हङकङमा आँधीको त्रास : टी८ हुँदै टी१० संकेत जारी गर्ने तयारी

हङकङमा आँधीको त्रास : टी८ हुँदै टी१० संकेत जारी गर्ने तयारी

तस्बिर : एससीएमपी


नेपालखबर
भदौ १४, २०८० बिहिबार १८:५५, हङकङ

हङकङमा सुपर टाइफुन साओलाको प्रभाव बढ्दै गएको छ।

टाइफुन (आँधी)का कारण अब्जर्भेटरीले बुधबार साँझ टी१ संकेत जारी गरेको थियो भने बिहीबार दिउँसो यो संकेत टी३ मा पुगिसकेको छ।

आँधीको गति तीव्र गतिमा बढ्दै गइरहेपछि भोलि (शुक्रबार) बिहान २ बजेदेखि टी८ संकेत जारी गरिँदैछ भने यो संकेत टी१० मा पनि पुग्न सक्ने बताइएको छ।

टी१० संकेत जारी गर्ने/नगर्ने चाहिँ हावाको गति र आँधीको शक्तिको आधारमा निर्धारण गरिने अब्जर्भेटरीले जनाएको छ।

बिहीबार हङकङमा हावाको औसत गति ४१ देखि ६२ किलोमिटर प्रतिघण्टा अनुमान गरिएको छ।

आँधीबेहरीको समयमा आपत्‌कालीन सेवा प्रदान गर्न सयौँ प्रहरी अधिकारी, अग्निनियन्त्रक, विभिन्न विभागका निजामती कर्मचारीहरूलाई तयारी अवस्थामा राखिएको छ।

मुख्य सचिव एरिक चान क्वक–किले सरकारको उक्त तयारीबारे बिहीबारको प्रेस ब्रिफिङमा बताएको साउथ चाइन मर्निङ पोस्टले बताएको छ।

त्यस्तै, शुक्रबार, किन्डरगार्टन, प्राथमिक र माध्यमिक तहका सबै कक्षा बन्द हुनेछन्। किन्डरगार्टन र अपाङ्गता भएका बालबालिकालाई पढाइने विद्यालय त टी३ संकेतमै बन्द गर्नुपर्ने नियम छ।

हङकङमा साओलाको त्रास यति बढेको छ कि, यो आँधीबेहरीले ऐतिहासिक रेकर्ड नै ब्रेक गर्ने अनुमान मौसम पूर्वानुमानकर्ताहरूको छ।

यसअघि सन् १९६२ मा टाइफुन वान्डा र २०१७ मा सुपर टाइफुन हटो निकै शक्तिशाली सावित भएका थिए।

टाइफुन साओला शुक्रबार साँझदेखि शनिबार बिहानसम्म सहरको सबैभन्दा नजिक आइपुग्ने अनुमान गरिएको छ। यसले गम्भीर टाइफुनदेखि सुपर टाइफुनसम्मको प्रभाव छोड्ने सक्ने सरकारीका अधिकारीहरूको आँकलन छ। यसको प्रभाव स्वरुप शुक्रबार हङकङमा भारी वर्षा र तीव्र हावाका कारण मौसम उल्लेख्य रूपमा बिग्रनेछ।

शुक्रबार मध्यरातदेखि शनिबार दिउँसोसम्म पानीको सतह निकै बढ्ने र तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने पनि अब्जर्भेटरीले बताएको छ।

मौसमविज्ञ लेउङ विङ–मोले सन् २०१८ मा हङकङमा आएको सुपर टाइफुन मङ्खुटभन्दा साओला कमजोर नहुने भन्दै सहरवासीलाई सतर्क रहन आग्रह गरेका छन्। लेउङ अब्जर्भेटरीका पूर्व सहायक निर्देशक हुन्।

साओला बिहीबार बेलुका सहरको ३७० किलोमिटर दक्षिणपूर्वमा रहेको र हावाको गति २०५ किलोमिटर प्रतिघण्टा रहेको अनुमान गरिएको छ।

हङकङमा साओलाको प्रभाव बढ्दै गएको र टी८ संकेत जारी हुने अवस्था सृजना भएपछि हङकङकोे झण्डावाहक क्याथे प्यासिफिक एयरवेजले शुक्रबार र शनिबारको फ्लाइटलाई अग्रिम बुकिङ गरेका यात्रुहरूको पुनः बुकिङ र रि–रुटिङ शुल्क मिनाहा गर्ने भएको छ।

यद्यपि, यात्रुहरूले आफ्नो टिकटमा गरिने परिवर्तन शनिबारभित्र गर्नपर्ने र सेप्टम्बर महिनाभित्र आफ्नो यात्रा पूरा गरिसक्नुपर्नेछ।

यस्तै, रेलसेवा प्रदायक कम्पनी एमटीआर कर्पोरेसनले पनि बिहीबारदेखि सोमबारसम्मका अधिकांश सेवाहरू रद्द गरेको छ भने कतिपयको रुट छोट्याएको छ।

कम्पनीले यात्रुहरूलाई यात्रा गर्नुअघि कम्पनीको वेबसाइट वा मोबाइल एपमार्फत नवीनतम जानकारी लिन पनि आग्रह गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .