कस्तो छ हङकङवासीको पारिवारिक खुसी? यस्तो छ सर्वेक्षणको नतिजा

कस्तो छ हङकङवासीको पारिवारिक खुसी? यस्तो छ सर्वेक्षणको नतिजा

पोस्ट-महामारीको समयमा परिवारहरूको खुसीस्तर नाप्ने उद्देश्यले सर्वेक्षण गरिएको थियो


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १२:२९, हङकङ

एक सर्वेक्षणमा सहभागी हङकङका ६० प्रतिशत परिवारले पारिवारिक खुसी सर्वेक्षणमा उच्च अंक दिएका छन्। जकी क्लब स्मार्ट फ्यामिली–लिंक प्रोजेक्टले गतवर्ष गरेको सर्वेक्षणको नतिजामा उक्त तथ्यांक प्रस्तुत गरेको हो।

क्लबले गतवर्ष जुलाई र अगस्टको बीचमा चार हजार पाँच सय २९ बासिन्दाबीच ‘अनलाइन पोल’ गरेको थियो।

वेब पृष्ठमा प्रश्नावली तयार गरेर अनलाइनमार्फत लिइएको उक्त प्रतिक्रियामा उत्तरदातालाई उनीहरूको पारिवारिक खुसीमा ० देखि १० अंक दिन भनिएको थियो।

जसमा ५८ प्रतिशत उत्तरदाताले परिवारसँगको सम्बन्धलाई सकारात्मक भन्दै सातदेखि १० को बीचमा अंक दिएका थिए।

यो स्केल प्रदान गर्नेहरूमा मासिक घरायसी आम्दानी ६० हजार हङकङ डलर वा सोभन्दा माथि र तृतीयस्तरको शिक्षा प्राप्त गरेकाहरू छन्।

त्यस्तै, महिला र ५५ वर्ष माथिका व्यक्तिले पनि उच्च अंक दिएका थिए।

यद्यपि, परिवारको खुसीमा पैसा मात्र कारण नभई परिवारका सदस्यबीचको हेरचाह र अन्तरक्रियाले पनि प्रमुख भूमिका खेलेको अनुसन्धानकर्ताले बताएका छन्।

‘राम्रो पारिवारिक सम्बन्ध बनाउन धेरै समय वा पैसा खर्चिनु पर्दैन,’ अनुसन्धानकर्तामध्ये एक प्राध्यापक केल्भिन वाङ भन्छन्, ‘परिवारका सदस्यबीच रमाइलो गर्नु, एक–अर्कालाई साथ दिनु र प्रशंसा गर्नु मात्र पनि पर्याप्त छ।’

प्राध्यापक वाङ हङकङ विश्वविद्यालयको मेडिसिन संकायका स्वास्थ्य विज्ञान व्यावसायिक विकासका सहायक डीन हुन्। यो विश्वविद्यालय जकी क्लबको परियोजनाको साझेदार समेत हो।

सर्वेक्षणको नतिजाअनुसार उच्च अंक प्रदान गर्ने उत्तरदातामध्ये धेरै जना परिवारका सदस्यसँग नियमित सञ्चारमा रहन्छन्, आमनेसामने कुराकानी गर्छन्।

‘आश्चर्यको कुरा, परिवारका सदस्यलाई उपहार वा पैसा दिनुले मात्र स्कोरमा वृद्धि गर्दैन,’ अध्ययनको निचोड सुनाउँदै प्राध्यापक वाङ भन्छन्, ‘बरु, परिवारका सदस्यसँग सञ्चार समय बढाउनका लागि पर्याप्त समय छुट्याउनु आवश्यक छ।’

प्रत्यक्ष अन्तरक्रियामार्फत सम्बन्धलाई मजबुत बनाउन प्रविधिको प्रयोग पनि गर्न सकिने वाङको सुझाव छ।

यस्तै प्रकारको जवाफ ४० प्रतिशत उत्तरदाताले समेत दिएका छन्। व्यस्त दैनिकीका बाबजुद आमने–सामने अन्तरक्रियाको अलावा अनलाइन गतिविधिमा सामेल हुन रुचाउने उनीहरूले बताएका छन्।

बाह्य गतिविधि प्रतिबन्धित रहेको कोभिड–१९ जस्ता महामारीका समयमा अनलाइन प्लेटफर्मले पारिवारिक सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा परियोजनाको अर्को साझेदार इन्टरनेसनल सोसल सर्भिसका फ्रन्टलाइन सामाजिक कार्यकर्ता यिउ सिन–मिङको छ।

यस्ता प्लेटफर्ममार्फत गरिएका गतिविधिले परिवारका सदस्यबीचको सहभागितालाई सहज बनाउने अध्ययनले देखाएको उनी बताउँछन्।

यो सर्वेक्षण पोस्ट महामारीको समयमा  परिवारको खुसीको स्तर नाप्ने उद्देश्यले गरिएको सर्वेक्षक संस्था जकी क्लबले जनाएको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .