हङकङको श्रम विभागले दुई दिने रोजगार मेला आयोजना गर्दै छ। मेलाले आवासीय हेरचाह सेवा क्षेत्रमा १ हजार १ सय बढी रोजगारीको अवसर प्रदान गर्ने भएको हो।
उक्त क्षेत्रमा तत्कालै अर्थात् मेलाकै दौडान रोजगारी प्रदान गरिने द स्ट्यान्डर्डले जनाएको छ।
मेलामा क्यारितास, द साल्भेसन आर्मी र टुंगवाह ग्रुप अफ हस्पिटल्सलगायत ३० संघ/संस्थाहरु सहभागी हुनेछन्।
मेला आउँदो बिहीबार मंगककस्थित म्याकफर्सन स्टेडियममा हुनलागेको हो।
रोजगारीका पदहरुमा केयर वर्कर्स (हेरालु), स्पिच थेरापिस्ट, पेसागत थेरापिस्ट, सामाजिक कार्यकर्ता (सोसल वर्कर्स), नर्स, स्वास्थ्य कर्मचारी, कुक (पकाउने), कार्यक्रम सहयोगी (प्रोग्राम असिस्टेन्ट्स) तथा क्लर्क (प्रशासन सहयोगी) रहेका छन्।
यीमध्ये ९७ प्रतिशत पदमा पूर्णकालीन रोजगारी पाइनेछ। जसमा काम गर्नेले १४ हजारदेखि २६ हजार हङकङ डलरसम्म मासिक पारिश्रमिक (तलब) पाउनेछन्। यसका लागि सेकेन्डरी फाइभ एजुकेसन तह वा यसमुनिको शैक्षिक योग्यता चाहिनेछ।
त्यसैगरी ७७ प्रतिशतजति भ्याकेन्सी रोजगारी खोजिरहेकाका लागि खुल्ला गरिएका छन् जसमा सम्बन्धित कार्यको अनुभव नभए पनि हुने बताइएको छ।
रोजगारी खोज्नेहरुले उक्त मेलामा आवेदन दिई त्यहीँ अन्तर्वार्ता समेत दिन सक्नेछन्। उनीहरुले श्रम विभागले मेलामा उपलब्ध गराएका बुथहरुबाट रोजगारी सेवाबारे जानकारी समेत हासिल गर्न सक्नेछन्।
Shares
प्रतिक्रिया