभूमिलाई पनि यसमा छनोटको आधार बनाइने छैन।

आवेदक पूर्णकालीन फेलोसिपमा भने प्रतिबद्ध हुनुपर्नेछ।

फेलोसिपका लागि काउन्सिलले आठ वटा विश्वविद्यालय तोकेको छ।

जसमा सिटी युनिभर्सिटी अफ हङकङ, हङकङ बाप्टिस्ट युनिभर्सिटी, लिङ्नान युनिभर्सिटी, द चाइनिज युनिभर्सिटी अफ हङकङ, द एजुकेसन युभर्सिटी अफ हङकङ, द हङकङ पोलिटेक्निक युनिभर्सिटी, द हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र द युनिभर्सिटी अफ हङकङ रहेका छन्।

आवेदकहरूमध्येबाट छनोटका लागि केही मापदण्ड तोकिएको छ। यसमा उत्कृष्ट प्रदर्शन गर्नेहरू छनोटमा पर्नेछन्।

मापदण्डबाट सर्टलिस्टमा परेका आवेदकहरूमध्येबाट अन्तिम छनोटका लागि दुई छनोट प्यानलमा पठाइनेछ।

दुई प्यानलमध्ये तिनीहरूको अध्ययन क्षेत्रको विषय र यस विषयसँग सम्बन्धित विशेषज्ञहरू रहेको प्यानलले सर्टलिस्टबाट आवेदकहरूलाई अन्तिम छनोट गर्नेछ।

शैक्षिक उत्कृष्टता, अनुसन्धान क्षमता र सम्भाव्यता, सञ्चार र पारस्परिक कौशल तथा नेतृत्व क्षमतालाई प्यानलले मुख्य छनोटको आधार बनाउनेछ।

अन्तिम छनोटको अधिकार राख्ने एउटा प्यानल विज्ञान, चिकित्सा, इन्जिनियरिङ र प्रविधि हो भने अर्को मानविकी, सामाजिक विज्ञान र व्यापार अध्ययन हो।

फेलोसिपको कोटा ३०० रहेको छ र यो शैक्षिक सत्र सन् २०२४/२५ लाई प्रदान गरिनेछ। हङकङका विश्वविद्यालयहरूमा सामान्यतया सेप्टेम्बरबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ।

फेलोसिप प्राप्त गर्ने विद्यार्थीले वार्षिक रूपमा तीन लाख ३१ हजार दुई सय हङकङ डलर (४२ हजार ४६० यूएस डलर) छात्रवृत्ति र १३ हजार आठ सय हङकङ डलर (१ हजार ७६० यूएस डलर) सम्मेलन तथा अनुसन्धान सम्बन्धित यात्रा भत्ता पाउनेछन्। फेलोसिप तीन वर्षका लागि प्रदान गरिनेछ।

आवेदन १ सेप्टेम्बरदेखि १ डिसेम्बर २०२३ सम्म दिन सकिनेछ।

यदि कुनै सहभागीलाई पीएचडी पूरा गर्न तीन वर्षभन्दा बढी समय लाग्ने भएमा सम्बन्धित विश्वविद्यालयले अतिरिक्त सहयोग गर्न सक्नेछन्। यसको विस्तृत विवरण भने सम्बन्धित विश्वविद्यालयबाटै लिन काउन्सिलले भनेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .