हङकङमा उच्च प्राथमिक विद्यालयका तीन जना विद्यार्थीमध्ये एक जना दुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ।
हङकङ काउन्सिल अफ अर्ली चाइल्डहुड एजुकेसन एन्ड सर्भिसेज (सीईसीईएस)ले बुधबार सार्वजनिक गरेको रिपोर्टमा उक्त तथ्य अघि सारिएको हो।
सीईसीईएसले जुलाईमा कक्षा ५ र ६ का २७२ जना विद्यार्थी, १३१ जना अभिभावक र १२५ जना शिक्षकबीच गरेको सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो।
सर्वेक्षणमा समावेश गरिएका विद्यार्थीमध्ये ३४.९ प्रतिशतले आफूहरू दुर्व्यवहारमा परेको बताएका छन् भने ५१.४ प्रतिशतले विद्यालयमा दुर्व्यवहार भएको देखेको बताएका छन्।
त्यस्तै, दुर्व्यवहारमा परेको बताउने १६.८ प्रतिशतले आफूहरूमा आत्महत्या गर्ने विचार आएको बताएको र २२.१ प्रतिशतमा आत्महानि गर्ने प्रवृत्ति देखिएको संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
‘दुर्व्यवहार र धम्कीले सबै प्रकारका रूप लिन्छन्,’ सीईसीईएसका संस्थापक तथा निर्देशक सानसान चिङ भन्छिन्, ‘यो शारीरिक हिंसा मात्र होइन, त्यहाँ भावनात्मक धम्की र यौन दुर्व्यवहारका प्रकार पनि छन्।’
धम्कीका सामान्य कार्यमा ठट्टा वा मौखिक दुर्व्यवहार रहेको चिङले बताइन्।
‘साइबर बुलिङ बढ्दो छ,’ बुधबारको पत्रकार सम्मेलन उनले भनिन्, ‘कुनै अवस्थामा, धम्कीले शारीरिक दुर्व्यवहार र सामूहिक हिंसाको रूप लिन सक्दछ।’
यस्तै व्यवहारमा भिन्नता भएका विद्यार्थीहरू दुर्व्यवहारको खतरामा पर्ने सम्भावना बढी भएको समेत सर्वेक्षणको निष्कर्ष छ। साथीहरूभन्दा ‘भिन्न’ देखिने उनीहरूमा बोल्नमा कठिनाइ, शारीरिक रूपमा कमजोर वा अरूसँग सामाजिक व्यवहारमा समस्या देखिएको नतिजा सर्वेक्षणले निकालेको हो।
‘(पीडितहरू) आफैँमा लज्जित महसुस गर्छन्। उनीहरू पीडित भएकोमा आफूलाई दोषी महसुस गर्छन्,’ पत्रकार सम्मेलनमा हङकङ फ्रि पेसद्वारा सोधिएको प्रश्नमा चिङले भनेकी छन्, ‘उनीहरू महसुस गर्छन् कि आफूले केही गलत गरेको छु। त्यसैले, उनीहरू दुर्व्यवहारलाई भइरहेको छ।’
यस्तो हुनुमा वयस्कहरूको पनि थोरबहुत भूमिका रहेको सोही पत्रकार सम्मेलनमा बोल्दै बालदुर्व्यवहारका घटना ह्यान्डलको अनुभव भएकी मनोचिकित्सक डोरिन चानले बताइन्।
आमाबाबु तथा शिक्षकहरूले बुलिङका भाव र प्रभावलाई बेवास्ता गरिनु यसको कारक भएकोतर्फ उनले औँल्याइन्।
‘अभिभावकहरू कहिलेकाहीँ बुलिङको गम्भीरताबारे सचेत हुँदैनन्,’ चान भन्छिन्, ‘उनीहरूलाई यो बालबालिकाको मामिला हो भन्ने लाग्छ र बेवास्ता गरिदिन्छन्।’
सर्वेक्षणको रिपोर्टमा इंगित गरिएको छ- ५३.४ प्रतिशत आमाबाबुले आफ्नो बच्चालाई विद्यालयमा दुर्व्यवहार भएकोबारे समाधान गर्न सक्षम नभएको बताएका छन्। त्यस्तै, ५७.६ प्रतिशत शिक्षकले यस्तो परिस्थिति सम्हाल्न पर्याप्त समय नभएको बताएका छन्।
विद्यालयहरूमा हुने बुलिङ जस्ता बदमासीमा शिक्षा ब्युराको हालका दिशानिर्देशक पर्याप्त नभएको सीईसीईएसकी निर्देशक चिङ बताउँछिन्। साथै, यस प्रकारका मुद्दालाई सम्बोधन गर्न विद्यालयहरूमा पर्याप्त सामाजिक कार्यकर्ता नभएको उनको कथन छ।
‘नचर आवर फ्युचर’ भन्ने अभियान सुरु गरेको सीईसीईएसले एक दशकभित्रमा बुलिङका घटनामा शून्यमा पुर्याउने लक्ष्य राखेको समेत निर्देशक चिङले बताइन्।
‘बुलिङको नतिजा दूरगामी हुन सक्छ। किनभने, यसले मानिसहरूको आत्मसम्मानमा चोट पुर्याउन सक्छ र डिप्रेसन जस्ता दीर्घकालीन मनोवैज्ञानिक रोग निम्त्याउन सक्छ,’ उनले भनिन्, ‘अनुसन्धानले देखाएको छ कि बुलिङले बालबालिकाको प्रारम्भिक वर्षलाई असर गरेको छ।’
‘यो विद्यालयले मात्र होइन, सम्पूर्ण समाजले मनन गर्नुपर्ने कुरा हो,’ चिङको थप कथन छ।
यसैगरी, हङकङ जकी क्लब सेन्टर फर सुसाइड रिसर्च एन्ड प्रिभेन्सनले मंगलबार प्रकाशित गरेको तथ्यांकले हङकङमा गतवर्ष युवा आत्महत्याको दर वृद्धि भएको देखाएको छ। जसमा १५ वर्षमुनिका केटीहरूको आत्महत्या दर सात गुणाले बढेको तथ्यांक छ।
यो तथ्यांकलाई केलाउँदै कतिपय विज्ञले यसको कारक विद्यालयमा हुने बुलिङ वृद्धिलाई औँल्याएका थिए। (एचकेएफपी)
Shares
प्रतिक्रिया