आयोजक ट्याटलरलाई इन्टर मियामीसँगको सम्झौता खुलाउन हङकङका कार्यकारी प्रमुखको आग्रह

आयोजक ट्याटलरलाई इन्टर मियामीसँगको सम्झौता खुलाउन हङकङका कार्यकारी प्रमुखको आग्रह

समर्थकलाई अभिवादन गर्दै मेस्सी (एससीएमपी)


नेपालखबर
माघ २३, २०८० मंगलबार १६:१५, हङकङ

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी अनुबन्धित क्लब इन्टर मियामी र स्थानीय क्लब हङकङ इलेभेनबीच हङकङमा आइतबार भएको मैत्रीपूर्ण खेलमा मेस्सीलाई नखेलाइएको प्रति यतिखेर हङकङमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

यस सन्दर्भमा हङकङका प्रमुख कार्यकारी जोन लीले पनि खेलको आयोजक ट्याटलर एसियालाई इन्टर मियामीसँगको सम्झौता खुलाउन आग्रह गरेका छन्।

‘यो अत्यन्तै निराशाजनक छ कि मेस्सीको खेल हेर्ने जनताको इच्छा पूरा हुन सकेन,’ मंगलबार साप्ताहिक कार्यकारी परिषद् बैठकअघिको लीको भनाइ उद्धृत गर्दै एससीएमपीले लेखेको छ, ‘वास्तवमा भएको के हो, इन्टरमियामी र ट्याटलरबीच भएको सम्झौतामा के थियो भनेर विस्तृत रूपमा जनतासामु व्याख्या गर्न सरकारले आयोजकसँग आग्रह गरेको छ र गरिरहेनछ।’

मेस्सी खेल्न नसक्नुको कारणबारे फ्यानहरूलाई व्यक्तिगत रूपमा सम्बोधन गर्न सरकारले माग गरेको भए पनि त्यो कुरा कार्यान्वयन नभएकोप्रति लीले असन्तुष्टि जनाएका छन्।

‘टिकट किन्नेहरूको चित्त बुझाउने, जवाफ दिने जिम्मेवारी उनीहरूको हो। पूर्ण जोस र आशाका साथ त्यहाँ उपस्थित दर्शकको निराशाको जवाफ दिनु पनि उनीहरूको जिम्मेवारी हो,’ लीको भनाइ उद्धृत गर्दै समाचारमा लेखिएको छ।

सहरको छवि र प्रतिस्पर्धात्मकताका लागि खेल महत्त्वपूर्ण हुने भएकाले ठूला कार्यक्रमको आयोजना गर्न सरकारलाई असफलताले रोक्न नसक्ने तर भविष्यमा यस्ता कार्यक्रमको व्यवस्थापनलाई चुस्त बनाउन अधिकारीहरूले सावधानीपूर्वक समीक्षा गर्ने प्रमुख कार्यकारी लीले बताएका छन्।

उनले सरकारी आवश्यकता पूरा गर्न आगामी सम्झौताहरूमा थप स्पष्ट हुने प्रावधान समावेश गर्न पनि आयोजकहरूलाई सुझाव दिएका छन्।

साथै उनले यदि सार्वजनिक पैसा खर्च भएको छ भने घटनाको छानबिनसम्बन्धमा विचार गर्न सकिनेतर्फ पनि संकेत गरेका छन्।

  • मेस्सीको आगमनसँगै उनका फ्यानमा फैलिएको उमङ्ग उनी खेलको पूरै समय बेन्चमा रहेपछि क्रोधमा परिणत हुनपुग्यो (हेर्नुस् भिडिओ)-

यता हङकङ उपभोक्ता परिषद् (कन्जुमर काउन्सिल) ले मंगलबार बिहानसम्म आइतबारको खेलसँग सम्बन्धित २ सय ४५ उजुरी प्राप्त भएको बताएको छ।

जसमा ३१ वटा उजुरी खेल हेर्न आएका आगन्तुकको छ, उनीहरूले १.६ मिलियन हङकङ डलर खर्च देखाएका छन्।

यता खेलको आयोजक ट्याटलर एसियाले भने लियोनल मेस्सी र लुइस सुआरेज खेलको कुनै समयमा मैदानमा आउने अपेक्षा आफूहरूले गरेको तर इन्टर मियामीको व्यवस्थापनले हाफ टाइममा मात्र मेस्सी चोटका कारण खेल्न नसक्ने बताएको जानकारी गराएको छ।

ट्याटलरका अध्यक्ष तथा सीईओ मिसेल लामुनिएरले सोमबार प्रेससँग कुरा गर्दा फ्यानहरूको ‘रकम फिर्ता’सम्बन्धी मागबारे भने कुनै उल्लेख नगरेको एसएमपीको समाचारमा उल्लेख छ।

आइतबार हङकङ स्टेडियममा भएको खेलमा ४० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष खेल हेरेको आयोजकको दाबी छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .