तलब नपाएपछि गुर्खाज कन्स्ट्रक्सन हङकङका कर्मचारी प्रकाश पुनमाथि खनिए

तलब नपाएपछि गुर्खाज कन्स्ट्रक्सन हङकङका कर्मचारी प्रकाश पुनमाथि खनिए

कामदारहरूलाई ‘कन्भिन्स’ गर्ने क्रममा प्रकाश पुन (बायाँ छेउ) र उनलाई घेर्न आइपुगेका कर्मचारी। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
भदौ ७, २०८० बिहिबार १८:३६, हङकङ

हङकङको काउलुनस्थित चेङशावानमा अवस्थित गुर्खाज कन्स्ट्रक्सन लिमिटेडले तलब नदिएको भन्दै त्यहाँ कार्यरत कामदार आन्दोलित भएका छन्।

लामो समयदेखि पैसा नपाएको भन्दै उनीहरूले अब पनि भुक्तानी नदिए काम नगर्ने भन्दै कन्स्ट्रक्सन साइटमै नाराबाजी गरेका थिए।

कामदार जति आन्दोलित भएर कन्टेनरमै बसिदिएपछि कम्पनीका मालिक प्रकाश पुन स्वयंले कामदारलाई सम्झाउने प्रयत्न गरेका थिए।

कामदारले समयमा तलब नदिएको र एमपीएफ (सञ्चय कोष) समेत खाइदिएको आरोप पुनमाथि लगाएका छन्।

हडतालमा उत्रिएका कामदारहरूले खिचेका भिडिओमा कम्पनीका मालिक प्रकाश पुनले भने ‘पेमेन्ट’मा कुनै समस्या नरहेको र जतिसक्दो चाँडो तलब दिइने भन्दै कामदारहरूलाई काममा जान आग्रह गरेको देखिन्छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको उक्त भिडिओमा कम्पनीका मालिक प्रकाश पुन कामदारहरूले घेरिएका छन्। तर उनीहरुले हड्तालमा उत्रिएका कामदारहरूलाई ‘कन्भिन्स’ गर्न खोजिरहेका छन्।

उनले भनेका छन्, ‘तपाईंंहरू सबै मेरो पारिवारिक सदस्य हो। कामदारहरू हाम्रा परिवारका सदस्य हुन्। त्यसैले चिन्ता लिनु पर्दैन, पेमेन्ट चाँडै हुन्छ।’

भिडिओ खिचिरहेको थाहा पाएर होला पुनले सुरुमा यी कुरा अंग्रेजीमा भनिरहेका हुन्छन्। यत्तिकैमा पृष्ठभूमिबाट एक जना अंग्रेजीबाटै कराउँछन्, ‘तपाईंले धेरै पटक यही भनिरहनुभएको छ र पहिल्यै पनि पूरा पेमेन्ट दिन्छु भनी ‘प्रमिस’ गरिसक्नुभएको छ। खै त त्यो?’

तर कम्पनीका मालिक पुनले भने ‘कहिले भनेँ?’ भन्दै आफूले जीवनमै कहिल्यै झुटो नबोलेको र आफ्नो बिजनेसको १३ वर्षको करिअरमा कसैलाई ‘चिट’ नगरेको भन्दै कामदारलाई सम्झाउन खोजिरहेका छन्।

उनले बारम्बार ‘वर्कस आवर फेमिली मेम्बर’ भनिरहन्छन्। उनले बोलिरहँदा पृष्ठभूमिबाट फेरि कसैले ‘कहिले आउँछ त पेमेन्ट?’ भन्दै सोध्छ।

उनले सबै मिल्यो भने दुई दिनपछि १० तारिखमा सबैको ‘फुल पेमेन्ट’ दिने वाचा गर्छन्।

तर कामदारहरूले उनको कुरामा चित्त नबुझाई आफूहरू पनि काम नगरी यत्तिकै बस्ने बताउँछन्।

पुनको कुरा सुन्दा कम्पनीले पैसा नदिएको हुनाले उनले कामदारलाई समयमा तलब दिन नसकिरहेको जस्तो देखिन्छ । यही कुरा उनले कामदारहरूलाई ‘कन्भिन्स’ गर्न खोजिरहेका छन्। पुन भन्छन्, ‘अहिले सबै काममा जानू।’ तर, कामदारले ‘हुँदैन’ भन्दै हल्ला गरेको सुन्न सकिन्छ।

पुनको केही नचलेपछि उनी ‘अहिले सबै काममा जानू बाँकी मिलाउने काम मेरो’ भन्दै निस्कन खोज्छन्। तर, पहिलेदेखि बोलिरहेका कामदारले ‘कोही पनि काममा जाँदैन’ भन्दै कराएपछि उनले ‘आ–आफ्नो विचार गर्नू’ भन्दै विवादस्थलबाट बाहिरिन्छन्।

कामदारहरू भने पूरा तलब नपाउँदासम्म काम नगर्ने मनस्थितिमा देखिन्छन्। पुनले दिएको दुई दिनको अवधिलाई काम नगरीकनै कुर्ने र यति हुँदा पनि पैसा नआएमा श्रम विभाग (लेबर डिपार्टमेन्ट)मा गुहार माग्न जाने उनीहरूको मनस्थिति देखिन्छ। भिडिओ सामाजिक सञ्जालमा मंगलबार (२२ अगस्ट) पोस्ट गरिएको हो।

गुर्खाज कन्स्ट्रक्सन लिमिटेडको वेबपेजमा बताइए अनुसार, यसले हङकङमा आल्मुनियम, मेटल, फेसेड, क्ल्याडिङ, रुफिङ, न्युमेटिक भ्याकुम एलिभेटर, भवन निर्माण तथा इन्जिनियरिङमा काम गर्दै आइरहेको छ।

यसले हङकङका व्यापार तथा निर्माण क्षेत्रहरूमा अनुभवी कामदारहरू आपूर्ति गर्दै आइरहेको छ। हङकङका साथै कम्पनीले मकाउ, नेपाल, भारत, लिबिया र युकेका कम्पनीहरूसँग पनि साझेदारीमा काम गर्ने लक्ष्य राखेको छ।

कम्पनीका मालिक पुन बेलायती सेनाका निवृत्त जवान हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिको पूर्व कोषाध्यक्ष पुन हङकङ नेपाल व्यापार संघका अध्यक्ष पनि हुन्।

जोर्डनमा उनको एउटा रेस्टुरेन्ट पनि सञ्चालनमा छ। केहीले कामदारको पैसा रेस्टुरेन्टमा लगानी गरेका कारण तलब नदिइएको भन्दै भिडिओमा कमेन्ट पनि गरेका छन्। बेलाबखत विवादमा आइरहने मेनपावर व्यवसायी पुनलाई नेपाल सरकारले हङकङका निम्ति वाणिज्य सद्भावना दूत नियुक्त गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .