रत्नप्रसाद खरेलले भन्ने गर्नुहुन्थ्यो, ‘राणा परिवारबाट सत्ता खोसेर शाह परिवारमा सुम्पिनका लागि मात्रै नेपाली जनताले ज्यानको बाजी लगाएर क्रान्ति गरेका होइनन्। सच्चा नेपाली सपूतहरूको बलिदानीप्रतिको ठूलो उपहास थियो पञ्चायती शासन पद्धति। यस शासन पद्धतिप्रति मेरो मनमा सधैँ वितृष्णा रह्यो र मैले यो व्यवस्थाको निरन्तर विरोध गरिरहेँ। तर सत्ता बाहिर रहेर गरेको विरोध त्यति प्रभावकारी नहुने भएकाले संसद्भित्रै रहेर व्यवस्थाको विरोध गर्नु उपयुक्त ठानेँ। त्यसैले २०१९ सालमा प्रतिनिधि सभा (राष्ट्रिय पञ्चायत)को निर्वाचनमा मैले उम्मेदवारी दिने निर्णय गरेँ।’
माथिको अनुच्छेद काठमाडौँमा आइतबार लोकार्पण गरिएको पुस्तक ‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ पुस्तकको हो।
पञ्चायतभित्र प्रतिपक्षको भूमिका निभाएका खरेल विसं. १९८१ मा काभ्रेको खरेलथोकमा जन्मिएका थिए।
खरेल राजा त्रिभुवनले गठन गरेको दोस्रो सल्लाहकार सभाको सदस्य तथा टंकप्रसाद आचार्यको नेतृत्वमा गठित मन्त्रिमण्डलमा अर्थ-उपमन्त्री थिए।
विसं. २०१७ मा राजा महेन्द्रको ‘कू’ पछि खरेल पनि पक्राउ परे। जेल बसे।
२०१९ मा भने उनी पञ्चायतमा छिरे। लेखको सुरुआतीमा भनिएजस्तै व्यवस्थाभित्रै छिरेर पञ्चायतको विरोध गरे। राजनीतिमा देखिएका विकृति, विसङ्गति र जनताका समस्याका बारेमा संसद्भित्रबाट खरो प्रस्तुति दिए।
२०३३ सालमा घरमै दुर्घटनामा परी खरेलको निधन भयो। निधन भएको ४८ वर्षपछि परिवारको अग्रसरतामा यो पुस्तक प्रकाशित भएको हो।
खरेलका आठ छोरी र एक छोरा छन्। छोरीहरूमध्ये कान्छी छोरी हुन् रोश्नी खरेल। हङकङ बसोबास रहेकी उनी पुस्तक लोकर्पणका क्रममा नेपाल आएका बखत काठमाडौँमा नेपालखबरले भलाकुसारी गरेको थियो।
सन् १९९७ मा हङकङ पुगेकी उनले सुरुमा ब्रिटिस कम्पनीमा काम गरिन्।
श्रीमान् हङकङमै रहेका कारण उनी पनि विवाह लगत्तै हङकङ पुगिन्। ब्रिटिस कम्पनीमा कस्टोमर सर्भिसको रूपमा काम थालिन्।
चीनमा सिभिल इन्जिनियरिङ पढेका श्रीमान् सुरेन्द्रप्रसाद ढकाल पढाइ सकेर फर्कने क्रममा १५ दिनको ट्रान्जिट भिसामा हङकङमा थिए। यतै जागिरको लागि निवेदन दिए, छनोट पनि भए।
हङकङमा सेटल भएपछि उनले रोश्नीसँग बिहे गरे अनि उतै लगे।
श्रीमतीलाई ब्रिटिस कम्पनीमा काम लगाए। आफू त जागिरे छँदै थिए।
ढकाल दम्पतीले सन् २००९ मा भने आफ्नै व्यवसाय खोले।
‘हङकङ आएपछि सुरुमा ब्रिटिस कम्पनीमा काम गरेँ। श्रीमान् टनेल वक्र्सहरूमा काम गर्नु हुन्थ्यो,’ रोश्नी भन्छिन्, ‘दुई जना नानी भए। उनीहरूलाई हुर्काउनतर्फ लागेँ। २००९ मा भने कति अर्काको मात्र काम गर्ने भन्ने भयो र आफ्नै कम्पनीको सुरुआत गरियो।’
प्यारामाउन्ट इन्जिनियरिङ कस्न्स्ट्रक्सन कम्पनीको स्थापनापछि श्रीमान् सुरेन्द्रले कम्पनीको बाहिरी व्यवस्थापन हेर्छन् भने रोश्नीले कार्यालयीय व्यवस्थापनको जिम्मेवारी सम्हालेकी छन्।
यो कम्पनीले हङकङमा सब–कन्ट्र्याक्टरको रूपमा काम गर्दछ। हङकङ-चीन जोड्ने फास्ट ट्र्याक रेलवे, हङकङ-मकाउ जोड्ने पुल, हङकङ एयरपोर्टमा बन्न लागेको थर्ड रन वे आदि यस कम्पनीका पछिल्ला प्रोजेक्ट हुन्।
‘हङकङमा हुने कन्स्ट्रक्सनका काममध्ये धेरैजसो त हाम्रै कम्पनीबाट हुने गरेका छन्,’ रोश्नी सुनाउँछिन्।
रोश्नी-सुरेन्द्रका दुई छोरी छन्। दुवै जना हङकङमै जन्मिए। यहीँ हुर्किए, यहीँ पढे र अहिले आफ्नै खुट्टामा उभिइसकेका छन्।
नेसनल युनिभर्सिटी अफ सिंगापुर (एनयूएस)बाट मास्टर्स गरेकी जेठी छोरी सोयना ढकालले फिनेकमा काम गर्छिन् भने हङकङ युनिभर्सिटीबाट ब्याचलर्स पूरा गरेकी कान्छी छोरी दीपमाला खरेल ढकाल ब्ल्याक रकमा आबद्ध छिन्। फाइनान्ससम्बन्धी अध्ययन गरेका दुवै छोरी अध्ययनअनुरुपकै पेसामा संलग्न छन्।
व्यवसायमा मात्र होइन यो परिवार सामाजिक कार्यक्रममा पनि उत्तिकै सक्रिय छ। हङकङमा रहेका नेपाली संघसंस्थाका पदीय जिम्मेवारीमा नरहे पनि यहाँका हरेक क्रियाकलापमा आफूहरूको प्रत्यक्ष संलग्नता रहने गरेको रोश्नी बताउँछिन्।
छोरीहरूले पनि सामाजिक क्रियाकलापमा चासो लिन्छन्। ‘छोरीहरू पनि नेपालीपनप्रति गर्व गर्छन्, संघसंस्थाका कार्यक्रममा भाग लिन्छन्,’ रोश्नी भन्छिन्, ‘उनीहरू आफ्नो संस्कार र संस्कृतिप्रति सचेत छन्। यहीँ जन्मे-हुर्के र पढे पनि उनीहरूको नेपाली भाषा राम्रो छ।’
रोश्नी खरेल, बुवाको पुस्तक लोकार्पणका क्रममा नेपालमा छन्। यसैले कुराकानीको मियो बुवा हुनु स्वाभाविक नै रह्योे। हङकङमा स्थापित व्यवसायी बनेकी उनले बुवालाई देख्न न त पाइन् तर अनुभव गर्न पाइनन्। उनी जम्मा ११ महिनाकी हुँदा बुवाको देह दैवले टिप्यो।
आफू अहिले जे-जस्तो स्थानमा छु, ‘चिन्नै’ नपाई ‘दैवको प्यारा’ बन्नुभएका बुवाकै कारण यो धर्तीमा आफ्नो अस्तित्व रहेको उनी बिर्सन्नन्।
तोतेबोली फुट्दै गर्दा बुवा गुमाएकी उनको बालमस्तिष्कले महसुस हुनेगरी बुवालाई देख्न, चिन्न त पाएन नै, उहाँका बारेमा अग्रजहरूबाट थाहा पाएको आधारमा आफ्नो बुझाइ यसरी सुनाइन्-
बुवा एक असल समाजसेवी हुनुहुन्थ्यो। सुरुमा राणा शासन विरुद्ध लड्नुयो। पछि पञ्चायतका विरुद्ध खरो उत्रनुभयो।
पञ्चायतकालमा पटक-पटक मन्त्री हुन आग्रह गरिँदा पनि जनताको काम हुने सुनिश्चित नभएसम्म बन्दिनँ भनेर अस्वीकार गर्नुभएको आमाले हामीलाई सुनाउनुहुन्थ्यो।
जनताको मर्म र भावनाअनुरुप काम हुँदैन भने त्यहाँ पद लिएर बस्नु हुँदैन भन्ने उहाँको मान्यता थियो।
मानिसहरू पदको लागि मरिमेटेको हामीले देख्ने गरेकै छौँ। तर, राजनीति त त्यागबाट पनि त हुँदो रहेछ नि। यो बुवाको जीवनबाट छर्लङ्ग हुन्छ।
छोटो आयु लिएर आएनुभएको हाम्रो बुवा लोकको प्रिय बन्नुभयो। आफ्नो नाममा मुखिया, बिचारी, खरेल बाजे हुँदै माननीय र मन्त्री विशेषण थपेर चाँडै नै हामीबाट बिदा हुनुभयो।
बुवाको असामयिक निधन चितवनको पिठुवामा भएको हो। हाम्रो परिवार काभ्रेबाट बसाइँ सरेर चितवन पुगेको थियो।
उहाँले समाजका लागि गरेको योगदान कति अविस्मरणीय थियो भन्ने कुरा उहाँको निधनपछि चितवनवासीले देखाएको मायाबाट अनुभव गर्न सकिन्छ।
उहाँको मलामीमा हजारौँ मानिस सहभागी भएका थिए रे। मानिसको भीडले पिठुवाबाट भरतपुरसम्म पुग्दा बाटो नै जाम भएको थियो भनेर अग्रजहरू सुनाउनुहुन्छ।
उहाँको सम्मानमा पिठुवावासीले सडकको नामकरण नै गरेका छन्। यहाँस्थित जनजागृति स्कुलदेखि दोबाटोसम्मको मार्गलाई ‘मन्त्री प्लट मार्ग’ नाम राखिएको छ।
यस्तै, काभ्रेको भगवती माविको प्राङ्गणमा उहाँको प्रतिमा स्थापना गरिएको छ। यहाँ पनि सडकको नाम उहाँकै नामबाट राखिएको छ।
पहिले पहिले काभ्रेबाट काठमाडौँ आउन तीन दिन लाग्थ्यो रे। बुवाकै अग्रसरतामा सडक बन्दा काभ्रेवासीलाई सहज रूपमा राजधानीसँगको पहुँच बढ्यो।
म पहिलो पटक काभ्रे जाँदा बसका चालकसँगको सम्वादले पनि यो कुरा पुष्टि गर्छ। जुन कुरा मैले किताबमा पनि उल्लेख गरेको छु।
उहाँको यही योगदानको कदरस्वरुप सडकको नाम ‘रत्न मार्ग’ राखिएको रहेछ।
बुवाको निधनमा राज्यले पनि एक दिन शोक बिदा दिएको थियो। तर, चितवन जिल्ला भने सात दिनसम्म बन्द रह्यो। यो चितवनवासीले स्वतःस्फूर्तमा रूपमा गरेको बन्द थियो। काभ्रेमा पनि त्यस्तै भयो रे। आमा-दिदीले सुनाउनुहुन्थ्यो।
रोश्नीले बुवासँगको आफ्नो सम्झना आइतबार लोकर्पण गरिएको लेखन कुञ्जद्वारा प्रकाशित पुस्तकमा पनि समेटेकी छन्।
‘बुवालाई सम्झिएको त्यो पहिलो दिन’ शीर्षकमा प्रकाशित उक्त लेख जस्ताको तस्तै–
बुवा हुनुहुन्थ्यो, त्यसैले म छु। बुवा हुनुहुन्थ्यो, त्यसैले मैले जन्मन पाएँ। यो संसार देख्न र अनुभव गर्न पाएँ। तर दुर्भाग्य भनौँ, बुवासँग बिताएका कुनै पनि पलहरू मेरो सम्झनामा छैनन्। म ११ महिनाकी हुँदा बुवाको स्वर्गारोहण भयो रे। तर यसको अर्थ मैले बुझ्न सकेकी थिइनँ। बाल्यकालदेखि नै उहाँको बारेमा सुन्दै हुर्किएँ। आमा हरपल सँगै हुनुभएकाले बुवाको अभाव कहिल्यै महसुस गरिनँ। जुन चिजको अनुभव आफूले जीवनभर गरेकै हुँदैन, त्यो चिजको याद कहिल्यै नआउँदो रहेछ। नदेखेको, नभेटेको बुवाको याद आओस् पनि कसरी?
हिजो जस्तै लाग्छ त्यो दिन जब म १६ वर्षकी हुँदी हुँ। आमासँग पहिलोपटक बुवाको जन्मथलो काभ्रेको खरेलथोक गएको थिएँ। हाम्रो यात्रा सुरु भयो। ड्राइभर दाइसँगैको त्यो पहिलो सिट, कोचाकोच मानिस, साघुँरो बाटोमा गुडिरहको बस। मेरो मनमा अनेक किसिमको डर र त्रासले डेरा जमाउँदै थियो।
म भन्दै थिएँ, “अलि बिस्तारै जाऊँ न दाइ। यस्तो डरलाग्दो भिर अनि खाल्डाखुल्डी बाटो रहेछ।”
उहाँ भन्दै जानुभयो, “डराउनु पर्दैन नानी! तपाईं यहाँ पहिलोपटक आउनुभयो जस्तो छ। अहिले त यो बाटो धेरै सहज भएको छ। एकै दिनमा काठमाडौँ आउन जान सकिन्छ। पहिले त निकै कठिन हुन्थ्यो। हिँडेर आउँदा जाँदा अनि वर्षायाममा त झनै साह्रो गाह्रो हुन्थ्यो। हाम्रा मन्त्री खरेल साहेब हुनुहुन्थ्यो र पो यो बाटो बनाइदिनुभयो। अहिले धेरै सजिलो भएको छ। उहाँ अझै बाँचिरहनुभएको भए हामीले अझ धेरै राम्रा दिनहरू देख्न पाउने थियौँ। तर के गर्नु दैव लाग्यो र उहाँलाई चाडै लिएर गयो।”
हामी सुनिरहेका थियौँ। उहाँले ‘मन्त्री खरेल’ भनेर बुवाको बारेमा पो कुरा गर्नुभएको रहेछ। आमाले पनि थप्दै जानुभयो, “हो नि भाइ! उहाँ बाँचिरहनुभएको भए हामी सबैलाई जाती हुने थियो तर दैवको अगाडि कसको के लाग्दो रहेछ र? म उहाँकी श्रीमती र उनी हाम्री कान्छी छोरी हुन्।”
बसमा धेरैजसो बुवाका छिमेकी हुनुहुँदो रहेछ। बाटोभरि बुवाको बारेमा सुन्दै गयौँ। आमाले पनि किताबका पाना पल्टाएजस्तै वर्षौंदेखिका उहाँका यादहरू ताजा गर्दै जानुभयो- “उहाँ जानु भएपछि मैले सबै दुःख झेलेर यी छोरीहरूलाई कहिल्यै बुवाको कमी हुन दिइनँ। हरेक आवश्यक चिजहरू आवश्यकता हुनुभन्दा अघि नै पुर्याइदिएँ ताकि उनीहरूले बुवाको अभाव कहिल्यै महसुस नगरून्।”
आमाका भावुक शब्दहरूमा म डुब्दै गएँ, हराउँदै गएँ। मेरा दुवै आँखा भिज्दै गए। आँसुका धाराहरू बग्न थाले। पहिलोपटक बुवाको कमी महसुस गरेँ अनि आमाको त्यो साहस, त्याग र बलिदानलाई अझै नजिकबाट बुझ्न थालेँ। उहाँप्रतिको माया र अथाह सम्मानले मेरो मुटुमा गहिरो जरा गाड्यो। कति महान् अनि साहसी हुनुहुँदो रहेछ मेरी आमा! आफू भित्रभित्रै रोएर हामीलाई हँसाइ राख्नुभएको रहेछ। आमा आफैँमा महासागर हो। सबै सन्तानलाई आफ्नो आमा प्यारो लाग्छ तर म जति नै उहाँको बयान गरूँ, त्यो उहाँको लागि कम नै हुनेछ। मसँग त्यस्तो कुनै शब्द छैन जसले उहाँको वर्णन गर्न सकूँ। बुवा र आमा दुवैको भूमिका निभाउन सक्ने मलाई मेरी आमा दिनुभएकोमा हरेक बिहान भगवान्लाई धन्यवाद दिन्छु र प्रार्थना गर्छु कि म पनि उहाँजस्तै असल आमा बन्न सकूँ।
जब मेरो विवाह भयो र म दुई छोरीकी आमा भएँ, तब मलाई आभास भयो एउटा परिवारमा बुवा, आमा, छोराछोरी, श्रीमान् र श्रीमतीमध्ये कुनै एक सदस्यको अभावमा पनि जिन्दगी कति अपुरो र अधुरो हुने रहेछ। आमालाई हेर्दा म अनुभव गर्छु, उहाँले जीवनका हरेक सुख, दुःखमा बुवालाई कति सम्झनुहुन्छ होला। कल्पना गर्दा मेरा आँखा सधैँ रसाउने गर्छन्।
दुई छोरी सोयना र दीपमाला जन्मेको दिनदेखि नै उनीहरूको बुवासँगको लगाव, प्रेम, सम्मान र अटुट बन्धनको हरेक क्षणमा म मेरो बुवालाई सम्झने गर्छु। आज मेरी छोरीहरूले आफ्नो बुवासँग रमाइला पलहरू साटासाट गर्छन्। बाबु र छोरीहरूबीच अविरल सम्बन्ध छ। हरेक सुख-दुःखमा साथ रहँदा त्यो आत्मीय भावनाभित्रको अथाह मायामा म भित्रभित्रै हराउँछु र बुवालाई मभित्र सधैँ खोजिरहन्छु। बुवासँग जीवनमा कहिल्यै बिताउन नपाएको क्षणहरू कल्पना गर्छु र भित्रभित्रै मैनसरी पग्लन थाल्छु।
सायद मेरो भाग्यमा यही लेखिएको थियो। आमाबाट निरन्तर निःस्वार्थ र निश्चल मायाको वेग पाए पनि बुवाबाट पाउनुपर्ने न्यानो माया र साथ मेरो जीवनभर अपुरो अनि अधुरो रह्यो र सधैँ रहनेछ। आफ्ना हृदयदेखिका यी भावनाहरूलाई शब्दमा व्यक्त गरिरहँदा बुवालाई महसुस गरेकी छुु र उहाँलाई मेरो वरिपरि पाएकी छु। म मेरो जीवनको हरेक मोडहरूमा बुवालाई सम्झिरहनेछु। I love you and I will miss you forever Buwa! जीवनका हरेक तीतामीठा पलहरूमा हजुरको साथको कल्पनामा डुब्दै बिताउनेछु। सधैँ सधैँ सम्झिरहनेछु।
Shares
प्रतिक्रिया