चीनको बेइजिङ भ्रमणले शरीर त थाकेको थियो तर मन भने अझै यात्रा गर्न लालायित नै थियो। यस्तै महसुस हुँदै गर्दा ग्वान्दोङ प्रान्तको भ्रमण गर्ने प्रस्ताव आयो।
‘भाइ! तिमी त साहसिक मान्छे। गर्मी मौसम छ पानीमा डुब्दै छलाङ मार्दै र्याफ्टिङ समेत गर्ने दुई दिने ट्रिप छ। हङकङको सीमा नजिकै हो के! गाडीमा घुम्ने ट्रेनमा फर्किने। यस्तो दिन फेरिफेरि जुर्ला/नजुर्ला जानु पर्छ है,’ मिग अल्फाका दाइ इन्दर पुनले प्रस्तावको जाल फाल्नुभयो।
मलाई पनि कता कता दुई साताअघिको बेइजिङ भ्रमणले धित नमरेको हो कि जस्तो त भएकै थियो। अनि भनेँ, ‘पख्नुस् दाइ, म हिसाब गर्छु!’
मेरो वाक्य पूरा हुन नपाउँदै दाइ फ्याट्ट बोलिहाल्नुभयो, ‘के हिसाब गर्ने हो र! केही सय डलरको कुरा त हो नि!’
तर दाइले भने जस्तो मेरो वित्तीय हिसाब बिल्कुल थिएन। कम्पनीले दिलाउने बिदाको हिसाब एकातिर भने परिवारको सरसल्लाह पनि अर्कोतिर बाँकी नै थियो। पहिले जस्तो स्वतन्त्र दैनिकी अलि छैन। दुई पाङ्ग्रे रथ कुदाउन जो थालिएको छ, अर्धाङ्गिनीजीसँग सल्लाह पनि गर्नुपर्थ्यो।
इन्दर दाइले भने जस्तै दुई दिने भ्रमण त हो, हिसाब मिल्ने जस्तो देखियो। भोलिपल्ट आइतबारको नियमित छुट्टी, पर्सिपल्ट हङकङ चिनियाँ शासनमा फर्केको २७औँ वर्षगाँठको उपलक्ष्यमा छुट्टी। हङकङले जुलाई १ मा बेलायती उपनिवेश चीनमा फिर्ता भएको वर्षगाँठ मनाउँछ।
छुट्टीको सवालमा मेरो लागि ‘अजिङ्गरको आहारा दैवले जुराउँछ’ भनेझैँ भयो। तर, बेइजिङ भ्रमण सकेलगत्तै श्रीमतीले ‘अब अर्को वर्ष मात्रै घुम्ने है’ भनेकी थिइन्। ग्वान्दोङ घुम्ने प्रस्ताव उनलाई सहजै स्विकार्न कठिन भयो। तैपनि जसोतसो मनाइयो।
बिहान झिसमिसेमै ल्होहु लोकमा चाउको ट्रेन समातेर चीनको दुई दिने भ्रमणको तयारी भयो। हामीलाई नयाँ ठाउँसँग जोडिन सहज बनाउन आदरणीय डोम राना दाइले भूमिका खेल्नुभएको थियो।
त्यस क्षेत्रको अद्भुत प्रकृतिभित्रको शान्त आनन्दबारे वर्णन गरिसक्नुभएको थियो। यात्रा सुरु गर्नुअघि दाइलाई फोन गरेँ। एकफेर जानैपर्ने ठाउँ भनेर हौस्याउँदै शुभयात्राको कामना गर्नुभयो।
यात्राको पहिलो दिन
बिहानीको झिसमिसेमै हङकङ चाइना सीमाक्षेत्रमा चल्ने लो वु, लोकमा चाउ अन्तरगत लोकल रेल्वेतर्फको स्टेसन पुग्न मङकक काउलुन तोङ आदानप्रदान गर्ने ६ बजेको पहिलो रेल समातेको करिब १ घण्टा १५ मिनेटमा ल्होहु स्टेसनबाट बाहिर उत्रियौँ। घडीले हङकङ समय ७:१५ बजाएछ। त्यति बिहानै अध्यागमन परिसर आन्तरिक पर्यटकले खचाखच भरिएर कुनै हटिया बजारको मेलाझैँ थियो।
अध्यागमन नजिकैको मोहडामा एक जना खाइलाग्दा पुरुष कालो चस्मा र छत्रे टोपी ढल्काएर अघिपछि गरिरहेका थिए। जापानिज, कोरियन जस्ता देखिने उनी पल्याकपुलुक आँखा डुलाइरहेका थिए। उनका आँखाले कसैलाई खोजिरहेको जस्तो देखिन्थ्यो।
यसैबीच हामीसँग उनको आँखा जुध्यो। अनि नेपाली शैलीमा ‘चौशान है चौशान’ पो भन्छ! बल्लतल्ल स्वरले मात्रै ठम्याइयो- मिग अल्फा ट्राभल्सका सीईओ अनि हाम्रो भ्रमणका सारथी इन्दर पुन दाइ पो हुनुहुँदो रहेछ!
सबै जना समयमै नआइपुगेको भनेर गुनासोजन्य गफगाफ हुँदैथियो अन्य सदस्य पनि फटाफट आउन थाले, संख्या ह्वात्तै बढ्यो।
मसँग दुईहप्ता अगाडिको बेइजिङ भ्रमणले दिलाएको मल्टिपल भिसा छँदैछ, कुनै आपत्ति पर्दैन सिधै अध्यागमन पार गरिन्छ ढुक्कले! मनमा कुरा खेल्दै थियो। तर, ट्राभल्सको दाइ इन्दर पुन ग्रुप भिसा हो यो, सबै जना क्रमबद्ध लाइनमा बस्नुपर्ने हुन्छ। भन्दै सबैलाई लाइनमा पो राख्नुहुन्छ!
अध्यागमन प्रवेशमा ग्रुपिङ भिसा प्रक्रियाले छिनछिनमा लाइन फेरबदल गर्दै दिइएको झमेला पट्यारलाग्दो थियो। अढाई घण्टासम्म ठिङ्गरिङ्ग उभ्याइराख्दाको क्षण दण्ड नै हो जस्ता भान भएको थियो।
हवाईमार्गको तुलनामा सडकमार्ग सहज थिएन अध्यागमन पार गर्न। अव्यवस्थित भीड छिचोल्दै अध्यागमन पार गर्दा झन्डै ११:३५ बजिसकेको थियो। हङकङमा भन्दा सीमाक्षेत्र सेन्जेन सहरको तापक्रम केही उकालो लाग्दो थियो। प्रचण्ड गर्मीले अध्यागमन पारपछिको क्रममा एकैछिन भए पनि मज्जैले सेकायो।
हामीलाई बस कुरिरहेको थियो। हाम्रो समूहले तीन वटा बस टनाटन भरिएछ। १ सय २६ जनाको जम्बो टिम भएछ।
चीनको बलियो अर्थनीतिले आधिझैँ उर्लिएको विकासको तीव्र गतिले मन लोभ्यायो। सँगै भ्रमणमा निस्किएका मित्र जसबहादुर पुन (चोचाङ्गी काइला) बसको अगाडिको सिटमा बस्नुभयो म अलि पछिल्लो सिटमा परेँ।
दुवै जनाले चीनको चामत्कारिक विकासको लहर हेर्ने निधो गर्यौँ। विशाल बहुआयामिक लगानी र बहुउद्देश्यीय परियोजनाले सेन्जेन सहर चम्किरहेको थियो।
राजमार्गको बायाँ साथमा देखिँदै गरेको सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलले गरेको स्तरउन्नति साथै सडकको आकार रंगशाला खेलमैदान जस्तै लाग्थ्यो। एक साथ ५/६ वटा गाडी हुइँकिरहेको देख्दा हामी चीन नभएर अरू कुनै देशमा छौँ कि जस्तो लाग्थ्यो।
सन् २०१२ ताकाको सेन्जेन भ्रमण र त्यसको ठिक १० वर्षपछि अहिलेको यो सेन्जेन आकाश-पाताल फरक देखिन्थ्यो।
आहा ! अर्काको देश यस्तो छ! हाम्रो देश कहिले यस्तो बन्ला? विकासमा फड्को मारेको चीनको प्रगतिबारे चोचाङ्गी काइला सरजीसँग लामो भलाकुसारी चल्यो।
सुरुङ खेतीका लागि प्लास्टिकबाट बनेको संरचनाले जमिनमा सेताम्मे घुम्टो ओडिरहेको देखिन्थ्यो। हरियाली वन जङ्गल नभएको ठाउँ भेटिदैँनथ्यो। निर्यात गरिँदै गरिएको सवारीको उरुङ बोकेर सडकमा दौडिरहेको सटल गाडी र मालबाहक ट्रकको उत्तिकै बाक्लो लस्कर थियो। घमाइलो मौसममा चीनको त्यो लोभलाग्दो विकास हेर्दै र त्यहाँका जीवन्त वातावरणको मजा लिँदालिँदै हामी सवार बस किङ्युआन सहरभित्र पार्किङमा रोकियो।
हामीले भनिरहेको अङ्ग्रेजी शब्दको किङ्युआनलाई चिनियाँले चियुन्वान भन्दा रहेछन्। त्यसपछि हामीले पनि चियुन्वान उच्चारण गर्न थाल्यौँ।
चियुन्वान सिटीको निकै फस्टाएको चर्चित एउटा विशाल रेस्टुरेन्ट रहेछ। यो रेस्टुरेन्ट जो दिल खोलेर हामीलाई आतिथ्य पोख्न आतुर थियो।
खाना डाइनिङ टेबलमा आइसकेछ पूर्वतयारीको साथ। लामो यात्राको थकान अनि भोकप्यास सहेको हाम्रो टोली खाना खाएपछि भने जोसिलो मुडमा देखियो।
दिनले अपरान्हको समय संकेत गर्दैथियो। हाम्रो टोली स्काई-वाक प्लेटफर्म भ्युको अवलोकन गर्ने तयारीमा जुट्यो।
यसभन्दा अघि कृषि उत्पादन र त्यसमा पनि लोकल कुखुराको लागि प्रख्यात चियुन्वानमा केही समय भुल्यौँ। हामी फ्रेस कुखुरा पाउने कटेजमा केन्द्रित भएर अध्ययनमा जुट्यौँ। यसको अद्वितीय विशेषता र आर्थिक मूल्यका लागि परिचित क्षेत्रको भ्रमण गर्यौँ।
यहाँबाट पहाडको टुप्पामा टावर जस्तो देखिन्थ्यो। त्यहाँसम्म पुग्न टिकट लिएर बस चढ्नुपर्ने रहेछ। जब बस अघि बढ्यो धरानबाट भेडेटार जाँदै गरेको आभास हुन थाल्यो। मर्दीझैँ छङछङ बगिरहेको खोला, हरियाली जंगल र पहाड छिचोलेपछि पुगिने स्काई-वाक प्लेटफर्म त पुगियो तर त्यहाँ पुगेपछि पाइला नै सर्दैन कसरी हेर्ने भ्यु?
प्राय: सबै जना त्रसित देखिन्थे। एकछिनपछि गाइडले ग्लासमा हिँड्ने प्राविधिक ज्ञान सिकाए। तैपनि मनमा बाजा बजिरहेको थियो। सबैले भ्युको गोलाकारम पाइला टेक्नैपर्ने इन्दर दाइको अडान थियो।
केही दिदी, आन्टीहरूलाई आँखा बन्द गराएर भए पनि भ्यु टावर परिक्रमा गरायौँ। त्यतिबेला आकाशमा अडिएको पक्षीले पृथ्वी नियालेको कल्पना गर्दैगर्दा सूर्यास्त भइसकेको थियो। मनमोहक दृश्यभित्र रमाइरहेका हामीलाई एकाएक सप्तरङ्गी रङले लपक्कै रंग्यायो।
वरिपरिको चारकोसे जङ्गल सिङ्गै ज्योति बनेर आयो। पहाडका रङ्गीबिरङ्गी फूल ढकमक्क फुलेर आकार बदलियो। एकैछिनमा सङ्गीतमय वातावरण बन्यो।
हामी नेपाली पनि के कम! कोही नाच्न थाल्यौँ, कोही गीत गाउन त कोही भजन गाउन थाल्यौँ। त्यतिबेला हामी कुनै रंगीन चाडपर्वको परिवेशमा छौँ झैँ लाग्थ्यो। निकै अविस्मरणीय क्षण थियो त्यो।
प्रविधिको विकासले दुनियाँ अर्कै बनेको छ भन्ने सुनिआएकै हो, यही रहेछ भन्ने लाग्यो। हरेक दृश्य यति मनमोहक थिए कि आँखा अघाइन्जेल त हेरियो नै तस्बिर नखिची जमिनमा ओर्लन मनै मानेन। कतिपय ठाउँ घुम्नैपर्ने ठाउँ हामीले नघुमी गुमाइरहेका हुँदा रहेछौँ।
यसपछि नजिकैको रेस्टुरेन्टमा खाना खाएर क्राउन प्लाजा होटेल पुग्दा रातको ११ बजिसकेको थियो। पहिलो दिन यसरी नै बित्यो।
दोस्रो दिन
भोलिपल्ट छिङ्चुआन गुलङ्सा एड्भेन्चर क्षेत्रको भ्रमण कार्यक्रम थियो। सबेरै उठ्यौँ। लन्च ढिला हुने हुँदा नास्ता राम्रैसँग गर्नुहोस् भन्ने मिग अल्फा ट्राभल्सकी कर्मचारी बहिनी सुवानी पुनको ब्रिफिङ थियो।
क्राउन प्लाजा होटलको नास्ता असाध्यै मिठो, थपेर खायौँ। बिहान १० बजेअघि नै पुग्ने कार्यक्रम थियो। र्याफ्टिङ अर्थात् जलयात्राका लागि अघिल्लो दिन यात्रा गरेको उही परिचित करिडोर हुँदै गुलङ्सा एड्भेन्चरतर्फ हाम्रो बसले गति लियो।
प्रकृति र मानव संरचनाका विविध दृश्यको मज्जा लिँदै रमणीय वन र शान्त नदी किनार हुँदै अन्य मनमोहक सौन्दर्यले मोहित पार्ने उत्कृष्ट गुलङ्सा एड्भेन्चर हाम्रो लागि नितान्त नौलो गन्तव्य थियो। एड्भेन्चरका लागि आवश्यक सामग्री सडकपेटीको किराना पसलमा खरिद गरेपछि गाडीले फेरि गति लियो।
रङ्गशाला जस्तो फराकिलो चौडा भएको पक्की सडक एकाएक बदलिन थाल्यो। समथर अनि फराकिलो सडक र सहर एकै पटक साँघुरिन थाल्यो। ठूलठूला चट्टाने पहाडमा हरियाली घना जङ्गलको सडक हुँदै गाडी अगाडि बढ्न थाल्यो।
आँखा अगाडि पर्दा बनेर घेरिएको सडक किनारको त्यो लोभलाग्दो दृश्य अनि मर्स्याङ्दी नदीझैँ लाग्ने निलो पानीको बहाव भएको बेई-जिआङ नदीको नागबेली रूपसँगै आसपासका ग्रामीण उपत्यकाको मनोरम दृश्यावलोकन गर्दै अघि बढियो।
नदी किनारको यो मनोरम दृश्य छोड्न मन थिएन तर गाडीले दायाँ मोड लिइहाल्यो। सडकपेटीमा पातलो गरि बनेका होटल, रेस्टुरेन्ट त कतै छाप्राबास घर, कटेज हुँदै गुलङ्सा एड्भेन्चरस्थलमा पुगियो। यो वास्तवमै अद्भुत रहेछ।
वरिपरिको पहाडमा हरियाली घना जङ्गल, खोला, खोल्सा, झरना भीरपहरा छिचोल्दै तालमा घुमिरहेका भेडाको बथानसरह थुप्रिएका र्याफ्टिङ गर्ने पर्यटकले हाम्रो ध्यान खिचिरहेको थियो।
जलाशयमा युगल तन्नेरी देख्दा कतिखेर आफ्नो पालो आउँछ भनेर हामी कौतुहल मेटाउन आतुर थियौँ। त्यो कौतुहल पनि छिट्टै मेटियो। आधा घण्टाको समय लाग्ने त्यो जलयात्रा कति छिटो बित्यो पत्तै भएन।
‘आफ्नै गाउँठाउँ पर्वत (नेपाल)को कुश्मा पाङस्थित नयाँ पुल तथा मालढुंगाहुँदै सुरु हुने तीन दिने र्याफ्टिङ गर्छु भन्दा पनि समयको चाँजोपाँजो मिलाउन सकिएको थिएन,’ मित्र जसबहादुर पुन खुसी व्यक्त गर्दै हुनुहुन्थ्यो, ‘सपनामै सीमित रहेको मेरो र्याफ्टिङ गर्ने रहर आज चियुन्वान जलाशयमा पूरा भयो।’ मिग अल्फा ट्राभल्सले दिएको यो अवसरप्रति उहाँ नतमस्तक देखिनुहुन्थ्यो।
भ्रमणमा दलमा रहेकी बहिनी हेस्ना तामाङलाई पनि खुसी कता पोखौँ भएछ। ‘परीक्षा सकेर बेलायतबाट हङकङ आएको बेला नजिकै कतै घुम्ने ठाउँको खोजीमा थिएँ,’ उनी खुसी साट्छिन्, ‘साथीहरूको सल्लाहमा चाइना स्काई-वाक घुम्न मौका जुर्यो, चीनको विकास देख्दा चकित परेँ हाउ।’
छिमेकी दाइ नवीन देवान पनि नयाँ वातावरणमा घुम्न पाउँदा गजक्कै हुनुहुन्थ्यो। ‘बिहानैबाट घुम्न सुरु गरेर साँझसम्ममा पनि घुमिसक्न हम्मे पर्ने रहेछ,’ उनी सुनाउँछन्, ‘यो ठाउँ हङकङ लगायतका आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य रहेछ।’
मिग अल्फा ट्राभल्सले चिनियाँ भाषामा राम्रो दक्खल भएको नेपाली दोभाषेको व्यवस्था गर्ने हो भने धेरै नेपाली समुदायले यो ठाउँको घुमफिर गरेर आनन्दित हुन पाउने धेरैको मत देखिन्थ्यो। उनीहरू आ-आफ्नो अनुभव पनि सुनाइरहेका थिए।
‘दस वर्षपछिको यो विदेश भ्रमण अविस्मरणीय बन्यो,’ अम्बिका राई दिदी भन्दै हुनुहुन्थ्यो, ‘जीवनकै महत्त्वपूर्ण मज्जा अनुभव गरियो नि भाइ!’ यसै बेला नेन्ची भोटिया दिदिले थपिहाल्नुभयो, ‘र्याफ्टिङबारे मैले सुनेको मात्रै थिएँ, अहिले मज्जा नै लिन पाइयो।’
मङकक बस्ने मुना राना बहिनी पनि उत्साहित हुँदै सुनाइरहेकी थिइन्, ‘अबको छुट्टी चाहिँ भ्रमणमै बिताउँछु। फेरि पनि छुट्टीमा अन्य साथीसँग मिलेर आउने सोच बनाइरहेको छु।’
यसपछि भने लन्च खाएर सेन्जेन अध्यागमनसम्म गाइडसँगै बसमा यात्रा गरी छुट्टियौँ।
Shares
प्रतिक्रिया