राजनीति


कांग्रेस महाधिवेशन : होटलमा सुत्न गइसकेका प्रतिनिधिलाई ल्याउँदै मतदान गराउँदै

कांग्रेस महाधिवेशन : होटलमा सुत्न गइसकेका प्रतिनिधिलाई ल्याउँदै मतदान गराउँदै

राति पनि बत्ती बालेर कांग्रेसको मतदान प्रक्रिया जारी छ। तस्बिर : उजिर कार्की/नेपालखबर


उजिर कार्की
मंसिर २७, २०७८ सोमबार २३:०, काठमाडौँ

झन्झटिलो र दिक्क लाग्दो मतदान प्रक्रियाका कारण कांग्रेस महाधिवेशनको निर्वाचन कार्यक्रम लम्बिएर मध्यरातिसम्म पुगेको छ।

बिहान ११ बजेर २३ मिनेटमा नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेपछि सुरु भएको मतदात अहिले तेस्रो पटक समय थपेर पनि जारी छ।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ३ घण्टा ढिलो भएको थियो। कांग्रेसको निर्वाचन समितिले साँझ ५ बजे सक्ने गरी थालेको मतगणनाको समय तीन पटक थप भइसकेको छ।

साँझ ५ बजे नसकिएपछि राति ९ बजेलाई पहिलो पटक सारियो। त्यसपछि दोस्रो पटक राति साढे १० सम्मलाई सारियो। 

तर महाधिवेशन प्रतिनिधिहरू आउने क्रममा जारी रहेपछि फेरि तेस्रो पटक राति साढे ११ बजेसम्मलाई मतदान समय सारिएको निर्वाचन कमिटी सदस्य जगन्नाथ श्रेष्ठले बताए। 

एकजनालाई झण्डै एक घण्टा लाग्ने मतदान प्रक्रिया लम्बिँदै गएपछि भृकुटीमण्डपमा भात खाएर सुत्न होटल गइसकेका महाधिवेशन प्रतिनिधिलाई अहिले धमाधम ओसारिँदैछ।

कांग्रेसको महाधिवेशनमा प्रयोग गरिएका गाडीले महाधिवेशन प्रतिनिधि बसेका होटलमा पुगेर उनीहरूलाई ओसारिरहेका छन्। 

कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु धेरैजसो सुनधारा, ठमेल, लाजिम्पाट, सिनामंगल र गौशालासहितका होटलमा बसेका छन्। 

मंसिरको चिसोमा मध्यरातिसम्म मतदान पुगेपछि दिउँसो मत व्यक्त नगरेका महाधिवेशन प्रतिनिधिहरु होटलमा गइसकेका थिए।

निर्वाचन समितिले राति साढे ११ सम्मलाई तेस्रो पटक मतदान समय थपेपछि अहिले धमामध छुटेका प्रतिनिधिहरुलाई राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान केन्द्रमा ल्याइँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .