पूरै खेलमा मेस्सी मैदान बाहिर रहेपछि हङकङवासीले गरे नाराबाजी

पूरै खेलमा मेस्सी मैदान बाहिर रहेपछि हङकङवासीले गरे नाराबाजी

खेलको पूरै समय मेस्सी बेन्चमा रहँदा हङकङका दर्शक निराश बनेका छन् (द स्ट्यान्डर्ड)


नेपालखबर
माघ २१, २०८० आइतबार १८:८, हङकङ

हङकङमा आइतबार भएको खेलमा इन्टर मियामीले हङकङ इलेभेनलाई ४-१ ले हराउँदा विश्वकप विजेता लियोनल मेस्सी र अर्का फुटबल स्टार लुइस सुआरेज भने मैदान बाहिरै रहे।

मेस्सीको खेल हेर्न डेढ महिनाअघि नै टिकट बुक गरेका हङकङवासी भने उनलाई खेलको पूरै समय बेन्चमा राखिएपछि निराश भए र रकम फिर्ताको माग गर्दै नाराबाजी गरे।

निराश दर्शकले खेलको अन्त्यसम्म दुई स्टार मैदान बाहिरै रहेपछि टिकटवापत् तिरेको रकम फिर्ता माग्दै नाराबाजी गर्न थाले भने कोही स्टेडियम छोडेर हिँडे।

स्टेडियममा पुगेका दर्शक मात्र होइन, घरमै बसेर खेल हेरिरहेका दर्शक पनि मेस्सी मैदान बाहिरै रहेपछि असन्तुष्ट देखिएका छन्।

घरमै बसेर खेल हेरेकी हङकङकी सांसद डोरिन कङ युक-फुनले आजको जस्तो घटना फेरि पनि दोहोरिएमा ठूलो इभेन्ट आयोजना गर्दा जनताले आयोजकलाई कसरी विश्वास गर्ने भनेर प्रश्न गरेको द स्ट्यान्डर्डले उल्लेख गरेको छ।

दर्शकले असन्तुष्टि जनाएपछि खेलपश्चात् भएको पत्रकार सम्मेलनका क्रममा मियामीका प्रशिक्षक गेरार्डो मार्टिनोले माफी मागेका छन्।

मेस्सी र सुआरेजलाई मैदानमा ल्याउन निकै जोखिम थियो भन्दै उनले आफ्नो बचाउ गरे।

‘मेस्सीको स्वास्थ्य टोलीले हरेक दिन उनको अवस्थाको मूल्यांकन गरिरहेको छ। उनी हिजोको प्रशिक्षणमा सामेल भए। यद्यपि, आज नखेल्ने निर्णय चाहिँ बिहानको अन्तिम स्वास्थ्य परीक्षणपछि मात्र गरिएको हो,’ प्रशिक्षक मार्टिनोको भनाइ उद्धृत गर्दै समाचारमा लेखिएको छ।

यता, हङकङका कप्तान याप्प हङ-फाइले मेस्सीविरुद्ध टोली खेल्न नपाउनु दुर्भाग्य भए पनि मियामीमा अरू पनि गुणस्तरीय फुलटबलर रहेको प्रतिक्रिया दिएका छन्।

त्यस्तै, हङकङका प्रशिक्षक जोर्न एन्डरसनले आफू र टोली खेल जित्नमै बढी केन्द्रित रहेको र पहिलो हाफमा बराबरी गोल गर्ने खेलाडीको प्रयासलाई हौसला दिँदै अगाडि बढेको बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .