डिपफेक प्रयोग गरी हङकङमा ठूलो रकम ठगी : नक्कली भर्चुअल बैठकलाई विश्वास गर्दा गुम्यो २०० मिलियन डलर

डिपफेक प्रयोग गरी हङकङमा ठूलो रकम ठगी : नक्कली भर्चुअल बैठकलाई विश्वास गर्दा गुम्यो २०० मिलियन डलर

सांकेतिक तस्बिर (सटरस्टक)


नेपालखबर
माघ २१, २०८० आइतबार १२:४४, हङकङ

एउटा बहुराष्ट्रिय कम्पनीको हङकङ शाखा डिपफेक प्रविधिको शिकार बन्दा दुई सय मिलियन हङकङ डलर गुमाउन पुगेको छ।

प्रहरीलाई उद्धृत गर्दै एससीएमपीमा उल्लेख भए अनुसार ठगहरूले डिपफेक प्रविधिको प्रयोग गरेर भिडिओ कन्फरेन्स गरी कम्पनीका वित्तीय प्रमुखमार्फत कर्मचारीलाई रकम ट्रान्सफर गर्न निर्देशन दिएका थिए।

पीडित बाहेक भिडिओ कन्फरेन्समा उपस्थित सबै नक्कली प्रतिनिधि भएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ।

हङकङमा यसप्रकारको ठगी पहिलो पटक भएको प्रहरीले बताएको छ।

सहरमा डिपफेक प्रविधिबाट ठगी गर्ने नयाँ नयाँ प्रवृत्ति देखा परिरहेका छन्।

यसअघि अगस्टमा पनि डिपफेक प्रविधिको प्रयोग गरी दुई लाख हङकङ डलर ठगी भएको थियो।

तर, त्यतिबेला र अहिलेको प्रकृति चाहिँ फरक रहेको छ। त्यतिखेर प्रविधि डिपफेक नै भए पनि चोरीका कार्ड प्रयोग गरेर ठगी गरिएको थियो भने अहिले भिडिओ कन्फरेन्स गरी कर्मचारीलाई झुक्याइएको छ।

अगस्टमा भएको ठगी पनि त्यतिबेलासम्मकै त्यस्तो प्रकृतिको पहिलो घटना भएको प्रहरीले जनाएको थियो।

त्यतिबेला ठगीमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो। पछिल्लो घटनामा भने अहिलेसम्म कोही पक्राउ नपरेको र ठूलो रकम समावेश भएको घटना भएकोले विशेष प्राथमिकतामा राखेर कारबाही अघि बढिरहेको प्रहरीले जानकारी दिएको छ।

ठगीधन्दामा सक्रिय गिरोहले यति सचेतना अपनाएको थियो कि, भिडिओ कन्फरेन्समा देखिएका व्यक्तिहरू लक्षित कर्मचारीले चिनेका जस्तै देखिन्थे।

‘कार्यालयका अन्य कर्मचारी, कम्पनीका चिफ फाइनान्सियल अफिसर (सीएफओ) र केही बाहिरका व्यक्तिसमेतलाई भिडिओमा निम्त्याइएको पाएपछि पीडित कर्मचारीले विश्वास गरे,’ कम्पनीका कार्यवाहक वरिष्ठ सुपरिटेन्डेन्ट बारोन चानलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘कर्मचारीले बैठकमा वित्त प्रमुखले दिएको निर्देशन पालना गरे र हङकङको पाँच वटा बैंक खातामा १५ पटक गरी कुल दुई सय मिलियन हङकङ डलर ट्रान्सफर गरे।’

कर्मचारीलाई निर्देशन दिइएको समयदेखि कम्पनीको मुख्यालयमा सोधपुछ गरी घोटला हो भन्ने निक्र्यौल हुँदासम्म करिब एक हप्ता बितिसकेको थियो। यो बीचमा १५ पटक रकम ट्रान्सफर भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएअनुसार पीडित बाहेक बैठकका अन्य सहभागीलाई स्क्यामरहरूले डिजिटल रूपमा सिर्जना गरेका थिए जसले व्यक्तिको सार्वजनिक रूपमा उपलब्ध भिडिओ र अडियो फुटेज प्रयोग गरे।

‘तिनीहरूले डिपफेक प्रविधि प्रयोग गरी व्यक्तिहरूको आवाजको नक्कल गरे,’ वरिष्ठ सुपरिटेन्डेन्ट चानले भनेका छन्, ‘स्क्यामरहरूले पीडितलाई आफ्नो परिचय दिन भने तर दोहोरो कुराकानी चाहिँ गरेनन्। साथै, बैठक समाप्त भएको घोषणा गर्नुअघि रकम पठाउन आदेश दिए र बिदा भए।’

त्यसपछि स्क्यामरहरू सन्देश प्लेटफर्म, इमेल र भिडिओ कलमार्फत पीडितसँग सम्पर्कमा रहे।

यसका साथै उनीहरू कार्यालयको एउटा कर्मचारीसँग गरिएको भिडिओ कुराकानीमार्फत अर्को कर्मचारीको सम्पर्कमा पुगे।

प्रहरीको अनुसन्धानले कार्यालयका दुई/तीन जना कर्मचारीको सम्पर्कमा ठगहरू पुगेको पत्ता लगाएको छ। उनीहरू को को हुन् भनेर चाहिँ परिचय खुलाइएको छैन।

यो घटनाले ठगहरू नयाँ–नयाँ तरिकाले डिपफेक प्रविधिलाई प्रयोग गरिरहेका छन् भन्नेमा प्रहरी पुगेको छ। यो सँगै कुनै पनि डिजिटल कारोबारमा सचेत रहन पनि प्रहरीले अनुरोध गरेको छ।

स्क्रिनमा देखिने व्यक्ति नक्कली हो कि सक्कली हो भनेर छुट्याउन थुप्रै तरिका भएकोले यतापट्टि सचेत रहन वरिष्ठ इन्स्पेक्टर टायलर चानले भनेका छन्।

‘जस्तै, भिडिओमा देखिने व्यक्तिलाई टाउको घुमाउन भन्न सकिन्छ। उसलाई प्रश्नहरू सोधेर आधिकारिताकता प्रमाणित गर्न सकिन्छ। पैसाको अनुरोध आउनेबित्तिकै तुरुन्तै शंकास्पद बन्नु पर्दछ,’ चानको सुझाव उद्धृत गर्दै समाचारमा लेखिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .