हङकङ खबर


हङकङमा दिनदहाडै यसरी भयो लुटपाट (भिडिओ)

चिमसा चोइमा ९ महिनाको बीचमा चौथो घडी पसल लुटियो, ४ करोड डलरको क्षति

नेपालखबर
मंसिर २७ , हङकङ

हङकङको चिमसा चोइमा दिनदहाडै डकैती भएको छ।

ग्रानभिल रोडमा रहेको अल्फा वाच एन्ड ज्वेलरीबाट ४/५ जनाको समूहमा आएका लुटेराले पसलमा तोडफोड गरी ४० मिलियन हङकङ डलर बराबरको लक्जरी घडी लुटेका थिए। (हेर्नुस् भिडिओ)

डकैती मंगलबार दिउँसो भएको थियो। प्रहरीले घटनासँग सम्बन्धित रहेको आशंकामा बुधबार दुई जनालाई पक्राउ गरेको छ।

लुटेराहरूले २५ वटा लक्जरी घडी लुटेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

डकैती गिरोहले लुटपाट गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट पनि भएको छ। उक्त भिडिओमा देखिएअनुसार सुरुमा सेतो टिसर्ट लगाएको एक व्यक्तिको पसलमा प्रवेश हुन्छ। जो ग्राहकको रूपमा छिरेको जस्तो देखिन्छ।

त्यसको लगत्तै अन्य चार जना हुडी र मास्क लगाएका व्यक्ति भित्र छिर्छन्। ती मध्ये दुई जनाले हम्मर बोकेका हुन्छन्। हम्मरले हानेर पसलको डिस्प्ले काउन्टर तोडफोड गर्छन्। हम्मर बोकेको एकजना अलर्ट बसेर पसलको मानिसलाई धम्क्याइरहेको हुन्छ भने अरू तीन जना धमाधम झोलाभित्र घडी राख्न थाल्छन्। यसबीचमा सुरुमा छिरेको व्यक्ति बाहिर निस्किसकेको हुन्छ।

केही समय लुटपाट मच्चाएर भाग्न खोज्दा ढोका ‘लक’ भइसकेको हुन्छ। त्यसपछि फेरि हम्मरको प्रयोगले ढोका तोडेर उनीहरू भागेको भिडिओमा देखिन्छ।

प्रहरीका अनुसार लुटपाटपछि ती व्यक्ति उनीहरूकै समूहको अर्को सदस्यले चलाएको गेटवे कारमा भागेका थिए।

स्थानीय अखबार लेख्छ, ‘मंगलबार राति ११ः२४ बजे जारी गरिएको प्रेस विज्ञप्तिमा प्रहरी बलले भन्यो– करिब चार करोड हङकङ डलर बराबरको कुल २५ वटा घडी चोरी भएको छ।’

मास्क लगाएका चारै जना लुटेरा गैर–चिनियाँ मुलका पुरुष भएको र उनीहरू २० देखि २५ वर्ष उमेर समूहका भएको प्रहरीले बताएको छ।

चिमसा चोइमा लुटेराहरूको निशानामा परेको अल्फा वाच एन्ड ज्वेलरी चौथो घडी पसल हो।

भिडिओ-

मंसिर २७, २०८० बुधबार १७:१२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .