हङकङमा तेह्रथुमे ढाकाको फेसन शो

हङकङमा तेह्रथुमे ढाकाको फेसन शो

सन्तोष तामाङ
असोज २०, २०८१ आइतबार १८:२६, हङकङ

हङकङमा तेह्रथुमे ढाका बुटिकको ‘सेक्मुरी युन्छो-२०२४’ एकल फेसन शो सम्पन्न भएको छ।

शनिबार साँझ जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्ट एन्ड बारमा गरिएको उक्त शोमा तेह्रथुमे ढाकाकी प्रोप्राइटर निर्मला लिम्बु (निरु) द्वारा तयार पारिएका आकर्षक लिम्बु पोसाकका साथै सांगीतिक प्रस्तुति दिइएको थियो।

याक्थुङ आर्टिस्ट सोसाइटी हङकङको आयोजनामा सम्पन्न कार्यक्रममा दर्जन बढी महिला तथा पुरुष मोडलले लिम्बु पहिरनमा ‘क्याटवाक’ गरेका थिए। जहाँ सबैजसो उमेर समूहका चार दर्जन बढी पहिरनको प्रदर्शन गरिएको थियो।

सेक्मुरी फुङ याक्थुङ अर्थात्‌ लिम्बु जातिले फूललाई जीवनको प्रतीक मान्दछन्। त्यसैले यो नामलाई हङकङको सांस्कृतिक कार्यक्रमहरूमा ब्रान्डिङ गरिएको छ। जसको लागि याक्थुङ आर्टिस्ट सोसाइटी हङकङले विगत १४ वर्षदेखि पहल गरिरहेको छ। यस पटकबाट यो ब्रान्ड हङकङमा मजबुत रूपमा स्थापित हुन पुगेको कार्यक्रम सञ्चालकद्वय सेसेमी लिम्बु तथा मौसम लिम्बु इम्बुङ (फुलेन्देको बाउ)  को कथन थियो।

फेसन शोका अतिरिक्त कार्यक्रमको अर्को आकर्षण गीतसंगीत पनि रहेको थियो। अनु चौधरी, विकास लिम्बु, यादन शेर्मा, सीता सिंगक लगायतका कलाकारले गीतसंगीतमार्फत कार्यक्रमलाई थप मनोरञ्जक बनाएका थिए।

यस्ता कार्यक्रममार्फत पुराना पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुँदै जाने तेह्रथुमे ढाकाकी प्रोप्राइटर निर्मला लिम्बु बताउँछिन्।

‘यस्ता कार्यक्रमले परम्परागत मूल्य मान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सहजीकरण गर्छन्,’ प्रोपाइटर लिम्बु भन्छिन्, ‘संस्कृतिको निरन्तरताकै लागि नेपाली ढाकाबाट बनेका कपडालाई आधुनिक डिजाइनसँगै अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो।’

नेपालको पूर्वी पहाडी जिल्ला तेह्रथुम ‘ढाका कपडा’का लागि दोस्रो राजधानी मानिन्छ। पश्चिम नेपालको पाल्पापछि ढाका कपडाका लागि तेह्रथुमले पनि चर्चा पाउँदै गएको छ।

फेसन डिजाइनर एवं तेह्रथुमे ढाका बुटिकका सञ्चालक निर्मला लिम्बु (निरु) आफूले ४ दर्जन बढी ढाकाका पहिरन तयार पारेको बताइन्। आफ्नो डिजाइनमा जीवन र प्रकृति झल्कने सांस्कृतिक एवं मोर्डन दुवैथरी छनोट रहेको उनले सुनाइन्।

नेपालमा ललितपुरको तिखेदेवलमा रहेको तेह्रथुमे ढाका बुटिकको यो एकल फेसन शो हङकङमा पहिलो हो। कार्यक्रममा बुटिकमा डिजाइन गरिएका तानाबुना ढाका कपडाबाट तयार भएका पोसाक प्रदर्शन गरिएको थियो।

शोमा हङकङका स्थानीय नेपाली मोडल क्रस लिम्बु, दिक्षा लिम्बु, रेश्मा साम्पाङ, आइसा गुरुङ, जेनिफर लिम्बु, माहाङमा लिम्बु, सपनील गुरुङ, रिया बराल, अर्पणा राई, सन्देश लिम्बु, रोमन लावती, ओम गुरुङ, विश्वास गुरुङ, यज्ञ बराइली, रोमन पुन मगर, अर्जुन गौतम, निरुपम राई, रिजा प्रधान लगायत तेह्रथुमे ढाकाको पहिरनमा र्‍याम्पमा प्रस्तुत भएका थिए।

प्रमुख अतिथि हङकङका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगरले पानसमा द्वीप प्रज्ज्वलन गरी समुद्‌घाटन गरेको कार्यक्रममा विशेष अतिथि याउचि मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ,  हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शमशेर तुम्बाहाङ्फे रहेका थिए।

यसका अलावा कार्यक्रममा अन्य दर्जनौँ संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .