हङकङमा टाइफुन १ संकेत बेलुका ५ बजेसम्म रहने, लम्बिन पनि सक्ने

हङकङमा टाइफुन १ संकेत बेलुका ५ बजेसम्म रहने, लम्बिन पनि सक्ने

अब्जर्भेटरीका अनुसार अस्थिर मौसम सोमबारसम्म रहनेछ र मध्य हप्तापछि सुधार हुनेछ (एससीएमपी)


नेपालखबर
साउन ६, २०८१ आइतबार १०:५५, हङकङ

हङकङ अब्जर्भेटरीले आइतबार साँझ कम्तीमा ५ बजेसम्म एक नम्बर टाइफुन संकेत जारी रहने जनाएको छ।

हङकङमा शनिबार राति १०:४० मा टाइफुन नम्बर १ संकेत जारी गरिएको थियो।

उष्णकटिबन्धीय आँधी दक्षिण चीन सागरको मध्य भाग हुँदै हाइनान टापुको वरपर सर्ने पूर्वानुमान गरिएकाले १ नम्बर संकेत बेलुका ५ बजेसम्म रहने जनाएको हो।

‘पछिल्लो दुई घण्टामा, उष्णकटिबन्धीय आँधीले थप उत्तरी मार्ग अपनायो,’ बिहान ११:४५ को अब्जर्भेटरीको सूचनामा भनिएको छ, ‘हालको पूर्वानुमानअनुसार उष्णकटिबन्धीय आँधीले आज राति र भोलि बिहान हाइनान टापुमा ल्यान्डफल गर्नेछ।’

यसको बाहिरी रेनब्यान्डले पर्ल नदी मुहानको वरपरको क्षेत्रलाई असर गरिरहेको सूचनामा भनिएको छ।

‘स्थानीय रूपमा, कहिलेकाहीँ अपतटीय र उच्च क्षेत्रमा तीव्र हावा चलिरहेको छ। त्यसैले, टाइफुन १ संकेत कम्तीमा साँझ ५ बजेसम्म लागू रहनेछ,’ सूचनामा उल्लेख छ।

यो आँधी हाल (मध्यान्ह) हङकङको ६९० किलोमिटर दक्षिण–पश्चिममा रहेको अनुमान गरिएको छ। साथै, आज (आइतबार) राति र भोलि बिहानसम्म हाइनान द्वीपमा अवतरण गर्ने पूर्वानुमान गरिएको छ।

आँधीको अवस्था हेरेर ५ बजेपछि संकेत जारी गर्ने/नगर्ने निर्णय गर्ने अब्जर्भेटरीले जनाएको छ। यदि आवश्यकता देखिएमा यो संकेत लम्बिन पनि सक्छ वा थप हुन सक्छ।

‘पर्ल नदी मुहान र उष्णकटिबन्धीय आँधीबीचको दूरी, यसको तीव्रतामा परिवर्तन र स्थानीय हावाको अवस्थाको आधारमा अब्जर्भेटरीले आज राति उच्च उष्णकटिबन्धीय चक्रवात चेतावनी संकेतहरू जारी गर्ने आवश्यकताको मूल्यांकन गर्नेछ,’ बिहान पौने १२ बजेको सूचनामा उल्लेख छ।

मौसम बिग्रिएको यस अवस्थामा पानीसम्बन्धी खेलहरू संलग्न नहुन, समुद्री किनारबाट टाढा रहन र मौसम अपडेटको जानकारी लिइरहन अब्जर्भेटरीले आग्रह गरेको छ।

अब्जर्भेटरीका अनुसार, आज हङकङको मौसम मुख्यतया बदली हुने र केही स्थानमा मेघ गर्जनका साथै चट्याङको सम्भावना रहेको छ। तापक्रम २८ देखि ३२ डिग्री सेल्सियसको बीचमा रहनेछ भने मध्यान्ह १२:३० को तापक्रम ३१.३ डिग्री सेल्सियस रहेको छ। त्यस्तै, अस्थिर मौसम सोमबारसम्म जारी रहनेछ र मध्य हप्तापछि सुधार हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .