हङकङको प्याट सिन लेङ नेचर ट्रेलमा सोमबार दिउँसो पैदलयात्राका लागि निस्केका व्यक्ति मंगलबार दिउँसोसम्म बेपत्ता छन्।
सोमबार दिउँसो पदयात्रामा निस्केका उनी घर नफर्किएपछि परिवारले मंगलबार अनलाइनमा तस्बिरसहित सूचना पोस्ट गरेको छ।
पारिवारिक स्रोतका अनुसार सोमबार मध्यान्ह श्रीमतीसँगै खाना खाएर पदयात्रामा निस्केका उनी त्यसपछि सम्पर्कविहीन भएका छन्। दिउँसो २ बजे उनका छोराले फोन गर्दा मोबाइलमा घण्टी गए पनि उठेको थिएन। साँझ ४ बजे गरिएको कल भ्वाइस मेसेजमा कन्भर्ट भएको थियो।
परिवारका अनुसार ६० वर्षीय वोङ मिङले पदयात्रामा निस्कने अघिल्लो दिन मात्र उक्त क्षेत्रको नक्सा अध्ययन गरेका थिए।
बेपत्ता व्यक्तिको स्वयंसेवक समूह हङकङ गार्डियन्स र नागरिक खोजी समूहले प्याट सिन लेङ क्षेत्रमा रातभर खोजी गर्दा पनि उनी भेटिएनन्।
सेतो सर्ट, कालो ट्राउजर, जुत्ता र हरियो झोला काँधमा भिरेका उनी अन्तिम पटक ताइवो स्पोर्ट्स सेन्टरमा दिउँसो १२ बजे देखिएका थिए।
बेपत्ता ६० वर्षीय वोङ मिङ सेवानिवृत्त व्यक्ति हुन्। उनले सेवाकालमा अस्पतालमा काम गरेका थिए।
मानिस बेपत्ता भएको सम्बन्धमा प्रहरीसँग सम्पर्क गर्ने प्रयास भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
Shares
प्रतिक्रिया