राजनीति


विज्ञानका विद्यार्थी प्रवेश : जो २१ वर्षमै माओवादी केन्द्रका वडाध्यक्ष बने

विज्ञानका विद्यार्थी प्रवेश : जो २१ वर्षमै माओवादी केन्द्रका वडाध्यक्ष बने

कृष्ण बहाब
मंसिर ७, २०७८ मंगलबार १८:३८, इटहरी

देशैभर अहिले मुख्य राजनीतिक दलहरूको राष्ट्रिय सम्मेलन र महाधिवेशन चलिरहेको छ। 

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपा अहिले आन्तरिक निर्वाचनमा जुटेका छन्। 

मुख्य राजनीतिक दलहरू निर्वाचन चलिरहँदा युवाहरूको प्रतिनिधित्व पनि बढ्दै गएको छ। 

कांग्रेसको महाधिवेशनमा युवा प्रतिनिधिहरू छनोट हुने क्रम ह्वात्तै बढेको छ। 

सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाँल र ओखलढुङ्गाकी २२ वर्षीया बिन्दा बोगटी त्यसका उदाहरण हुन्।

कांग्रेसमा मात्र होइन, पहिलो पटक वडा सम्मेलन गरेको माओवादी पनि युवा प्रतिनिधि छनोटमा अग्रणी देखिएको छ। 

माओवादीले युवाको प्रतिनिधित्वलाई विस्तारै बढाउन थालेको छ। यिनै युवामध्ये एक हुन् उदयपुरका प्रवेश खड्का। उनी उमेरले भर्खरै २१ काटेका छन। 

उनै तन्नेरी प्रवेश २१० जना सङ्गठित सदस्य रहेको उदयपुरस्थित त्रियुगा नगरपालिका-६ मा माओवादी केन्द्रको वडाध्यक्षमा निर्विरोध चयन भएका छन्। 

काठमाडौंको सेन्ट लरेन्समा बीएस्सी सीएसआइटीको अन्तिम सेमेस्टर पढ्दै गरेका खड्का कान्छा वडाध्यक्षका रूपमा त्रियुगा-६ मा चुनिएका हुन्। 

२०७४ सालको स्थानीय चुनावताका मात्रै माओवादी केन्द्रतिर नजिकिएका खड्कालाई माओवादीका पाका सदस्यहरुले पनि सर्वसम्मत चयन गरेका हुन्।

उनी बुवाका कारण माओवादीको एजेन्डासँग नजिकिएका हुन्। माओवादी केन्द्रतिर लागेसँगै उनी गत फागुन २३ मा खारेजीमा परेको नेकपाका अध्यक्ष समेत थिए। 

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा पनि उनी २० वर्ष हुँदै वडाध्यक्ष चयन भएका थिए।

स्थानीय तहमा उठ्ने योजना

घरको राजनीतिक पृष्ठभूमिका कारण राजनीति थालेका खड्काले पछि माओवादी आन्दोलनले अहिलेको उपलब्धि ल्याएको भन्ने बुझे। त्यसपछि उनी झन् संगठित भएर माओवादीमा सक्रिय भए। 

‘बुवा मसालबाट २०५६ सालतिरै वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो। उहाँ थोरै मतले पराजित हुनु भएको रहेछ,’ खड्काले भने,  ‘घरको राजनीतिक माहौलले पार्टीप्रति मेरो झुकाव बढायो। माओवादी आन्दोलनबारे बुझेपछि थप सङ्गठन गर्नतिर लागेँ।’

२०७४ को  स्थानीय तहको निर्वाचनमा माओवादीसँग अझ नजिक भएको खड्का बताउँछन्।

सङ्गठनको सुरुवाती यात्राबारे खड्का भन्छन्, ‘त्यो बेला सामान्य कार्यकर्ता थिएँ। त्यही बेला अध्ययनका लागि काठमाडौँ जानुपर्यो। त्यसपछि २०७५ मा अखिल क्रान्तिकारी उदयपुर-काठमाडौँ सम्पर्क समितिको सचिव भएँ।’

उनी त्यही बेलादेखि पार्टी कमिटीमा आए । ‘म त्यति बेलादेखि नै पार्टी कमिटीमा आएँ। अलिक पछि नेकपा बन्यो’, उनले भने,  ‘त्यसपछि अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटी सदस्य भएँ। एमाले र माओवादी मिलेर बनेको नेकपाको समेत २०७७ मङ्सिरमा संयोजक भएँ।’

पार्टी सङ्गठनमा लागेर 'पोर्टफोलियो' बनाउने मात्र होइन, जनजीविकासँग जोडेर पनि उनी आफूलाई अघि बढाइरहेका छन्। 

कोभिड महामारीको समयमा त्रियुगास्थित आफ्नो वडाको दलीय संयन्त्रमा बसेर राहत वितरणदेखि विकास निर्माणको काममा पनि सहभागी भएको उनी बताउँछन्।

‘नेकपामा हुँदासमेत आफ्नो भूमिका अनुसारको काम गरेँ, अब पनि त्यही गर्ने हो’, खड्काले भने, ‘अहिले म जस्ता युवाले एक्लै बल गरेर मात्रै हुँदैन। सबैले सहयोग गर्नुपर्छ।’

उनले आफू स्थानीय तहको निर्वाचनमा पनि लड्ने योजनामा रहेको बताए। ‘परिस्थितिले साथ दिएमा आगामी स्थानीय तहको निर्वाचनमा पनि लड्छु’, उनले भने,  ‘पार्टीको राजनीतिलाई जनतासँग जोड्न स्थानीय तहबाट केही गर्ने योजना बनाइरहेको छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .