हङकङबाट टोकियो जान लागेका यी दुई यात्रु, जसलाई दृष्टिविहीन भएकै कारण विमानबाट निकालियो

पीडित भन्छन्– चालक दलका सदस्यले हामीसँग अपराधीलाई जस्तै व्यवहार गरे
हङकङबाट टोकियो जान लागेका यी दुई यात्रु, जसलाई दृष्टिविहीन भएकै कारण विमानबाट निकालियो

एन्डी चुई (बायाँ) र जोन ली, हङकङ ब्लाइन्ड युनियनले गरेको पत्रकार सम्मेलनमा। उनीहरूलाई २२ मेमा टोकियोको लागि प्रस्थान गर्ने उडानबाट बाहिर निकालिएको थियो (सबै तस्बिर : एससीएमपी)


नेपालखबर
असार २३, २०८१ आइतबार १५:३८, हङकङ

दृष्टिविहीन भएकै कारण हङकङको क्याथे प्यासिफिक एयरवेजको बजेट क्यारिअरले दुई यात्रुलाई विमानबाट निकालेको घटनालाई लिएर दृष्टिविहीनहरूको पक्षमा काम गर्ने युनियनले विरोध गरेको छ।

हङकङ ब्लाइन्ड युनियले आइतबार क्वान तोङमा पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान गर्न आग्रह गरेको हो।

‘अपमानजनक एवं आपत्तिजनक’ कदम चाल्ने चालक दलका सदस्यलाई कारवाही गर्न समेत युनियनले एयरलाइन्ससँग माग गरेको छ।

यता एयरलाइन्सले भने यात्रुहरूलाई परेको असुविधाप्रति माफी माग्दै चालक दलका सदस्य (एयर क्रु)ले गरेको निर्णयलाई ‘सुरक्षामा आधारित’ भनेर बचाउ गरेको छ।

घटना २२ मेको हो। उक्त दिन दिउँसो एचके एक्सप्रेसद्वारा सञ्चालित टोकियो (जापान)को उडानमा चढेका एन्डी चुई र जोन लीले उक्त समस्या भोग्नु परेको थियो।

३४ वर्षीय चुई र २७ वर्षीय लीले आफ्नो अशक्तताको बारेमा पहिले नै एयरलाइन्सलाई सूचित गरिसकेका थिए। जसअन्तर्गत उनीहरूको चेक-इन पनि सहजै सम्पन्न भएको थियो। उनीहरूलाई चालक दलका सदस्यले सुरक्षा प्रक्रियाको बारेमा समेत जानकारी गराइसकेका थिए।

यद्यपि, विमान प्रस्थानको समयभन्दा केही मिनेटअघि चालक दलका सदस्यले उनीहरूको साथमा अभिभावक भए/नभएको जानकारी मागेका थिए। तत्पश्चात् ‘सुरक्षा कारण’ बताउँदै उनीहरूलाई विमानबाट ओर्लन भनिएको थियो।

‘हामीले सुरक्षा मापदण्ड पूरा नगरेकोले उडान लिन नसक्ने भनिएको थियो,’ चुईले भने, ‘क्रु सदस्यले हामीसँग पाइलटले आदेश दिएको बताए।’

विमानबाट ओर्लन भनेपछि अलमलमा परेका यात्रुले चालक दलका सदस्यसँग उचित कारण माग्दै थिए तर उनीहरूले लीको पाखुरामा समाते र विमानबाट ओराले। चुईलाई पनि उसैगरी बाहिरिन बाध्य पारियो।

एचके एक्सप्रेस बाहेक अन्य एयरलाइन्ससँग यस्ता समस्या सामना गर्नु नपरेको ब्लाइन्ड युनियनका अध्यक्ष वोङ बताउँछन्

चुई र लीलाई त्यसरी ओरालिँदै गर्दा विमानका अन्य यात्रु अचम्ममा पर्दै दृष्टिविहीनलाई नियमित उडानमा अनुमति नदिइनुबारे प्रश्न गरेको पीडितहरू बताउँछन्।

‘हामीले आपत्तिजनक र लज्जित महसुस गर्‍यौँ,’ चुई भन्छन्, ‘उनीहरूले हामीसँग अपराधीलाई जस्तै व्यवहार गरिरहेका थिए।’

चुईले थपे, ‘हामीलाई अर्को उडानको टिकट किन्न भनियो जुन अन्य एयरलाइन्सद्वारा सञ्चालित थियो।’

अपमानित हुनुपरेपछि चुई र लीले युनियनलाई खबर गरेका थिए, जसले नागरिक उड्डयन विभागमा सम्पर्क गर्‍यो।

विभागको हस्तक्षेपछि पीडित दुई यात्रु राति ११ बजे टोकियोको लागि एचके एक्सप्रेसको अर्को उडानमा चढेका थिए।

यस घटनापछि चुई र लीले एयरलाइन्ससँग स्पष्टीकरण माग्दै इमेल पठाए र फोनमार्फत समेत जानकारी मागे।

तर, एयरलाइन्सको जवाफ चित्तबुझ्दो आएन। एक ग्राहक सेवा प्रतिनिधिले ‘ओभरबुकिङ’ का कारण सुरुको उडानमा सिट अस्वीकार गरिएको बताए।

साथै, उडानबाट हटाउन निर्देशन दिने र हटाउने व्यक्तिको पहिचान गर्न नसक्ने जवाफ कम्पनीले दियो।

आइतबारको पत्रकार सम्मेलनमा बोल्दै ब्लाइन्ड युनियनका अध्यक्ष बिली वोङ बजेट एयरलाइन्सका विरुद्ध दृष्टिविहीनका सम्बन्धमा आफूले यो दोस्रो गुनासो प्राप्त गरेको बताउँछन्।

यस्तो गुनासो उनले पहिलो पटक गत वर्ष सुनेको थिए। जहाँ एक दृष्टिविहीन ग्राहकलाई उनको असक्षमता प्रमाणित गरी उनको शारीरिक एवं मानसिक आवश्यकताको हेरचाह गर्न सक्ने वयस्कसँग यात्रा गर्न भनिएको थियो।

अध्यक्ष बिली वङ (बीचमा) पत्रकार सम्मेलनमा बोल्दै

यो घटनामा पनि युनियनको हस्तक्षेपछि कम्पनीले माफी माग्दै ती सेवाग्राहीलाई आवश्यक सेवा प्रदान गरेको थियो।

एचके एक्सप्रेस बाहेक अन्य एयरलाइन्ससँग यस्ता समस्या सामना गर्नु नपरेको वोङ बताउँछन्।

आफूलाई जानकारी भएसम्म नागरिक उड्डयन विभागले जारी गरेको दिशानिर्देशमा समेत यस्तो नियम नभएको उनले बताए।

पछिल्लो घटनाका सम्बन्धमा एयरलाइन्सले विस्तृत अनुसन्धान गरी घटनाको पूर्ण विवरण दिन वोङले आग्रह गरे।

साथै, अपाङ्गता भएका व्यक्तिको आवश्यकता र  अधिकार सुनिश्चित गर्न अनुगमन बढाउन उनले उडड्यन विभागलाई आग्रह गरे।

यता एचके एक्सप्रेसका वाणिज्य निर्देशक कि किट वङ भने एयरलाइन्सले दुई यात्रुलाई जबरजस्ती हटाएको अस्वीकार गर्छन्।

‘चालक दलले गरेको निर्णय पूर्णतया सुरक्षामा आधारित थियो,’ ‘दुई यात्रुलाई पर्न गएको असुविधा र ढिलाइका लागि हामी क्षमाप्रार्थी छौँ।’

ती यात्रुले साथीविना नै सुरक्षित यात्रा गर्न सक्छन् भन्ने पुष्टि भएपछि उनीहरूलाई अर्को उडानमा पुनः समायोजन गरिएको किले बताए। (एससीएमपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .