हङकङमा दाजु गुरुङको ‘निरजोया’ लोकार्पण, जसले बताउँछ नेपाली युवक र मलेसियन युवतीको प्रेम कहानी

हङकङमा दाजु गुरुङको ‘निरजोया’ लोकार्पण, जसले बताउँछ नेपाली युवक र मलेसियन युवतीको प्रेम कहानी

उपन्यास लोकार्पणका क्रममा दाजु गुरुङ (खादा लगाएका) लगायत (तस्बिरहरू : टिबि याक्खा)


मगेन्द्र राई
जेठ १३, २०८१ आइतबार १७:११, हङकङ

लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका साहित्यकार दाजु गुरुङले ‘निरजोया’ नामक उपन्यास/आख्यान प्रकाशन गरेका छन्। जसमा नेपालीहरू विदेश पलायन हुने कारण, बाध्यता, अनि डायस्पोरामा उनीहरूले  भोगिरहेका सुख-दुःखलाई सुक्ष्म एवं मनोवैज्ञानिक ढङ्गले वर्णन गरिएको छ।

संखुवासभा समाज हङकङ र हङकङ साहित्यिक साझा शृङ्खलाको संयुक्त आयोजनामा हङकङको जोर्डनस्थित ब्लुओसन रेस्टुरेन्टमा आज (आइतबार) ‘निरजोया’ लोकार्पण गरिएको हो।

‘निरजोया’ मा गैरकानुनी रूपमा मलेसिया पुग्दा नेपालीले भोगेका समस्या र तीता अनुभव, त्यहाँको सामाजिक एवं सांस्कृतिक परिवेश, विकृति, त्यहाँका प्रहरीले नेपालीलाई गर्ने दुर्व्यवहार आदिको वरिपरि उपन्यास घुमेको छ।

‘निरजोया’ उपन्यासका प्रमुख दुई पात्र हुन्। नेपाली पुरुष निरोज र मलेसियन महिला जोया। यी दुईको नामबाट ‘निरजोया’ जुरेको हो। उपन्यासमा निरोज सत्यकथाका पात्र हुन्।

कथा झन्डै दुई दशक अगाडिको हो। माओवादी द्वन्द्वकालमा ठूलो सङ्ख्यामा तटस्थ बस्ने नेपाली जमातको कथा हो यो । सरकारी सेना र विद्रोही सेनाको बल मिचाइबाट आफूलाई जोगाउन र व्याप्त बेरोजगारबाट बच्न तथा केही बाध्यता अनि केही रहरले धेरै नेपाली युवा मलेसिया पलायन भए।

जतिबेला ६ महिनाको भिसा लिएर उतै गैरकानुनी रूपमा लुकिछिपी बस्नुपर्दा उनीहरूले भोगेको कारुणिक कथा समेटिएको छ। साथै, मुस्लिमहरूको बाहुल्य रहेको मलेसियामा महिलाहरूको भूमिका, त्यहाँको धार्मिक एवं सामाजिक परिवेशको बयान गरिएको छ।

मलेसियामा महिलाहरू काम गर्ने र पुरुषहरू भने घरमै बस्ने। लाछी र अल्छे हुने। लिभिङ टुगेदर गर्ने। पुरुषहरूलाई उपभोग्य सामग्री जस्ता व्यवहार गर्ने जस्ता अनौठो सामाजिक परिवेशको उपन्यासमा उल्लेख गरिएको छ।

कथाअनुसार, विवाहित निरोजलाई पिताले द्वन्द्वबाट बाँच्न ६ महिनाको लागि मलेसिया पठाएका हुन्छन्। त्यहाँ पुगेपछि उनले निकै दु:ख पाउँछन्। मलेसियाकी स्थानीय केटी जोयाको प्रेम चक्करमा फस्छन्।

यो मलेसियामा पुग्ने धेरै नेपालीको कथा हो। मुस्लिम राष्ट्र भए पनि यौन मामिलामा मलेसिया उदार रहेको उपन्यासमा देखिन्छ।

उपन्यासका लेखक दाजु गुरुङले पुस्तक लेख्न तीन महिना लागेको बताए।

‘सुरुमा ‘भिजिट भिसा’ शीर्षकको कथा लेखेको थिएँ। तर, त्यसमा धेरै कुरा छुटे। अनि छुटेका कुरा थप्दै जाँदा उपन्यास नै पो तयार भो,’ उनले नेपालखबरलाई सुनाए।

प्राय: लेखकहरूले आफू वरिपरिको परिवेश, भूगोलअनुसार लेख्छन् वा भनौँ आफ्नै कथा लेख्छन् भनिन्छ। तर, यसको विपरीत दाजु गुरुङले भने हङकङमा बसेर मलेसियाको कथा लेखेका छन्।

‘तपाईँ त हङकङमा बसेर मलेसियाको कथा लेख्नुभएको छ। के यो तपाईँको आफ्नै भोगाइ हो?’ नेपालखबरको प्रश्नमा दाजु गुरुङ यस्तो सुनिन्छन्, ‘अहिले सूचना प्रविधिको जमाना हो। गुगलको जमाना हो। त्यसैले, कतिपय कुरा रिसर्च गर्न सजिलो छ। जहाँसम्म निरजोयाको कुरा छ, उक्त निरोज पात्रसँग मेरो भेट भयो। उनले आफ्नो कथा सुनाए, मलाई छोयो। त्यसैको परिणाम निरजोया अहिले पाठकको हातमा छ।’

‘निरजोया’ लोकार्पण कार्यक्रममा हङकङका सामाजिक संस्थाहरूका प्रतिनिधि, साहित्यकार, महावाणिज्यदूतावासका प्रतिनिधि लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

संखुवासभाको मादी नगरपालिका स्थायी घर भएका गुरुङ झन्डै डेढ दशकदेखि हङकङमा बसोबास गरिरहेका छन्। गुरुङले त्रिभुवन विश्वविद्यालयबाट स्तानकोत्तर गरेका छन् भने उनमा प्राध्यापनको अनुभव समेत छ।

यसअघि उनले ‘टाँकीका फूलहरू’ र ‘लाई-सि’ कथा सङ्ग्रह प्रकाशन गरेका थिए। ‘निरजोया’ उनको तेस्रो कृति हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .