हङकङ अब्जर्भेटरीले तातो-चेतावनी प्रणालीअन्तर्गत यस वर्षको पहिलो एम्बर संकेत जारी गरेको छ।
संकेत जारी गर्दै अधिकारीले खुला स्थान र घरभित्र पनि वातानुकूलित नभएका क्षेत्रमा काम गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
सहरका केही भागमा ३२ डिग्री सेल्सियस वा त्यो भन्दा माथिको तापक्रम पुगेको भन्दै अब्जर्भेटरीले बुधबार बिहान ११ः५० बजे चेतावनी लागु गरेको हो।
एम्बर गर्मी संकेत जारी भएसँगै श्रम विभागले पनि कामदार र कम्पनी दुवैलाई उच्च सतर्कता अपनाउन भनेको छ।
विभागले कम्पनीहरूलाई बढी जोखिमयुक्त क्षेत्र पहिचान गरी नियन्त्रणका उपाय अवलम्बन गर्न सुझाव दिएको छ।
साथै, कामदारहरूलाई प्रशस्त पानी पिउन, बीचबीचमा आराम गर्न, घरभित्र काम गर्दा भेन्टिलेसन खोलेर काम गर्न सुझाएको छ।
गत वर्ष पहिलो पटक विकास गरिएको तीन स्तरीय गर्मी चेतावनी प्रणालीअन्तर्गत गर्मी सूचकांक ३० मा पुगेपछि एम्बर संकेत जारी गरिन्छ।
त्यस्तै, ३२ मा पुगेपछि रातो र ३४ मा पुगेमा कालोमा स्तरवृद्धि गरिन्छ।
गर्मीको चेतावनी जारी हुँदा कर्मचारीले प्रत्येक घण्टा १५ देखि ४५ मिनेट आराम गर्न विभागले सिफारिस गरेको छ। (एससीएमपी)
Shares
प्रतिक्रिया