हङकङमा बालिका बलात्कारका दोषीलाई ११ वर्ष जेल सजाय

हङकङमा बालिका बलात्कारका दोषीलाई ११ वर्ष जेल सजाय

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १३:७, हङकङ

सात वर्षअघि ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ६१ वर्षीय बस चालकलाई ११ वर्षको जेल सजाय सुनाइएको छ।

हङकङको उच्च अदालतले बिहीबार फैसला सुनाउँदै उक्त सजाय तोकेको हो।

अदालतका उपन्यायाधीश डगलस याउ ताक–होङलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम द स्ट्यान्डर्डले उल्लेख गरेअनुसार पीडित बालिका पाँच वर्षको उमेरदेखि पीडक चालकको परिवारसँग बस्दै आएकी थिइन्।

हङ नामका पीडकले घरमा अरू सदस्य नभएको मौकी छोपी बालिकालाई बलात्कार गरेको र त्यसपछि पनि पटक–पटक यौन दुर्व्यवहार गरेको फैसलामा उल्लेख छ।

सन् २०१६ को गर्मी याममा उक्त घटना घटेको थियो, जतिबेला पीडित बालिका मात्र ९ वर्षकी थिइन्। त्यसको ७ वर्षपछि उनी १५ वर्षको भएपछि घटना बाहिर आएको हो।

यसबीचमा मानसिक रूपमा विक्षिप्त बनेकी पीडितले अगस्ट २०२२ मा आफ्ना साथीहरूसँग घटनाको बारेमा बताएकी थिइन्।

यसपछिका दिनमा उनले साथीहरूसँग आत्महत्यासम्मको विचार आउने गरेको बताउन थालेपछि साथीहरूले प्रहरी अधिकारीसँग सम्पर्कमा गरेका थिए।

घटनाका कारण पीडित बालिकामा गहिरो मानसिक चोट पुगेकोबारे फैसला सुनाउने क्रममा उपन्यायाधीश डगलसले पनि औँल्याएका छन्।

उनको भनाइ उद्धृत गर्दै स्ट्यान्डर्डले लेखेको छ, ‘बलात्कारपछि दिनमा पीडित बालिकामा ठूलो मानसिक चोट पुगेको देखिन्छ। उनलाई पुरुष देख्ने बित्तिकै डर पैदा हुने समस्या देखिन्छ भने पुरुषहरू महिलालाई केवल यौन सम्बन्धमा मात्र चासो राख्छन् भन्ने उनको मन गहिरो छाप परेको छ।’

पीडक हङले भने सुरुमा अभियोग इन्कार गरेका थिए। तर, अदालतले भने पीडितको मेडिकल रिपोर्ट र घटनाको वस्तुस्थिति लगायतलाई अध्ययन गरी उनी दोषी भएको ठहर गर्दै सजाय सुनाएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .