हङकङपछि पूर्वजुडो खेलाडी सुप्रसिद्ध ताम्राकार कोरियामा

बिहीबारबाट सुरु हुने एसियन क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने
हङकङपछि पूर्वजुडो खेलाडी सुप्रसिद्ध ताम्राकार कोरियामा

सुप्रसिद्ध ताम्राकार (दायाँ) र उनलाई कोरियाको आगमन कक्षमा नेपालको झन्डासहित स्वागत गरिँदै


मगेन्द्र राई
भदौ १०, २०८१ सोमबार १६:४५, हङकङ

जुडो युनियन अफ एसियाका आईटी एक्स्पर्ट तथा पूर्वजुडो खेलाडी सुप्रसिद्ध ताम्राकार कोरिया प्रस्थान गरेका छन्। उनलाई हिजो (आइतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङ निवासी पूर्वप्रशिक्षक नवीन सुनुवार र प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जितले बिदाइ गरेका थिए।

ताम्राकार कोरिया जुडो एसोसिएसनको निमन्त्रणामा त्यहाँको मुङयोङ सहरमा २९ अगस्टदेखि १ सेप्टेम्बरसम्म सञ्चालन हुन लागेको एसियन क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन कोरिया उडेका हुन्‌।

ताम्राकारका पूर्वप्रशिक्षक हङकङ निवासी नविन सुनुवार (दायाँ), बीचमा ताम्राकार र जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जित

उनी खेलाडीको रूपमा नभएर व्यवस्थापन पक्ष सम्हाल्न त्यहाँ पुगेका हुन्‌। ताम्राकार अन्तर्राष्ट्रिय जुडो एसोसिएसन र जुडो युनियन अफ एसियाका लागि आईटी एक्सपर्ट हुन्‌। खेल अवधिभर उनले प्राविधिक पक्षको जिम्मेवारी सम्हाल्नेछन्‌।

३२ वर्षीय ताम्राकारलाई हङकङ निवासी नवीन सुनुवारले सुरुमा जुडो खेल सिकाएका हुन्‌। १६ वर्षकै कलिलो उमेरमा उनी भारत तथा जापानका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बने। त्यसपछि भने उनी प्रतिस्पर्धात्मक खेलबाट टाढा  रहे।

१६ वर्षकै उमेरमा सक्रिय खेलबाट सन्यासजस्तै लिनुभएछ। किन नि? भनी नेपालखबरले सोधेको प्रश्नमा ताम्राकारले भने, ‘चिनेजानेका सबैले खेल खेलेर भविष्य छैन भन्थे। घरपरिवारबाट पनि पढाइलाई जोड दिनुपर्छ भन्ने कुरा आयो, आफूलाई पनि त्यस्तै लाग्यो। खेल्ने मन हुँदाहुँदै पढाइतिर ज्यादा केन्द्रित हुँदा खेल पछाडि धकेलियो।’

आईटी डाइरेक्टरको भूमिका निर्वाह गर्दै ताम्राकार

उनले अगाडि थपे, ‘तर पनि म जुडोसम्बन्धी गतिविधिहरूमा सहभागी हुँदै गएँ। सन्‌ २०१२ मा आईटी अफिसियल भएँ। विभिन्न तालिम लिँदै गएँ। स्पोर्ट्स डाइरेक्टरको भूमिका निर्वाह गरेँ। अहिले आईटी एक्स्पर्टको रूपमा एसियाका विभिन्न मुलुकमा पुगिसकेको छु। यसबाट कुनै न कुनै रूपमा जुडोसँग जोडिन पाएको छु। अपनत्वको अनुभव गरेको छु।’

ताम्राकार पूर्वप्रशिक्षक सुनुवारसँग हङकङमा

आईटी एक्सपर्टको रूपमा यो क्षेत्रमा पुग्ने सम्भवत: पहिलो नेपाली हुनुहुन्छ। के रहन्छ तपाईँको भूमिका? भन्ने अर्को प्रश्नमा ताम्राकारले भने, ‘निश्चय नै आईटी एक्स्पर्टको रूपमा एक्स्पोजर पाउनु हामी नेपालीको लागि खुसी र गौरवको कुरा हो । जहाँसम्म भूमिकाको कुरा छ, खेलाडीहरूको इन्ट्री, तालिका, स्कोरबोर्ड, ब्राकेट, लाइभ अपडेट, लाइभ स्ट्रिमिङ, डिसिजन मेकिङ लगायतका थुप्रै प्राविधिक पक्षको जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ। कहिलेकाहीँ चुनौतीको सामना पनि गर्नुपर्ने हुन्छ। यसका अलावा रमाइलो पनि हुन्छ र अवसर पनि उत्तिकै छ।’

ताम्राकार यस्तै सिलसिलामा गत नोभेम्बर र अप्रिलमा हङकङ समेत आएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .