हङकङमा नेपाली ‘आधुनिक कलाका पिता’ बाङ्‌देलको चित्रकला प्रदर्शनी

हङकङमा नेपाली ‘आधुनिक कलाका पिता’ बाङ्‌देलको चित्रकला प्रदर्शनी

मगेन्द्र राई
असोज १६, २०८१ बुधबार १८:५९, हङकङ

विख्यात नेपाली चित्रकार लैनसिंह बाङ्देलको कलाकृति हङकङमा प्रदर्शन भइरहेको छ।

गत शुक्रबार साँझ वाङचुक हाङस्थित एमप्लेस भवनको एघारौँ तला रोसि एन्ड रोसि कन्टेम्पोररी प्रदर्शनी कक्षमा कार्यक्रमको औपचारिक उद्घाटन भएको हो। उक्त कार्यक्रममा हङकङका चित्रकार दिपेन्द्र राई, व्यवसायी त्रिलोक गुरुङ, याउचिङ मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, नेपाली महासंघकी अध्यक्ष रिता गुरुङलगायतका करिब एक दर्जन नेपाली, स्थानीय चिनियाँ तथा विदेशी पाहुनाको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम स्वर्गीय बाङ्देलका छोरीज्वाइँ विभाकर शाक्यको आयोजनामा सम्पन्न भएको थियो।

शाक्यले आमन्त्रित सबैलाई बाङ्देलद्वारा सिर्जना गरिएका चित्रहरूको जानकारी गराएका थिए। ल्यान्डस्केप, अब्ट्राक्ट, सेल्फ पोट्रेट, फिगरेटिभ विधालगायत करिब १९ वटा पेन्टिङ प्रदर्शनीमा राखिएका छन्‌।

चित्रकार दिपेन्द्र राईले प्रदर्शनीमा राखिएका पेन्टिङहरू उत्कृष्ट भएको बताए। आफू बाङ्देलका पेन्टिङमा रङ संयोजन देखेर मोहित भएको राईले  नेपालखबरलाई बताए। ‘बाङ्देलको पेन्टिङमा रङको फ्युजन जादुमय छ’, राई भन्छन्, ‘नेपाली चित्रकलामा बाङ्देलले क्रान्ति नै  ल्याउनुभएको रहेछ।’

व्यवसायी त्रिलोक गुरुङ बाङ्‌देलको कला प्रदर्शनी हुनु नेपालीहरूको लागि खुसी, गौरव र अवसरको कुरा रहेको बताउँछन्। ‘नेपाली चित्रकलाका शिखर पुरुषको कृतिसँग साक्षात्कार हुन पाउनु ठूलो संयोग हो’, उनले नेपालखबरसँग भने, ‘यसबाट  हङकङमा बस्ने नेपालीले प्रेरणा लिन सकिन्छ।’ आफ्ना छोराहरू र साथीभाइसँग फेरि पनि ग्यालरी भ्रमण गर्ने गुरुङले बताए।

प्रदर्शनी एकैचोटि तीन स्थानमा भइरहेको छ। रोसि एन्ड रोसि र एक्सेल भर्भुर्ट ग्यालरीमा २८ सेप्टेम्बरदेखि १६ नोभेम्बरसम्म र बेन ब्राउन फाइन आर्ट ग्यालरीमा २८ सेप्टेम्बरबाट ९ नोभेम्बरसम्म प्रदर्शनी हुनेछ।

आयोजक शाक्य बाङ्‌देलका कृतिलाई नेपाली डायस्पोरामा पुर्‍याउने उद्देश्य रहेको बताउँछन्। डायस्पोरामा हुर्कँदै गरेका आधुनिक पुस्तासम्म पुर्‍याउँदै अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयमा समेत बाङ्देलको कला पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

शाक्यका अनुसार प्रदर्शनीहरू अमेरिका, बेलायत र काठमाडौँमा भइसकेका छन्‌। अब सन्‌ २०२५ मा फेरि अमेरिकाकै डेनभर र २६ मा जर्मनीको  बर्लिन तथा अमेरिकाको मेरिल्यान्डमा प्रदर्शनी गर्ने योजना रहेको उनले बताए।

‘प्रदर्शनी मात्रै हो कि बिक्रीमा पनि राखिएको छ?’ भनी नेपालखबरले सोधेको प्रश्नमा शाक्यले भने, ‘यो भन्दा अगाडि एजुकेसनल र इम्फर्मेटिभको रूपमा मात्र प्रदर्शनी गरिएको थियो। तर, हङकङमा भने बिक्री समेत गरिनेछ।’ शाक्यका अनुसार उक्त पेन्टिङको मूल्य १५ हजारदेखि एक लाख अमेरिकी डलरसम्म रहेको छ।

बाङ्देल नेपालको अग्रणी कलाकार, उपन्यासकार र कला इतिहासकार थिए। उनी ‘आधुनिक कलाका पिता’ उपमाले समेत परिचित छन्‌। उनलाई  आधुनिक पश्चिमी कलालाई नेपाली कलामा भित्र्याएर क्रान्ति ल्याएको जस दिइन्छ। जसलाई ‘बाङ्देल युग’ भनेर पनि चिन्ने गरिन्छ।

बाङ्देलको सन्‌ २००२ मा स्वर्गारोहण भएको थियो। उनको एक मात्र सन्तान छोरी डिना बाङ्देलको समेत सन्‌ २०१७ मा मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .