राजनीति


सानेपा नगएका भए एक मतले हार्ने थिए धनराज गुरुङ

सानेपा नगएका भए एक मतले हार्ने थिए धनराज गुरुङ

सानेपास्थित कांग्रेस मुख्यालयमा उपसभापतिमा विजयी धनराज गुरुङ। तस्बिर : उजिर कार्की/नेपालखबर


उजिर कार्की
पुस १, २०७८ बिहिबार २:२५, काठमाडौँ

नेपाली कांग्रेसको उपसभापति पदमा डा. शेखर कोइराला प्यानलका धनराज गुरुङ झिनो मतान्तरले विजयी भएका छन्।

दुई उपसभापतिका लागि भएको भिडन्तमा सर्वाधिक मत ल्याएर शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का विजयी हुँदा धनराजले दोस्रो नम्बरमा रहँदै जित पक्का गरे।

सभापतिमा आफ्नो प्यानलका शेखर कोइराला पराजित भएपछि गुरुङलाई एकखालको तनाव थियो। उनले उक्त तनाव प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन प्रतिनिधिलाई बुधबार सम्बोध गर्दा पनि व्यक्त गरे।

उनले शेखरको हारको मुख्य दोष गणेशमान पुत्र प्रकाशमानलाई लगाए। जसले महाधिवेशन अघिसम्म देउवाको विस्थापनलाई मुख्य एजेण्डा बनाएर चर्को भाषण दिइरहे।

तर उनै प्रकाशमान देउवासँग मिल्दा पहिलो चरणमा भन्दा ११९ भोट बढाए पनि शेखर पराजित भएका थिए। त्यसैलाई लिएर धनराजले प्रज्ञा प्रतिष्ठानमा भने, 'बाउले मान्छे हुन् भनिरहेका बेला छोराले भेडा बनाएर बेचिदिएको टिप्पणी गरे।

तर जब निर्वाचन समितिले उपसभापति पदको मत गन्न थाल्यो तब उनै निराश धनराजका लागि खुसीको रक्तसञ्चार गराउने खबर प्राप्त भयो। 

बुधबार साँझ भएको उपसभापति पदको मतगणनामा सुरुवातदेखि नै अग्रता लिएपछि उनी आफैँ मतगणनास्थलमा पुगे। 

करिब डेढ सय सुरक्षाकर्मी र १५/२० पत्रकार मात्रै रहेको मतगणनास्थलमा उनी बुथ प्रतिनिधिको मात्रै भर परेनन्, आफैँ खटिए। 

१२०० मतगणना कोइराला प्यानलका गुरुङले ४२ मतको अग्रतामा थिए। उनलाई देउवा प्यानलका पूर्णबहादुर खड्काले पछ्याएका थिए। 

तर मतगणनाको मध्य हुँदै गएपछि खड्काले गुरुङलाई उछिने भने विजय गच्छदारले भेट्टाउन थाले।

धनराज गुरुङ पुग्नेबित्तिकै पनि धनराजको एक भोट तलमाथि गर्न खोजिएको थियो। निर्वाचन समितिका सदस्यले विजय गच्छदारको भोटलाई ३३ को ठाउँ ३४ भनेर टिपिएको थियो।

तर धनराज पक्षले फेरि गणना गर्न दबाब दिएपछि गच्छदारको मत ३३ कायम गरियो। 

धनराजको मतलाई लिएर सुरुदेखि बुथ प्रतिनिधि र निर्वाचन समितिका पदाधिकारीबीच विवाद चलेको थियो।

देउवाका दाहिने हातका रुपमा परिचित गच्छदारको पक्षमा नजानिँदो नरमपन निर्वाचन समितिका सदस्यहरुले देखाउँदा पटक पटक विवाद चल्यो।

धनराज आफैंले पनि सानेपामा विभिन्न तरिकाले आफ्नो मत घटाउने कोशिश भएको बताए। 'त्यसलाई म नियोजित भन्दिनँ', उनले भने, 'म त्यहीँ हुँदा हुँदै पनि मेरो भोट घटाउने प्रयास भयो। तर मैले प्रतिवाद गरेपछि गडबडी हुन पाएन।'

जब बाँकी ९०० मत गन्ने समय आयो तब अर्को विवाद सुरु भयो। १, ३ र ७ को मत भएको बुथमा धनराज गुरुङ र प्रकाशमान सिंह समूहकी सुजाता कोइरालाका प्रतिनिधिले सयको मतको बन्डलबाट धनराजलाई खसेको मत संख्या ४३ टिपे।

तर ९०० मत गन्न बाँकी भएको अवस्थामा एक सय मतको बन्डलमा बाँकी उम्मेदवारका प्रतिनिधिले ४१ मात्रै टिपेका थिए। निर्वाचन समितिले पनि ४१ लाई नै मान्यता दियो।

त्यसलाई लिएर धनराज र सुजाताका प्रतिनिधिले आपत्ति जनाए। उनीहरुले धनराजको एक मत घटाइएको भन्दै सयको बन्डल फेरि गन्न दबाब दिए।

बुथ प्रतिनिधिले भन्दा निर्वाचन समितिले नमानेपछि सानेपामै रहेका जब धनराज आफैँ अघि सरेर। उम्मेदवार आफैं अघि सरेर दबाब दिएपछि निर्वाचन समितिका सदस्यहरु गल्न बाध्य भए।  

धनराज आफैंले सय मतको उक्त बन्डल फेरि गणना हुनै पर्ने अड्डी कसे। धनराजले दबाब दिएर झ्वाँक्किँदै भनेपछि सयको बन्डल फेरि गनियो अनि मत पनि ४३ नै सदर भयो।

उपसभापतिको मतगणना हुँदा निर्वाचन समितिका अधिकारीहरुले पटक पटक धनराजको मत कम गर्न खोजेको एकजना बुथ प्रतिनिधिले बताए।

उक्त कुरा सुजाता कोइरालाका बुथ प्रतिनिधिले पनि पुष्टि गरे। उनका अनुसार धनराजले अग्रता लिँदा पटक पटक विवाद भएको थियो। 

'निर्वाचन समिति गच्छदारको पक्षमा नरम भइदिँदा धनराज आफैं सानेपामा खटिएपछि अन्य मतमा गडबडी हुन पाएन,' एक बुथ प्रतिनिधिले भने, 'धनराज यहाँ नभएको भए उनको भोट घट्न सक्थ्यो र नतिजा गच्छदारको पक्षमा जाने सम्भावना थियो।'

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उठेका नेता सुवास पोखरेलले पनि निर्वाचन समितिले कुनै न कुनै रुपमा धनराजको भोट घटाउने कोसिस गरेको बताए।

'धनराजको भोट पटक पटक घटाउने प्रयास भएकै हो', उनले भने, 'गच्छदारसँग कडा प्रतिस्पर्धा हुँदा एक दुई भोट घटाउन गरिएको कोसिस प्रतिवादका कारण सफल भएन।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .