मुख्यभूमिको बहुप्रवेश यात्रा अनुमति नीतिप्रति हङकङका अल्पसंख्यक उत्साहित, कसरी दिने आवेदन?

मुख्यभूमिको बहुप्रवेश यात्रा अनुमति नीतिप्रति हङकङका अल्पसंख्यक उत्साहित, कसरी दिने आवेदन?

नयाँ व्यवस्थाले गैरचिनियाँ हङकङवासीलाई मुख्यभूमि भ्रमण गर्न प्रोत्साहित गर्ने विज्ञहरू बताउँछन् (एससीएमपी


नेपालखबर
असार १८, २०८१ मंगलबार १६:३४, हङकङ

विदेशी राहदानी बोक्ने हङकङका स्थायी बासिन्दाका लागि बेइजिङले गरेको नयाँ नीतिप्रति सहरका अल्पसंख्यक जातीय समुदाय उत्साहित देखिएका छन्।

बेइजिङले हिजो (सोमबार) गैरचिनियाँ हङकङका स्थायी बासिन्दालाई पाँच वर्षे बहुप्रवेश अनुमतिका लागि आवेदन खुला गर्ने घोषणा गरेको थियो।

१० जुलाईबाट आवेदन खुला गरिएको यस सुविधाका लागि मंगलबारदेखि अग्रिम बुकिङ गर्नेहरूको संख्या ह्वात्तै बढेको छ।

मंगलबार बिहान साढे ११ बजे ने वेबसाइटमा आजको कोटा पूरा भएको थियो। यद्यपि, सेवालाई दिउँसोबाट पुनः सुरु गरियो।

यो सुविधा लिन चाहने व्यक्तिले यात्रा कागजात (ट्राभल डकुमेन्ट) जारी गर्ने चिनियाँ सरकारी एजेन्सी चाइना ट्राभल सर्भिसमा अनलाइन आवेदन फाइल गर्नु पर्छ। र, मंगलबारदेखि २८ दिनभित्र सेवा केन्द्रहरूमा अपोइन्टमेन्ट तय गर्न सकिन्छ।

बेइजिङको यो निर्णयप्रति हङकङका प्रमुख कार्यकारी जोन लीले सोमबार नै स्वागत गरिसकेका छन्।

नयाँ व्यवस्थाले सहरका गैरचिनियाँ समुदायलाई राष्ट्रिय विकासमा योगदान पुर्‍याउन सहज हुने उनको प्रतिक्रिया छ।

यस्तै, हङकङका जातीय अल्पसंख्यक समुदाय पनि यो निर्णयप्रति खुसी देखिन्छन्।

जिल्ला काउन्सिलर रिजवान उल्लाहले वर्तमान भिसा आवेदन प्रक्रिया जटिल र समय खपत हुने खालको भएकोले जातीय अल्पसंख्यक समुदाय यात्रा अनुमतिका लागि आवेदन दिन इच्छुक रहेको बताए।

‘हामीले धेरै कागजात तयार गर्नु पर्छ। हामीसँग भिसा भए पनि अधिकारीहरूले धेरै प्रश्न सोध्ने भएकोले अध्यागमन प्रक्रिया पूरा गर्न लामो समय लाग्छ,’ यसअघिको भिसा प्रक्रियाबारे उल्लाह भन्छन्।

‘चीन सरकारले अब हामीलाई चीनको हिस्साको रूपमा व्यवहार गरिरहेको छ,’ नयाँ व्यवस्थाबारे खुसी हुँदै उनी भन्छन्, ‘मलाई विश्वास छ कि हामीसँग फरक व्यवहार हुनेछ किनभने हामी अब विदेशी मानिँदैनौँ।’

हङकङको जातीय अल्पसंख्यक समुदायका सदस्यले बैंक खाता खोल्न, कार्यालयहरू स्थापना गर्न र मुख्यभूमिमा ड्राइभिङ इजाजतपत्रका लागि थप सहज रूपमा आवेदन दिन सक्ने भएकाले नयाँ व्यवस्थाले एकीकरणलाई बढावा दिने उल्लाह बताउँछन्।

नयाँ व्यवस्थाअन्तर्गत अब गैरचिनियाँ यात्रा अनुमति प्राप्त व्यक्तिले लगानी, आफन्त भेटघाट, पर्यटन, व्यापार, सेमिनार जस्ता छोटो अवधिको उद्देश्यका लागि मुख्य भूमिमा प्रवेश गर्न सक्नेछन्।

पाँच वर्षको वैध अवधिभित्र धेरै पटक प्रवेश गर्न पाउने उनीहरूले प्रतिभ्रमण ९० दिनसम्म त्यहाँ बिताउन पानेछन्। तर, त्यहाँ काम गर्न, अध्ययन, समाचार संकलन जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ।

यदि, यो कार्य पनि गर्न चाहनेले भने हङकङको ९ मकाउमा समेत० परराष्ट्र मन्त्रालयका आयुक्तको कार्यालय वा राष्ट्रिय अध्यागमन प्रशासनमा छुट्टै आवेदन दिनु पर्दछ।

बहुप्रवेश यात्रा अनुमति प्राप्त व्यक्तिले अब ‘फिंगर प्रिन्ट’ जस्ता सामान्य प्रक्रियाबाटै अध्यागमन प्रक्रिया पूरा गर्ने छन्।

यस्तै, जातीय सद्भाव प्रवद्र्धनका लागि सरकारले नियुक्त गरेको समितिका सदस्य इलियास मोहम्मद पनि नयाँ नीति आफूलाई राम्रो लागेको बताउँछन्।

हङकङ डलर २६० मा पाँच वर्षको बहुप्रवेश ट्राभल इजाजत पाउनु हङकङका जातीय अल्पसंख्यक समुदाय र मुख्यभूमिका व्यवसायी दुवैलाई ‘विन-विन’को अवस्था हो।

‘किनभने, यो सुविधाअन्तर्गत धेरै मानिस व्यापार र किनमेल गर्न मुख्यभूमि जानेछन्, ‘मोहम्मद भन्छन्, ‘हामी धेरै खुुसी छौँ, हङकङ र चीनले हाम्रो बारेमा सोचेका छन्।’

यस्तै, हङकङका राजनीतिक व्यक्तिले पनि बेइजिङको यो घोषणालाई स्वागत गरेका छन्।

न्यु पिपुल्स पार्टीकी सांसद युनिस युङ यसअघिका नीति व्यापार-यात्रामा सीमित रहेको र नयाँ व्यवस्था चाहिँ यात्राको उद्देश्यलाई फराकिलो पारिएको मत राख्छिन्।

यो व्यवस्थाले गैरचिनियाँ हङकङवासीलाई मुख्यभूमि भ्रमणमा प्रोत्साहित गर्ने उनको धारणा छ।

‘नयाँ व्यवस्थाले उनीहरूलाई मुख्यभूमिको बारेमा थप जान्न सघाउँछ,’ सांसद युङले एक रेडियो कार्यक्रममा भनिन्, ‘यसले हङकङ र चीनका राम्रा कथा सुनाउने उपयुक्त अवसरको रूपमा काम गर्दछ।’

प्रमुख कार्यकारी ली पनि ‘एक देश, दुई प्रणाली’को सहरको शासकीय सिद्धान्तलाई नयाँ व्यवस्थाले नजिकबाट चिनाउने अपेक्षा राख्छन्।

‘मलाई विश्वास छ कि यसले गैरचिनियाँ स्थायी बासिन्दा र मुख्यभूमिबीचको अन्तरक्रिया बढाउनेछ,’ ली भन्छन्, ‘यसले पक्कै पनि दुवैतिर राम्रा कुरा ल्याउनेछ।’ (एससीएमपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .