फोटोफिचर


सक्रिय राजनीति छाडेर फूलखेतीमा रमाउँदै वामपन्थी नेता (तस्बिर/भिडिओ)


जनार्दन पोखरेल
कात्तिक २०, २०८० सोमबार १४:५७, काठमाडौँ

तिहार आउँन अझै एक साता बाँकी छ। सहर बजारमा तिहारको रमझम सुरु भइसकेकै  छैन। 

तर, सर्लाहीको हरिवन-६ घुर्कौली (रामनगरेटोल)का किसान बिदुरप्रसाद खरेललाई भने तिहारको लागि फूल टिप्न र माला गाँस्न भ्यानभ्याइ सुरु भइसकेकाे छ। लामो समय कम्युनिष्ट राजनीतिमा बिताएका खरेल अहिले दैनिक राजनीतिक दौडधुपलाई छाडेर कृषि कर्ममा लागेका छन्। 

खरेलले यो वर्ष पहिलोपटक आफ्नो डेढ बिघा जमिनमा सयपत्री फूल खेती गरेका छन्। उनले गत वर्षदेखि सुरु गरेको ‘ड्रागन फ्रुट’ बगैँचामा अन्तरबालीको रुपमा यसवर्ष पहिलोपटक सयपत्री फूल रोपेका हुन्।

गएको साउन अन्तिम साता खरेलले अहिलेको तिहारलाई लक्षित गरेर सयपत्रीका १० हजार बोट राेपेका थिए। सयपत्रीका ती बाेट यतिफेल फुलेर ढकमक्क बनेका छन्। सयपत्री सोचेजस्तै फुलिदिँदा खरेल निकै प्रफुल्ल देखिन्छन्।

डेढ बिघा जमिनमा झण्डै २५ क्विन्टल फूल उत्पादन हुने अनुमान खरेलले गरेका छन्। बगैँचामा उत्पादित सबै फूल तिहारदेखि छठसम्म खपत भइसक्ने अपेक्षा उनको छ।

‘आइतबारबाट फूल टिप्न सुरु गरेका छौँ,’ खरेलले नेपालखबरसँग भने, ‘हिजोदेखि दैनिक १० जना कामदार फूल टिप्ने र माला गाँस्ने काममा खटिएका छौँ। यो क्रम तिहारअघि (लक्ष्मीपूजाको दिन) सम्म जारी रहन्छ।’

थोकमा प्रतिकिलो आढाई सय र खुद्रामा प्रतिकिलो तीन सय रुपैयाँमा फूल बेच्न थालेकाे उनले सुनाए। खरेलको फूल बगैँचामा यतिबेला फूल र माला किन्न काठमाडौँ, जनकपुर लगायत ठूला सहरबाटसमेत व्यापारी पुगिसकेका छन्।

तिहारसम्म सात हजार माला बनाएर बेच्ने उनको लक्ष्य छ। ‘आफैँले गाँसेर सात हजार माला बेच्ने उद्देश्य छ, त्यही अनुसार फूल पनि बेच्ने छाैँ,’ खरेलले भने, ‘यो व्यवसाय पहिलोपटक गरेको हो। नाफाघाटा अहिले नै भन्न सकिँदैन। तर, बजारकाे अवस्था हेर्दा उत्साहित छु।’

भिडिओ

 

निर्मल लामा नेतृत्वको नेकपा (चौम), नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकताकेन्द्र, प्रचण्ड नेतृत्वको एकीकृत माओवादी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी हुँदै हाल विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको जिल्ला नेतृत्वदेखि सचिवालयसम्मका विभिन्न पदमा बसेर काम गरेका खरेल आजभोलि सक्रिय राजनीतिबाट बिमुख जस्तै बनेका छन्। 

आफूले विताएको झण्डै ४० वर्ष लामो राजनीतिक जीवनलाई ‘कम्युनिष्ट आन्दोलन भाग- १’ भन्न थालेका खरेलले भने, ‘हामीले विगतमा जे जसरी राजनीति गर्यौँ, त्यसले एउटा चरण पार गर्‍याे, अब त्यो खाले राजनीतिको काम छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .