राजनीति


कांग्रेसको मञ्चमा तीन कम्युनिस्ट नेता : एकअर्काको नाम समेत लिएनन्

प्रचण्ड-ओली संवाद तर नेपाल बीचमै हिँडे
कांग्रेसको मञ्चमा तीन कम्युनिस्ट नेता : एकअर्काको नाम समेत लिएनन्

कांग्रेस महाधिवेशनमा प्रधानमन्त्री देउवा, ओली, प्रचण्ड र नेपाल। तस्बिर : विक्रम राई/नेपालखबर


उजिर कार्की
मंसिर २४, २०७८ शुक्रबार १९:८, काठमाडौँ

एकअर्कासँग शत्रुतापूर्ण सम्बन्ध रहेका तीन कम्युनिष्ट नेता संयोगले लामो समयपछि कांग्रेसको मञ्चमा एकै ठाउँ देखिए। 

यो संयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक वर्षपछि भेटायो।

उता नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालसँग ओलीले असार २३ पछि पहिलो पटक भेटे। यो भेटमा ओली–प्रचण्ड संवाद सम्भव भयो। तर ५ महिनापछि एउटै मञ्चमा हुँदा पनि ओली–नेपाल बोलचाल भएन। 

मंसिर १०–१४ चितवनमा महाधिवेशन गरेको नेकपा एमालेले आफ्ना पूर्व नेता माधव नेपाललाई निम्ता समेत गरेन। प्रचण्डले निम्ता पाए पनि बहिष्कार गरेर काभ्रेतिर गए।

तर शुक्रबार भृकुटीमण्डपमा भएको कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहले उनीहरुलाई एक ठाउँमा ल्यायो। 

एउटै मञ्चमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाहिनेतिर प्रचण्ड र नेपाल क्रमशः बसेका थिए। देउवा र रामचन्द्र पौडेलको बीचमा ओलीको आसन थियो।

यी तीन नेताले आफ्नो सम्बोधनमा पनि एकअर्काको नाम लिन चाहेनन्। बरु, एकअर्काको नाम छल्न तीनै नेताले सम्बोधनको शैली नै बदले।  सबैभन्दा पहिले माधव नेपालले ओलीको नाम छल्न यस्तो विधि अपनाए।

नेपालले कार्यक्रमका सभापति समेत रहेका शेरबहादुर देउवालाई सम्बोधन गरेर बाँकीलाई एकमुष्ट सम्झिए। त्यसको कारण थिए, एमाले अध्यक्ष ओली।

माधव नेपालको सम्बोधन  
आजको यस १४ औं राष्ट्रिय महाधिवेशनका सभापति सम्माननीय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू। 

मञ्चमा आसिन नेपालका सबै प्रमुख राजनीतिक दलहरूका शीर्ष नेता साथीहरु। 

हाम्रो छिमेकी देश भारतबाट आउनु भएका पाहुनाहरू र मञ्चमा आसिन नेपाली कांग्रेसका नेताहरु। महाधिवेशनका सबै प्रतिनिधि र उपस्थित सबै महानुभावहरू...। 

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालपछि माओवादी अध्यक्ष प्रचण्डको पालो आयो। पूर्व प्रधानमन्त्री प्रचण्डले पनि ओलीलाई छल्न नेपालकै विधि अपनाए। 

उनले पनि देउवाको नाम लिए। तर ओलीको नाम छल्न माधव नेपाललाई एकमुष्ट सम्बोधन गरे। भने, ‘पूर्व प्रधानमन्त्रीज्यूहरु।’ यो विधि पनि प्रचण्डले ओलीलाई छल्नकै लागि अपनाएका थिए। 

प्रचण्डको सम्बोधन​

नेपाली कांग्रेसको यो भव्य र आकर्षक १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रका सभापति तथा नेपाली कांग्रेसका सभापति र सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू।

पूर्व प्रधानमन्त्रीज्यूहरु, नेपाली कांग्रेसका सबै नेता साथीहरु। विभिन्न राजनीतिक दलका नेता साथीहरु र यो उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण नेपाली कांग्रेसका प्रतिनिधि पर्यवेक्षक र अन्य उपस्थित महानुभावहरू। विदेशी अतिथि महानुभावहरू। 

प्रचण्डपछि सम्बोधनको पालो आयो केपी ओलीको। कार्यक्रम सञ्चालन गरिरहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लामो भूमिका बाँध्दै ओलीलाई पोडियममा बेलाए। 

त्यसपछि देउवासँग खासखुस गरेका ओलीलाई देउवाले नै हातले इसारा गर्दै देखाएपछि हाँस्दै पोडियमतिर उक्लिए।

अरु दुई पूर्वप्रधानमन्त्रीले जस्तै ओलीले पनि देउवालाई मेरा पुराना मित्र भन्दै विशेष सम्बोधन गरे। तर त्यो भन्दा पुराना र लामो सहकार्य गरेका मित्र माधव नेपालकोे उनले पनि लिएनन्। बरु उनले अरुले भन्दाबढी सञ्चारकर्मीलाई छुट्टै सम्बोधन गरे। 

बाँकीलाई उनले विभिन्न दलबाट शुभकामना दिन आएका नेताज्यूहरू भनेर टारे। भाषणमा उनले माधव नेपाल र प्रचण्डप्रति घोचपेच त गरे। यस्ता मञ्चहरूमा ओली यी दुई नेताहरूप्रति खुबै खनिन्थे। तर यो सम्बोधनमा उनले सुरुमै कसैप्रति सवाल जवाफ नगर्ने बताए। त्यसका लागि आफूसँग पर्याप्त मञ्च रहेको तर्क उनले दिए। 

ओलीको सम्बोधन
यस कार्यक्रममा अध्यक्ष एवम् नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री र मेरा पुराना मित्र    शेरबहादुर देउवाज्यू। विभिन्न दलबाट नेपाली कांग्रेसको यस १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिन आउनु भएका नेताज्यूहरू।

नेपाली कांग्रेसका नेताज्यूहरू। भर्खरै प्रस्थान गर्नु भएका विदेशी पाहुनाहरू। नेपाली कांग्रेसको यस महाधिवेशनमा आउनु भएका प्रतिनिधि मित्रहरु। यस कार्यक्रममा सहभागी हुनु भएका सञ्चारकर्मी लगायत दिदीबहिनी तथा दाजुभाइहरु। 

यी तीन नेताबाहेक सबै वक्ताले सबैलाई पालैपालो सम्बोधन गरे। तर आफूहरूबीचको तिक्ततालाई कायमै राख्दै तीन नेताले भने एकअर्काको अस्तित्व स्वीकार्न चाहेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .